@अर्जुन प्रधान/अमेरिका — नेपाली हिन्दु महिलाहरूको महान पर्व तीज नजिकिँदै गर्दा मौलिक संस्कृतिमा आधारित गीत-संगीत सार्वजनिक हुने क्रम बढेको छ। तर, केही गीतहरूमा मौलिकता र मर्यादाको अभाव देखिन थालेपछि अन्तर्राष्ट्रिय नेपाली गीतकार संघले अश्लीलता र यौनिक उत्तेजनालाई प्रोत्साहन गर्ने गीतहरूलाई कडा रूपमा विरोध गरेको छ।
हालै सार्वजनिक भएको “सल्ला दमारमा” गीतले पर्वको अपमान गरेको भन्दै संघले उक्त गीतको बहिष्कारको घोषणा गरेको छ। संघका अध्यक्ष हरि उप्रेती, महासचिव रन खड्का र सचिव सुनिता बस्नेतले संयुक्त रूपमा हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा यस्ता उच्छृङ्खल र भडकाउने गीतहरूले समाजमा विकृति फैलाउने, परम्परा तोड्ने, र अपराधलाई प्रोत्साहन गर्ने चेतावनी दिएका छन्।
गीतकार संघले भविष्यमा पनि कुनै पर्व वा चाडको नाममा प्रकाशन हुने गीत-संगीतले मौलिक संस्कृतिविरुद्ध जाने संकेत देखिएमा सशक्त बहिष्कार गर्ने जनाएको छ। साथै, संस्कृति मन्त्रालय, संगीतकार संघ, लोकदोहोरी प्रतिष्ठान लगायत सम्बन्धित निकायहरूलाई पनि यस्ता गीतलाई निरुत्साहित गर्न आग्रह गरिएको छ।