सम्पूर्ण महानुभावहरूमा म दिब्या घिमिरेको नमस्कार।
विषय: सनातन धर्म
सनातन धर्म कुनै एउटा धर्मग्रन्थ , देवता वा परम्परामा मात्र सीमित विषय होइन।
यो त जीवनलाई बुझ्ने, जिउने र सन्तुलनमा राख्ने शाश्वत दर्शन हो।
“सनातन” भन्नाले सधैं रहने, समयसँग ननासिने सत्य भन्ने बुझिन्छ।
त्यसैले सनातन धर्म कुनै युगमा जन्मिएको होइन, हरेक युगमा जीवित रहने जीवनशैली हो।
सनातन धर्मको मूल आत्मा सहिष्णुता हो।
यसले सबैलाई आफ्नै बाटोबाट सत्यतर्फ हिड्न प्रेरित गर्छ। “एकं सद् विप्रा बहुधा वदन्ति” भन्ने विचारले भन्छ सत्य एउटै हो तर त्यससम्म पुग्ने मार्ग अनेक हुन सक्छन्। यही कारण सनातन धर्म कहिल्यै जबर्जस्ती गर्दैन, बरु बुझ्न र अनुभूति गर्न सिकाउँछ।
गीता, वेद र उपनिषद्हरूले मानिसलाई कर्म, विवेक र कर्तव्यको शिक्षा दिन्छन्।
फलको लोभ नगरी कर्म गर्नु, अहंकार त्याग्नु र समाजप्रति जिम्मेवार बन्नु नै यसको धार्मिक तथा दार्शनिक सार हो। आजको स्वार्थमुखी र दौडधुपपुर्ण जीवनमा यी शिक्षाहरू अझ बढी आवश्यक छन्।
सनातन धर्मको संरक्षण भनेको केवल मन्दिर, मूर्ति वा ग्रन्थ जोगाउनु होइन। सत्य बोल्नु, प्रकृतिलाई सम्मान गर्नु, माता पिता र गुरुको आदर गर्नु र सबै प्राणीप्रति करुणा राख्नु नै यसको वास्तविक संरक्षण हो।
नयाँ पुस्ताले सनातन धर्म बुझ्न आवश्यक छ, किनकि यसले उनीहरूलाई संस्कार, आत्मपहिचान र नैतिक बल दिन्छ। संस्कार बिना शिक्षा अधुरो हुन्छ।
सनातन धर्म बुझ्नु भनेको अन्धविश्वासमा फस्नु होइन, आफ्नो जरा चिनेपछि विश्वसँग सन्तुलनमा उभिनु हो।
धन्यवाद।












