कबिता
हृदयको गल्ली नसमाई
गुगलको सडकबाट कहिले पुगिँदैन, मेरो गाउँ |
लाग्ने छैन, जाँतोमा च्यापिएको त्यो रातो रुमाल
युद्धमा छाडिएको हो |
देखिने छैनन् ती अग्ला अग्ला उभिएका पहाडहरू
निश्चय नै भोकका हुन् |
बुझिने छैनन्, ती नदीका लामा सर्पहरू
गाउँबाट बगिरहेको आँसु हो |
बाँकी धेरै कुरा गाउँमा, अर्ग्यानिक फल्छन्
जस्तो, मुस्कान |
जुन कुनै टुथपेष्ट
वा धर्म गुरुले दिएको टिप्सको चमत्कार होइन |
———————********************——————————–
वियोग
हिउँद होस, त्यो |
बुढा पातहरू आफ्नै हत्केलाबाट निमोठिनु
हावाले धुलोको फुस्रो कपाल लुछिरहनु
घामको रंग
दुश्मनले बषौ नमाझेको दातजस्तो पहेंलो देखिनु |
पारी खरबारीमा बाख्रा नचर्नु
आकाशमा बाँसका पातहरू चरा भएर उड्नु
आमाको भाग्य जस्तो चिराचिरा घरवारी देखिनु |
सिन्दुर गुमाएकी चेली जस्तो बस्ती देखिनु |
तिमी हुनु, त्यहाँ | दुर्गम गाउँमा |
र
आगनको डिलबाट
एकोहोरो आकाशमा शंख फुक्दै उडिरहेको
हवाईजहाज हेर्नु
जहाँ यौटा मुर्दाजस्तो तिम्रो मान्छे
जीवन खोज्न अरब हिडेको होस् |
—————————————–*********************————————-
धोका
धोका त मलाई त्यसबेला लाग्छ
जब आफ्नै आँखा कुनै (अ)सुन्दर चिजमा गएर समाधिस्थ हुन्छ |
पहिलो नम्बरमा दौडिरहेको यो ढड्कनलाई
कसैको बल्छी मुस्कानले नीलो झण्डा देखाइदिन्छ |
चट्याङ गतिको तेज यो दिमाग
आफ्नै विचारको थोत्रा कोट झुण्डिने ह्याङगर बनिदिन्छ |
खास धोका त आफ्नै श्वाससंग लाग्छ
यसले एक दिन, माटोमा मलाई दफन गरिदिन्छ |