सामाजिक सञ्जालमा गालीगलौज र अश्लील शब्द प्रयोग गरेको आरोपमा ‘Hades’ युट्युब च्यानलका सञ्चालक पक्राउ

0
15

@newsdeskusa

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लगायत विभिन्न राजनीतिक व्यक्तित्व र सार्वजनिक पदमा रहेका व्यक्तिहरूलाई लक्षित गरी गालीगलौज तथा आपत्तिजनक सामग्री प्रसारण गरेको आरोपमा एक जना युट्युबर पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका-७ का रोशन पोखरेल रहेका छन्।

पोखरेलले ‘Hades नामक युट्युब च्यानलमार्फत समाजका प्रतिष्ठित व्यक्तिहरूलाई होच्याउने र गाली गर्ने कार्य गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रामचन्द्र शाहका अनुसार, पोखरेललाई २६ चैतमा उनकै गृहपालिकाबाट नियन्त्रणमा लिइएको हो।


प्रहरीका अनुसार पोखरेलले युट्युब मात्र नभई टिकटक र इन्स्टाग्राममा समेत जथाभावी बोल्ने र छाडा कुराहरू गर्ने गरेका थिए। उनले विशेष गरी प्रधानमन्त्री शाह र अन्य राजनीतिक नेतृत्वलाई लक्षित गरी भिडिओहरू बनाउने गरेको पाइएको छ।

उपलब्ध स्रोतका अनुसार, उनको भिडिओ सामग्रीमा अत्यन्तै अश्लील र आपत्तिजनक शब्दहरूको प्रयोग हुने गरेको देखिन्छ । उनले आफ्ना भिडिओहरूमा “यो प्रणाली नै खत्तम छ” (system is f**) भन्ने जस्ता अभिव्यक्ति दिँदै सार्वजनिक व्यक्तिहरूलाई लक्षित गरी गालीगलौज गर्ने गरेको पाइएको छ । उनले कुनै तथ्यमा आधारित नभई केवल आफ्नो विश्वासको आधारमा गम्भीर आरोपहरू लगाउने र दर्शक तथा सार्वजनिक व्यक्तित्वलाई तुच्छ शब्दले सम्बोधन गर्ने गरेको पुष्टि हुन्छ ।


पक्राउ परेका पोखरेललाई जिल्ला अदालत पाँचथरले १० दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ। उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ। यो दफाले कम्प्युटर वा इन्टरनेटको माध्यमबाट सार्वजनिक नैतिकता वा शिष्टाचार विरुद्धका सामग्री प्रकाशन वा प्रदर्शन गर्न निषेध गरेको छ।

हाल प्रहरीले उनको सामाजिक सञ्जालका अन्य गतिविधि र उनले फैलाएका भ्रामक तथा अपमानजनक सामग्रीबारे थप खोजी कार्य जारी राखेको छ।

विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुर सजाय: कम्प्युटर वा इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा सार्वजनिक नैतिकता वा शिष्टाचार विरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।

SHARE
Previous articleनिर्वासनको आगोमा
Arjun Pradhan is the executive editor/Marketing Director/Event Organizer/ program Producer and senior media manager of Globalpostinfo, a news agency run by and for former Bhutanese currently living in the diaspora. You can reach via arjunus2022@gmail.com Regards

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here