गजल

0
2190

१.

                     निहाङ किराती

क्रान्तिबिच बाँच्नुपर्दा आफूभित्र जल्छ नेपाल
कहीँ बन्द कहीँ जाम यसरी नै चल्छ नेपाल

सुस्ताएको, अस्ताएको कहिले पनि छैन यहाँ
तरपनि त्यसै(त्यसै आफैभित्र गल्छ नेपाल

अग्रगमन बेग रोकी आपसमा कुर्सी तान्दै
सत्तामोह लिप्सिएर कोहि नेता छ्ल्छ नेपाल

कहीँ शिक्षा कतै सञ्चार विकासको बाटोसंगै
असल नेता सत्ता पाए दियो झैं बल्छ नेपाल

जायज माग राख्दाखेरी मत्थर पार्न खोज्छ भने
दश वर्षे युद्ध जस्तै फेरि पनि ढल्छ नेपाल ।

२.

हाँसो, खुशी लुट्ने प्रथा कहाँबाट आयो भन?
जुनी भाग्य फुट्ने प्रथा कहाँबाट आयो भन?

गरीबलाई हेला गर्ने धनाढ्यको कस्तो चाला
धनी मात्र जुट्ने प्रथा कहाँबाट आयो भन?

अशिक्षित समाजको बुद्धिजीवी मान्छेले नै
बोक्सी भन्दै कुट्ने प्रथा कहाँबाट आयो भन?

अधिकार र समानता माग्ने सोझा जनतालाई
छानी(छानी भुट्ने प्रथा कहाँबाट आयो भन?

सडक बालक बेवारिसे भविष्यको कर्णधार
शिक्षाबाट छुट्ने प्रथा कहाँबाट आयो भन?

दमक, झापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here