लोकार्पण भयो भाषाविद केएन शर्माको नेपाली भाषाका लोक अभिव्यक्तिहरू

0
206
२०७५ | शेरबहादुर कार्की
गान्तोक। साहित्यकार तथा भाषाविद केएन शर्माद्वारा संकलित सङ्ग्र अभिव्यक्ति कोश (नेपाली भाषाका लोक अभिव्यक्तिहरू)-को दोस्रो संस्करण आज लोकार्पण भयो।

नेपाली साहित्य परिषदका अध्यक्ष रूद्र पौड्यालले अध्यक्षता गरेको यस लोकार्पण समारोहमा सिक्किम विश्‍वविद्यालयका प्राध्यापक डा. प्रताप चन्द्र प्रधान (नेपाली विभाग) मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा सिक्किम विश्‍वविद्यालयका प्राध्यापक नरबहादुर भण्डारी,  काशी हिन्दु विश्‍वविद्यालयका प्राध्यापकलगायत स्थानीय भाषा-साहित्य प्रेमीहरूको उपस्थिति रहेको थियो। लोकार्पित कृतिमाथि निरूपणात्मक टिप्पणी राख्दै प्राध्यापक टीबी छेत्रीले कोश भाषाको संविधान रहेको बताए। उनले केएन शर्माद्वारा सङ्ग्रहीत यस कोशको विशेषता र प्रकृतिमाथि स्पष्ट पारे। वृहत नेपाली शब्द कोश र शब्द सागार जस्ता कोशहरूमा नभेटिएका शब्दहरू पनि यसमा समावेश गरिएको अवगत गराए।


यसरी नै कार्यक्रमलाई सम्बोधन गर्दै कोश निर्माता केएन शर्माले आफूले जाने जति कुराहरूलाई प्रस्तुत गरेको बताए। नेपाली जनजीवन र समाजबाट बाहिरिंदै गएका लोक शब्द तथा अभिव्यक्तिहरूलाई संग्रहित गरिएको उनले बताए। कार्यक्रमको अवसरमा नाम्ची महाविद्यालयका प्राचार्य डा. परशुराम पौड्याल र सिक्किम विश्‍वविद्यालयका प्राध्यापक बलराम पाण्डेले लोकार्पित कोशमाथि चर्चा परिचर्चा गरे। दुवै वार्ताकारले कोशको विविधताबारे चर्चा गरे। यसरी नै कार्यक्रममा मुख्य अतिथि डा. प्रतापचन्द्र प्रधानले यो एउटा समाजको निम्ति नवीन एवं असल कार्य भएको बताए। नेपाली जनजीवनको व्यवहारबाट बाहिरिँँदै गइरहेका लोकशब्द तथा अभिव्यक्तिहरूलाई यसरी संग्रहित गर्न सर्जकले गरेको प्रयासलाई समाजले मूल्याङ्कन गर्नुपर्ने बताए। कार्यक्रममा अध्यक्षीय सम्बोधन गर्दै रूद्र पौड्यालले भने, यो अभिव्यक्ति कोश सिक्किमेली नेपाली समाजको मात्र नभएर नेपाली भाषीहरूको नै निधि बनेको छ। कोश निर्माणजस्तो जटिल कार्यलाई पनि शर्माले एकल प्रयासमार्फत यसरी समाजलाई लाभ पुऱ्याउने अभिव्यक्ति कोशको निर्माण गर्नु साहित्यप्रेमी तथा नेपाली समाजको लागि लाभप्रद रहेको उल्लेख गरे। प्राध्यापक पारसमणि दङ्गालले सञ्चालन गरेको कार्यक्रममा मणिका शर्माले स्वागत सम्बोधन गरेकी थिइन् भने नेसापाका कोषाध्यक्ष डा. राजु गिरीले धन्यवाद ज्ञापन गरेका थिए। (रिपोर्ट- शेरबहादुर कार्की, कपी एडिटर)

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here