काठमाडौं । पर्यटन व्यवसायीहरुले सनकको भरमा पर्यटन नीति, नियमहरुमा परिवर्तन नगर्न सरकारलाई सुझाव दिएको छ । टुर एण्ड ट्राभल व्यवसायीको छाता संस्था सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) को १८ औँ वार्षिक साधारण सभामा पर्यटन व्यवसायीले पर्यटन क्षेत्रमा पर्ने दिर्घकालिन असरलाई मध्यनजर गर्दै सोचविचार पुर्याएर मात्रै पर्यटन नीति, नियममा परिवर्तन गर्न सरकारलाई सुझाएका हुन् ।
सभामा सोट्टो नेपालका अध्यक्ष मान बहादुर शाहीले नेपालको पर्यटन क्षेत्र अपार सम्भावनाले भरिएको धारणा राखे । हिमाल, पहाड, तराई, विविध संस्कृति, सम्पदा, साहसिक पर्यटन, धार्मिक पर्यटन तथा ग्रामिण पर्यटन जस्ता विषयले नेपाललाई विश्व पर्यटन बजारमा विशेष स्थान दिलाउने भन्दै यसको सदुपयोगमा लाग्नुपर्नै भनाइ राखे । यी सम्भावनालाई व्यवहारमा परिणत गर्न निजी क्षेत्र, सरकार र स्थानीय समुदायबीच घनिष्ट सहकार्य आवश्यक रहेको उनले बताए । नेपालमा जेनजी सरकारबाट हाल स्थायी सरकार निर्माण भएकोमा केही आशा र भरोशा गर्ने अवस्था सृजना भएको उनले बताए । अध्यक्ष शाहीले पर्यटन क्षेत्रमा भएका समस्या समाधानका लागि स्थायी प्रकृतिको नीति लिन सरकारलाई सुझाए ।
सभामा संस्थाका निवर्तमान अध्यक्ष भुवन बहादुर पाण्डेले जेनजी आन्दोलनपछि बनेको सरकारले पर्यटनसँग सम्बन्धित नीति बनाउँदा दिर्घकालसम्म त्यसको असर के पर्दछ भनेर ध्यान दिन सरकारलाई सुझाए । पाण्डेले पर्यटन नीति, नियम बनाउँदा सनकको भरमा लागु गर्ने र सनकको भरमा हटाउने काम नगरियोस भन्दै सरकारको ध्यानाकर्षण समेत गराए । त्यसैगरी पर्यटन प्रवद्र्धनको सहकार्यमा नेपाल पर्यटन बोर्डको ध्यानाकर्षण गराए ।
सोट्टोका पूर्व अध्यक्ष यम बहादुर खड्काले साना व्यवसायीलाई भ्याटको समस्या रहेको भन्दै यसको समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । उनले नयाँ परिस्थिति अनुसार पर्यटनमा नयाँ समस्या निम्तिएको र त्यसको समाधानको उचित कदम चाल्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक सुमन घिमिरेले मध्यपूर्व युद्धको चपेटामा परेको नेपाली पर्यटन उद्योगमा त्यसैबाट अवसर सिर्जना गर्न सकिने धारणा राखे । यसतर्फ सोच्न उनले व्यवसायीलाई आग्रह गरे । अहिले शक्तिशाली सरकार आएको र यसले सबैमा आशा जगाएको उनको भनाइ थियो । उनले सोट्टो नेपालका कार्यक्रमहरुलाई बोर्डको आगामी बजेटमा समावेश गराइने भनाइ राखे ।

कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष दिनेश बस्नेत, महासचिव कुमार पराजुली, कोषाध्यक्ष मदुसुदन नेपाल लगायत उपस्थित वक्ताहरुले पर्यटन उद्योग अर्थतन्त्रको आधार रहेको भन्दै नयाँ रणनीति तय गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । साधारण सभा शनिबार अबेर सम्पन्न भएको हो । सभाले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन र नयाँ तथा ओझेलमा परेका गन्तव्यहरुको प्रचार प्रसार लागि बुँदागत नयाँ रणनीतिहरु पनि सार्वजनिक गरेको छ ।।












