११ कात्तिक, भूपाल लुइटेल ।
नाजुक आर्थिक स्थिती । आमाको समेत कर्म दिने वुवाको कमजोर गति । अनि पटक/पटक जीवनमा खाएको हण्डर । यी सबैखाले संयोगबाट खारिएको अनुहार हो टंकप्रसाद न्यौपाने । जान्ने बुझ्नेलाई लागेको थिएन टंकप्रसाद न्यौपानेको कद सगरमाथाझै अग्लो हुन्छ भन्ने । अहिलेजस्तै त्यो बेला नि बजारेले गाउँलेलाई गन्दैनथे । त्यसमाथी टंकप्रसाद न्यौपाने त झन धनकुटा चुङवाङको पर्नुभयो । न्यौपाने भन्नुहुन्छ ‘अहिले त नचिनेझै गर्छन बजारकाहरु त्यो बेला त कुरै छाडौ।’
विक्रम संवत २००५ साल माघ ६ गते धनकुटाको विकट क्षेत्र चुङवाङमा जन्मनुभएका न्यौपानेले आमा हर्कमाँयालाई चिन्नै नपाई निधन भयो । त्यसपछि उहाँलाई बचाउनकै लागि बुवाले संघर्ष थाल्नुभयो । बुवाले आमाको अभाव हुन नदिन अनेकौ दुःख गर्नुभयो । त्यसैले त उहाँ भन्नुहुन्छ ‘म बाबुको खाट्टी सन्तान हुँ । बुवाको संघर्षको फूल भन्छु आफूलाई ।’ भएको जायजेथा ३ सय रुपैयाँमा बडाबालाई बेचेर विक्रम संवत २०१३ सालमा बुवा हरिप्रसादले आफुलाई पिठ्यूमा बोकेर धरानतिर आएको उहाँलाई सम्झना छ । जतिवेला न्यौपाने ८ बर्षको हुनुहुन्थ्यो । २ हलको मेलोमा सकिने बारिमा कमजोर शारिरीक अवस्थाको बुवा र त्यो बेलाको नाबालक आफ्नो गुजारा चल्ने अवस्था थिएन । त्यसैले उहाँहरु धरानतिर झर्नुभयो । धरानमा बुवाको बास मन्दिरतिर हुन्थ्यो भने उहाँकोचाँही पिण्डेश्वर महाविद्यालयतिर । छोरालाई धरानमा ल्याएर पढाए पनि बुवाको पहाडमा बस्ने धित मरेको थिएन । मधेस झरेपछि जोरजाम गरेर कमाएको १५ सय रुपैयाँमा बारी बेचको ३ सय समेत थपेर फेरी पहाडमै जग्गा किन्नुभयो वुवाले । त्यतिबेला बुद्धि नपुग्दा अहिले विपन्न हुनुपरेको उहाँको ठम्याई छ । आफू जान्ने बुझ्ने भइकनै धरानमा जग्गा किनियो तर पास गरिएन । जग्गा पास नगरिएकै कारण त्यो आफ्नो हुन पाएन । मन कुँडीएकाले पैसा समेत उल्टै दान चढाएझै गर्नुभयो उहाँले आफ्ना भनाउँदा ससुरालिलाई । पछी उनैले विजयपुरको जग्गा दिएपछि उहाँले घर बनाउँनुभयो ।
जग्गामा आफन्तबाटै खाएको चोटभन्दा बढ्ताका चोट छन उहाँका जीवनमा । विक्रम संवत २०२८ साल असार १५ गते धरानकै मिना पोखरेलसँग उहाँको विवाह भयो । कहलिएका पण्डित छविलाल पोखरेलकी नातिनीसँग विवाह भएको तीन महिना नपुग्दै न्यौपाने जेल पर्नुभयो । पञ्चायतविरुद्धको आन्दोलनमा लागेका न्यौपाने २ बर्ष जेल जीवनमा बस्दा उहाँको गृहस्थी जीवन/आयआर्जनका बाटो चौपट्ट भएनन् मात्र ससुरालीले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आयो । न्यौपाने जेल जीवन बस्दाका बखत श्रीमती मिनाको बिचल्ली भयो । विवाह लगत्तै जेल पर्दा बल्तल्ल सुरु भएको जागिर जाने डरले उहाँलाई भित्रभित्रै सताएको थियो । तर जेलमा रहेको २ बर्षको अवधिलाई विद्यालयले बेतलवी विदा मिलाइदियो । तर जेलबाट छुटेलगत्तै पञ्चहरुले उहाँलाई जागिरमा पुनरवहाली हुन दिएनन् । अझ आफन्तनै उहाँका विरुद्ध खुलेर लागे । यसैकारण उहाँको आयआर्जनको बाटो पनि बन्द भयो । यसपछि उहाँका दिनहरु केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानतिर वित्न थाल्यो । उहाँले सहायक प्रशासकको जिम्मेवारी पाउनुभयो । तर यहाँको जागिर पनि उहाँका लागि फावेन । डिनकाविरुद्ध पत्रिकामा छापिएको समाचारका कारण उहाँले जागिर छाड्नुपर्यो । हात्तीसारको जागिर गुम्दा उहालाई थप समस्या पर्यो अब त बुवाको जिम्मेवारी पनि निभाउनुपर्ने थियो उहाँले । ३१ सालमा त छोरो जन्मिसकेको थियो । २ छोरा र एक छोरी छन् न्यौपानेका । त्यसपछि उहाँ काठमाण्डौतिर लाग्नुभयो । आफ्नो पेट भर्नका लागि समेत अर्काको मुख ताक्ने परिस्थिति पटक/पटक बन्यो उहाँको जीवनमा । तर पटक/पटक जीवनमा लागेको ठेसले उहाँलाई हरेक पटक उठाउँदै एक तह माथि पुर्याइदियो । जीवनमा खाएको हण्डर उहाँका लागि सफलताको कडी बन्दै गए ।
बहुआयामिक व्यक्तित्व न्यौपाने सानैदेखि अतिरिक्त क्रियाकलापमा चासो राख्नुहुन्थ्यो । राजनीति, साहित्य, खेलकुद, गित संगित र विभिन्न साँस्कृतिक कार्यक्रम त्यो बेला न्यौपानेले सायदै छुटाउनुहुन्थ्यो । कहिले गाउँने र नाच्ने तथा नाच्न सिकाउनेमा व्यस्त हुने न्यौपाने कहिले फुटबल टिमको कप्तान बनेर हिड्नुभयो त कहिले पञ्चायतविरुद्ध कालो झण्डा देखाउँदै पनि हिड्नुभयो ।
जीवनका उर्जाशिल समय चारातिर मोडिएपनि न्यौपानेको साहित्यिक जीवन भने अनन्तकालसम्म अमर रहने निश्चित भएको छ । आठपहरिया राईको भाषिक अध्ययनमा विद्यावारिधी गर्नुभएका न्यौपानेले नेपाली साहित्यको चार खाले प्रयोगलाई पुस्तकमा उतार्नुभएको छ । सैद्धान्तिक समालोचना, भाषा विज्ञान, ब्याकरण र पाठ्यसामग्रीलाई न्यौपानेले पुस्तकको रुप दिनुभएको छ । यी चार खाले प्रयोग भएका एक दर्जनभन्दा बढी कृतिहरु उहाँले प्रकाशित गर्नुभएको छ ।
कुनै समय कृष्णप्रसाद भट्टराई बीपी कोइराला लगायतका कहलिएका कांग्रेसी नेतासँगको राम्रो पँहुचमा पुग्नुभएका न्यौपानेले अवसर भन्दा पनि आफ्नो इच्छामै जोड दिदा ४८ बर्षदेखि निरन्तर अध्यापककै पेशामा रहनभुयो । अध्यापकको जीवनले आम्दानी नदिए पनि आदर्श स्थापित गरेको उहाँको बुझाई छ । त्यसैले त न्यौपाने भन्नुहुन्छ ‘ धनमा म बिपन्न नै हुँ तर गर्ब छ म बिद्यामा सम्पन्न छु ।’ सकारात्मक सोच र आशाका लागि संघर्ष गरेर जीवन गुज्रिन लागेको बताउने न्यौपाने जीवनलाई सकारात्मक सोच र आशावादिता भन्नुहुन्छ ।