अर्जुन प्रधान/पेन्सिल्भेनिया, अमेरिका
अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (INLA) र साहित्य कला संगम (SKS) को संयुक्त आयोजनामा दोस्रो वार्षिक सम्मेलन तथा सांस्कृतिक कार्यक्रम अमेरिकाको पेन्सिल्भेनिया राज्यस्थित मिलर्सभिल युनिभर्सिटीको स्टुडेन्ट मेमोरियल सेन्टरमा सम्पन्न भएको छ।
मार्च २९ आइतबार बिहान ११:३० देखि दिउँसो ३:३० बजेसम्म सञ्चालन भएको कार्यक्रममा साहित्य, संगीत र संस्कृतिका विविध प्रस्तुति सहित स्रष्टा सम्मान कार्यक्रम INLA का संस्थापक अध्यक्ष डा. हरि उप्रेतीको सभापतित्वमा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि NASeA की अध्यक्ष विद्या गुरुङ रहनु भएको थियो। कार्यक्रममा संरक्षक डा. ज्ञानेन्द्र गदाल, वरिष्ठ अतिथिहरूका रूपमा प्रेमराजा महत, डा. शिव गौतम, राजा घले, नारायण पुरी, सरला श्रेष्ठ, डा. ह्यारी भण्डारी, गंगाराम लामिटारे र डा. प्रदीप बस्तोला लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाली संगीत तथा साहित्य क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका स्रष्टाहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो ।
कवि तथा गीतकार दिनेश अधिकारीलाई INLA ज्ञानेन्द्र गदाल गीत सम्मान नगद $१००१ सहित सम्मान पत्र प्रदान गरिएको छ। १९५९ मा काठमाडौंमा जन्मिएका अधिकारी पाँच दशकभन्दा बढी समयदेखि साहित्य तथा गीत लेखनमा सक्रिय छन्। उनले ५०० भन्दा बढी गीत रचना गरेका छन् भने ‘अतिरिक्त अभिलेख’ कृतिका लागि मदन पुरस्कार प्राप्त गरेका छन्।

सम्मान ग्रहणपछि अधिकारीले “अन्तर्राष्ट्रिय नेपाली गीतकार संघको पहललाई सराहना गर्दै गीतमार्फत नेपाली भाषा र संस्कृतिको संरक्षण र विस्तारमा विश्वभर रहेका स्रष्टाहरूलाई एकताबद्ध गर्ने अभियान महत्वपूर्ण रहेको बताए। उनले यस्तो अभियानले डायस्पोरामा रहेका नेपाली सर्जकलाई थप ऊर्जा र प्रेरणा दिने विश्वास व्यक्त गरे।”
वरिष्ठ गायिका यशोदा पराजुलीलाई INLA गायन सम्मान नगद $५०१ सहित सम्मान पत्र प्रदान गरिएको छ। मोरङमा जन्मिएकी पराजुली चार दशकभन्दा बढी समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय रहँदै करिब २५० भन्दा बढी गीत रेकर्ड गरिसकेकी छिन्। ‘गाउँको माया’, ‘सहयात्रा’, ‘फुर्सदमा’ र ‘सम्बन्ध’ उनका चर्चित एल्बम हुन्।

साहित्यकार तथा गीतकार पुरुषोत्तम लम्साल (पुरु लम्साल) लाई नगद $५०१ सहित INLA गीत सम्मान प्रदान गरिएको छ। नुवाकोटमा जन्मिएका लम्साल नाटक, गजल तथा गीत लेखनमा सक्रिय स्रष्टा हुन्। ‘आधा जलेको खप्पर’, ‘मनझाँक्री’, ‘पानीघट्ट’ लगायतका कृतिहरू प्रकाशित छन्।
त्यस्तै, साबु गदाल कार्कीलाई नगद $५०१ सहित INLA गीत सम्मान (डायस्पोरा) प्रदान गरिएको छ। उनी डायस्पोरामा रहेर नेपाली गीत तथा साहित्यमा योगदान दिँदै आएकी स्रष्टा हुन्।
डम्बर खापुङ सुब्बालाई नगद $५०१ सहित INLA गायन सम्मान (डायस्पोरा) प्रदान गरिएको छ। भूटानमा जन्मिएका र हाल अमेरिकामा बसोबास गर्दै आएका सुब्बा सन् १९९६ देखि संगीत क्षेत्रमा सक्रिय रहँदै १०० भन्दा बढी गीत रेकर्ड गरिसकेका छन्।साथमा अगम गुरुङलाई नगद $५०१ सहित INLA लोक संगीत सम्मान (डायस्पोरा) प्रदान गरिएको छ। चिराङ, भूटानमा जन्मिएका गुरुङ सन् १९९२ देखि संगीत क्षेत्रमा सक्रिय रहँदै ५० भन्दा बढी गीतमा योगदान दिइसकेका छन्।
त्यसैगरी, त्रिप्ती खड्का गुरुङलाई नगद $५०१ सहित INLA संगीत सम्मान प्रदान गरिएको छ। काठमाडौंमा जन्मिएकी गुरुङ विगत १५ वर्षदेखि संगीत क्षेत्रमा सक्रिय रहँदै २५० भन्दा बढी गीतमा स्वर तथा संगीत दिइसकेकी छिन्।
यसैबीच, INLA का अध्यक्ष डा. हरि उप्रेतीले सम्मेलन सफलतापूर्वक सम्पन्न हुनु सबैका लागि गर्वको विषय भएको बताएका छन्। उनले गीत, संगीत, कला र साहित्य केवल अभिव्यक्तिका माध्यम मात्र नभई नेपालीहरूको पहिचान, संस्कार र भावनाको जीवित धरोहर भएको उल्लेख गरे।
उनका अनुसार विश्वका विभिन्न देशमा रहेका नेपाली गीतकार तथा स्रष्टाहरूलाई एउटै साझा मञ्चमा जोड्दै अनुभव, सिर्जना र संस्कृतिको आदानप्रदान गर्ने माध्यमका रूपमा INLA सशक्त सेतुका रूपमा स्थापित हुँदै गएको छ।
अध्यक्ष उप्रेतीले दूरीले होइन, सिर्जनाले नै स्रष्टाहरूलाई जोड्ने विश्वास व्यक्त गर्दै संघले विश्वभर फैलिएका नेपाली सर्जकहरूलाई एकताको सूत्रमा बाँध्दै मौलिक पहिचानलाई उजागर गर्ने अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा साहित्य कला संगमको सांगीतिक प्रस्तुति, सांस्कृतिक नृत्य, बालबालिकाको विशेष प्रस्तुति, सृजना वाचन र डा.हरि उप्रेतिद्दरा लेखित कृति लोकार्पण “ छुटेको बाटो – उपन्यस,घामपानीको पाठशाला- कथा संग्रह तथा कार्यक्रमका अवसरमा INLA का संरक्षक डा. ज्ञानेन्द्र गदालका दुई कृति सार्वजनिक गरिएको छ। ‘कुमुदिनी’ उपन्यास तथा ‘भोलिको आशा उज्यालो प्रकाश’ बालगीत संग्रह लोकार्पण गरिएको हो।

साहित्य कला संगमका संस्थापक कार्यकारी निर्देशक त्रिविक्रम न्यौपानेका अनुसार, INLA र साहित्य कला संगमको सहकार्यमा २८ र २९ गते सम्पन्न कार्यक्रमहरूले नेपाली साहित्य तथा कलाको संरक्षणसँगै अमेरिकामा अंग्रेजी वातावरणमा हुर्किरहेका बालबालिकाहरूमा पुस्तान्तरण गर्ने कार्यलाई अत्यन्त प्रभावकारी बनाएको छ।
यस अवसरमा, साहित्य कला संगम (SKS) का तर्फबाट सहकार्यका लागि INLA प्रति हार्दिक आभार व्यक्त गर्दछौं। साथै, आफ्ना आकर्षक प्रस्तुति मार्फत कार्यक्रमलाई जीवन्त बनाउने बालबालिकाहरू तथा आफ्नो अमूल्य समय दिएर प्रेरणा प्रदान गर्ने सम्पूर्ण अतिथिहरूप्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं।

अन्त्यमा, ल्यानकास्टरका सम्पूर्ण नेपाली भाषी समुदायलाई आफ्नो समय, साथ र सहयोगले यस कार्यक्रमलाई भव्य तथा सफल बनाउनुभएकोमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।
“कार्यक्रममार्फत नेपाली भाषा, साहित्य र संगीतको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने स्रष्टाहरूलाई सम्मान गरिएको महासचिव रन खड्काले जनाएका छन् । “यस्ता कार्यक्रमले विश्वभर रहेका नेपाली स्रष्टाहरूबीच सहकार्य र सञ्जाल विस्तारमा सहयोग पुग्ने विश्वास खड्काले व्यक्त गरेका छन् ।












