‘मेरो कविता’ सिजन–१ भव्य रूपमा सम्पन्न, सिक्किमका सोनाम पाल्जोर तामाङ बने विजेता

0
12


अर्जुन प्रधान

नेपाली भाषा र साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको काव्य रियालिटी शो ‘मेरो कविता : द रिदम अफ पोएट्री’ (सिजन–१) को ग्रान्ड फिनाले झापाको दमकमा भव्य रूपमा सम्पन्न भएको छ। प्रतिस्पर्धात्मक यात्राको अन्त्यमा सिक्किमका सोनाम पाल्जोर तामाङले उत्कृष्ट प्रस्तुति दिँदै उपाधि हात पार्न सफल भए।

विजेता तामाङले नगद ३ लाख रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगितामा धरानका प्रवेक हाङसोङ प्रथम उपविजेता बन्दै १ लाख रुपैयाँ प्राप्त गर्दा, टोली प्रसाद राजवंशी दोस्रो उपविजेता (७५ हजार रुपैयाँ) र सेसे थामसुहाङ तेस्रो उपविजेता (५० हजार रुपैयाँ) घोषित भए।

समापन समारोहमा प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले विजेताहरूलाई पुरस्कार प्रदान गर्दै साहित्यको सामाजिक भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे। “कविताले समाज र माटोको आवाज बोल्नुपर्छ। शब्दमा ठूलो शक्ति हुन्छ,” उनले भने‘मेरो कविता : द रिदम अफ पोएट्री’ले काठमाडौं केन्द्रित साहित्यिक परम्परालाई तोड्न सफल भएको धारणा व्यक्त गरे।

उनले भने, “साहित्य सधैं राजधानीमै सीमित हुनुपर्छ भन्ने सोच अब बदलिनुपर्छ। यस्तो कार्यक्रमले देशका विभिन्न ठाउँमा रहेका प्रतिभालाई उजागर गर्ने काम गरेको छ, जुन अत्यन्तै सकारात्मक र आवश्यक कदम हो।”

कार्यक्रममा आयोजक विश्व भूटानी साहित्यिक संगठन (GBLO) का अध्यक्ष पातलो अन्तरे, कोषाध्यक्ष शेखर कोइराला, तथा बेल्डाँगी शिविरका सचिव सञ्चहाङ सुब्बाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। स्वागत मन्तव्य मनिकुमार क्षेत्रीले राखेका थिए भने कार्यक्रममा हेमन्त बुढाथोकी, विश्वदिप तिगेला, धनकुटे कान्छा, आचार्य प्रभा, खगेन्द्रा खुशी, दिलीप घिमीरे, अर्जुन उप्रेती र लोकनाथ खनाल लगायतका स्रष्टा तथा कलाकारहरूको उपस्थिति रहेको थियो। साथै, बेल्डाँगी र पथरी शिविरका प्रतिनिधिहरूको सहभागिताले कार्यक्रमप्रति भुटानी शरणार्थी समुदायको गहिरो सम्बन्ध झल्किएको देखिन्थ्यो। कार्यक्रमले नेपाली काव्य क्षेत्रमा नयाँ प्रतिभा उजागर गर्दै साहित्यप्रेमीहरूमा सकारात्मक ऊर्जा थपेको आयोजकका निर्देशक केवल क्षेत्रीले जनाएका छन् ।

प्रतियोगितालाई स्तरिय र निष्पक्ष बनाउन निर्णायक मण्डलमा हेमन यात्री, सुमन स्मारिका, उत्तम तुम्सा लिम्बु र अज्ञात दधि रहेका थिए भने मेन्टरका रूपमा चन्द्र गुरुङ, सुन्दर कुरुप, गगन योक्पाङदेन र सुमन लिङदेनले प्रतियोगीहरूलाई मार्गदर्शन गरेका थिए। कार्यक्रमको सञ्चालन सञ्चारकर्मी  सुमन कुरुम्बाङले गरेका थिए।

निर्देशक केवल क्षेत्रीको निर्देशनमा सम्पन्न उक्त कार्यक्रम ‘विश्व भूटानी साहित्यिक संगठन (GBLO) र माई प्ल्याटफर्म’द्वारा आयोजन गरिएको हो। सह–आयोजकका रूपमा रिदम एन्ड रियलिटी इभेन्ट प्रा.लि. र बेल्डाँगी नाट्य परिवार रहेका थिए। कार्यक्रमलाई एनआरए एक्सप्रेस एलएलसीले संस्थागत सहयोग गरेको थियो भने विभिन्न व्यक्तिहरूले व्यक्तिगत रूपमा सहयोग पुर्‍याएका थिए।

मेरो कविता :  रिदम अफ पोएट्री ले नयाँ पुस्ताका कविहरूलाई आफ्नो आवाज प्रस्तुत गर्ने बलियो मञ्च दिएको छ। विशेषगरी पूर्वी नेपाल, सिक्किम र प्रवासमा रहेका नेपालीभाषी स्रष्टाहरूलाई जोड्ने माध्यम बनेको यो कार्यक्रमले साहित्यिक क्षेत्रमा नयाँ ऊर्जा थपेको साहित्यकार दिलिप घिमिरेको धारण छ ।

यस सिजनको समापनसँगै दर्शकहरू अब आगामी संस्करणको प्रतीक्षामा रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here