भाद्र ३१, काठमाण्डौं । नुवाकोटस्थित धादिङको सिमाना पर्ने सिसडोल क्षेत्रमा अग्लो पहाड झै एउटा दृश्य देखिन्छ । अग्लो अनुभूतिकासाथ दृश्यावलोकन गर्न तम्सनेहरु पनि हत्तपत्त यो पहाड चढ्ने शाहस गरिहाल्दैनन् । आँट गरेर कोही चढिहाल्यो भने पनि सारसौदो फर्किने अवस्था छैन । कि त रुगाले ग्रसित हुन्छ कि त टाउको दुःखेर हायल कायलको अवस्था सृजना हुन्छ । यो त भयो शिखर चढ्नेहरुले तत्कालै खेप्ने समस्या । तर १३ बर्षदेखि यस्तो समस्या खेपिरहेका सिसडोलको यो शिखर आसपासका झण्डै ९ सय घरधुरीका बासिन्दाले विगतदेखि यस्तो मात्र होइन घाउखटिरादेखि स्वासप्रश्वाससम्मका समस्या खेप्दै आइरहेका छन् ।
आखिर किन गन्हाउँछ यो पहाड ?
पहाडको झल्को दिने यो शिखर १३ बर्षदेखि काठमाण्डौं महानगरपालिकाले दैनिक फ्याल्दै आएको १५ सय टनसम्मको फोहोरका कारण बनिएको एउटा कृत्रिम शिखर हो जसका कारण यो गन्हाइरहन्छ । जसलाई महानगरपालिकाले बाचा गरेअनुसार न औषधि छर्ने आवश्यकता ठान्यो न त गन्ध नआउने गरी पुर्न नै ।
‘फोहोरको बदलामा यहाँका जनता स्वास्थ्य साट्न बाध्य भएका छन्,’ स्थानीय ४२ बर्षीय राजन घिमिरे भन्छन्, ‘अहिले मलाई घाउखटिरा निस्कन थाल्यो छोराहरु बिरामी भएर अस्पताल भर्ना भएका छन् विग्रिएको बाटो समेत बनाइदिदैन महानगरपालिका न त एम्बुलेन्स कै व्यवस्था गर्छ।’ फोहोरले स्वास्थ्य समस्या भयो भन्ने घिमिरेमात्र एक्ला होइनन् । प्रभावित क्षेत्रमै पर्ने नुवाकोटको छिमेकी जिल्ला धादिङ धुनिबेसी नगरपालिका १ का ५६ बर्षीय बद्री ओझा राज्यले स्वास्थ्य विमा गर्नुपर्ने बताउँछन् । फोहोरबाट निस्किएको पोखरी देखाउँदै ओझाले भने ‘यो लिच्चडको पानी सिधै खोलामा मिसाइएको छ एकातिर दुर्गन्धले बसिसक्नु छैन अर्कोतिर यो पानि गाईबस्तुले खाँदा के होला हालत, भो हामिलाई चाहिएन यो फोहोर, बन्द गरोस् महानगरपालिकाले ।’
फोहोरको समस्या अति नै भएपछि ओखरपौवाबासीले फोहोर लिएर गएका गाडी ९ भाद्रदेखि २३ गतेसम्म रोके जसका कारण काठमाण्डौ पनि गन्हायो । ‘हामी सुगुँर त हैनौं नि उनिहरु पनि मान्छे हुन् भने यतिन्जेल हामिले खेपेको पीडा खेप्दा कस्तो हुँदो रैछ हेरौं, सहमति नभइन्जेल फोहोर फाल्न दिदैनौ,’ सिसडोलकै बिनोद ओझाले भने ‘राज्यले कमजोर ठाउँका जनतालाई पशुको व्यवहार गर्न मिल्छ ?’ उनि प्रश्न गर्छन ।
बल्झिरहने समस्या
तत्कालिन बेला ३ बर्षका लागि फोहोर फ्याल्ने सहमति गरेपनि महानगरपालिकाले अनेकौ प्रलोभनमा १३ बर्षसम्म फोहोर फ्यालेर जनतालाई हेपेको बताउँछन सिसडोलकै फोहोर प्रभावित लव घिमिरे । फोहोर फ्यालेसँगै औषधि छर्कने, फोहोरलाई माटोले पुर्ने लगायतका काम गर्नपर्नेमा त्यो समेत नगरेर मानवीय स्वास्थ्यमा चरम लापरवाही गरेको उनि बताउँछन । अनि यसरी महानगरपालिका बेला बेला सहमति भंग गर्छ अनि सुरु हुन्छ फोहोर प्रभावित र महानगरपालिकाबीच बार्गेनिङ ।
महानगरपालिकाले फोहोर प्रभावितका लागि भनेर त्यहाँसम्म पुग्न पक्की सडक बनाउनका अलवा प्रभावित क्षेत्र वरपरका व्यक्तिलाई प्रति स्क्वायर फिट ५० रुपैयाँका दरले रकम पनि दिने गरेको छ । यसरी प्रभावित क्षेत्रका व्यक्तिको जग्गा र घरको मुआव्जाबापत भनेर महानगरपालिकाले बर्षेनी करोडौं रुपैयाँ तिर्दै पनि आइरहेको छ । तर मुख्य सहमति तत्कालिन बेला १८ महिना अनि फेरी ३ बर्षभन्दा भन्दै अहिले फोहोर फालिएकै १३ बर्ष पुग्दा पनि समस्या बल्झिरहन्छ । फोहोरको विषयलाई केही केही व्यक्तीले ठेक्कापट्टाको रुपमा लिने र कमिसनमा बिक्ने गरेका कारण पनि सिसडोलका बासिन्दाले नारकीय जीवन विताउन भएको स्थानिय रामकुमार ओझा बताउँछन् ।
समाधानको कसरत
धुलोबाट बच्न मात्र होइन फोहोरको दुर्गन्धबाट समेत काठमाण्डौबासीलाई जोगिन हम्मे हम्मे परेपछि फोहोरको समस्या समाधानका लागि काठमाण्डौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको सक्रियता यसरी बढ्यो उनि दिनरात नभनि खटिएकी छन् ।
फोहोरको समस्या समाधानार्थ उनि २३ गते राति नै नुवाकोटको सिसडोल क्षेत्रमा पुगिन् । त्यसको भोलिपल्ट फोहोर फाल्नका लागि अल्पकालिन सहमति पनि गरेकी छन् । जसअनुसार तत्काललाई दुर्गन्ध नआउने गरी फोहोर व्यवस्थापन गरिने भएको छ । दिर्घकालका लागि भने ककनी गाउँपालिकाका २ नम्बर वडाका अध्यक्ष केदार पौडेल लगायतले राखेको अडानबमोजिम सिसडोल क्षेत्रकै बञ्चरे डाँडोलाई प्रयोग गर्ने वा अरु नै केही भन्नेमा प्रभावित क्षेत्रका बासिन्दासमेत रहने कार्यदलले टुंगो लगाउने सहमति भएपछि काठमाण्डौंको फोहोर उठेको छ तर पनि दैनिक नउठ्ने फोहोरका कारण काठमाण्डौंको दुर्गन्ध उस्तै छ ।