नेपालमा जन्मिएका शरणार्थी बालबालिकालाई नागरिकता दिन माग

0
10

@अर्जुन प्रधान
नेपालमा रहेका भूटानी शरणार्थी समुदायका एक प्रतिनिधिले नेपालमै जन्मिएका बालबालिकालाई नागरिकता प्रदान गर्न माग गर्दै सरकारसमक्ष औपचारिक अपिल गरेका छन्।

बेलडाँगी–२ शिविरका विष्णु चौहानले गृह मन्त्रालयलाई सम्बोधन गर्दै सार्वजनिक गरेको निवेदनमा तीन दशकभन्दा बढी समयदेखि शरणार्थी जीवन बिताइरहेका समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न आग्रह गरिएको छ।

निवेदनमा नेपालमै जन्मिएर हुर्किएका बालबालिका अझै नागरिकताविहीन अवस्थामा रहेको उल्लेख गर्दै उनीहरूलाई कानुनी पहिचान दिनुपर्ने माग गरिएको छ। “नेपालको भूमिमा जन्मिएका बालबालिकालाई नागरिकता प्रदान गरी उनीहरूको भविष्य सुरक्षित गर्नुपर्छ,” निवेदनमा भनिएको छ।

त्यसैगरी, तेस्रो देश पुनर्स्थापनापछि बाँकी रहेका करिब ६,५०० शरणार्थीको अवस्थालाई पनि समाधान गर्न सरकारसँग आग्रह गरिएको छ। उनीहरू लामो समयदेखि शिविरमा बस्दै आएको र हालसम्म स्पष्ट कानुनी स्थिति नपाएको उल्लेख गरिएको छ।

उनले आफूलाई “आवाजविहीनहरूको आवाज” का रूपमा प्रस्तुत गर्दै हजारौं शरणार्थी बालबालिकाको वास्तविक अवस्थालाई उजागर गरेका छन्। उनको अपिलमा विशेषगरी नेपालमै जन्मिएर हुर्किएका तर अझैसम्म नागरिकताविहीन रहेका बालबालिकाको पीडालाई जोड दिइएको छ।

“यी बालबालिका यही माटोमा जन्मिए, यही हुर्किए, तर अझै पनि उनीहरूसँग न त कुनै देशको पहिचान छ, न नागरिकताको अधिकार।” उनले यस्तो अवस्थाले नयाँ पुस्तालाई अन्योलपूर्ण भविष्यतर्फ धकेलिरहेको उल्लेख गरेका छन्।

चौहानले मुख्य रूपमा दुई बुँदामा सरकारको ध्यानाकर्षण गराएका छन्। पहिलो, नेपालमै जन्मिएका शरणार्थी बालबालिकालाई नागरिकता प्रदान गर्नुपर्ने, र दोस्रो, लामो समयदेखि शिविरमा बस्दै आएका बाँकी शरणार्थीहरूको कानुनी अवस्थालाई स्पष्ट र स्थायी रूपमा समाधान गर्नुपर्ने।

भूटानी शरणार्थी समस्याको समाधानका लागि विगतमा पुनर्स्थापना र स्वदेश फिर्तीका विषयमा छलफल हुँदै आएको भए पनि पछिल्लो समय नेपालमै स्थायी समाधान खोज्ने आवाज उठ्न थालेको छ।

सरकारले यस विषयमा औपचारिक प्रतिक्रिया भने सार्वजनिक गरेको छैन।

*Pictures created AI by Bishnu to raise voice .

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here