न्यायको ज्योति बाल्ने एक भुटानी अधिकारकर्मी
@अर्जुन प्रधान
पैतिस वर्षभन्दा बढी समय बितिसक्यो तर राम कार्कीका आँखामा, सरकारको दमनकारी निति अझै ताजा छ। १९ अगस्ट १९९० को साँझ, जब उनले भुटानको माटो अन्तिमपटक पाइला टेके, उनको हातमा थिए केही पत्रिका, केही मानव अधिकारसम्बन्धी पर्चाहरू र छातीमा थियो एउटा अटुट विश्वास: न्याय एक दिन आउनेछ। उनी त्यसबेला उमेरले मात्र उन्नाइस थिए, तर उनको संकल्प उमेरभन्दा कैयौं गुणा परिपक्व थियो।
आज उनी नेदरल्यान्ड्सको हेगमा बस्छन्।मानव अधिकारका अन्तर्राष्ट्रिय अदालतहरू र कूटनीतिक केन्द्रहरूको शहरमा। यो संयोग होइन। राम कार्कीको जीवन नै न्यायको खोजीमा निरन्तर यात्राको कथा हो, र हेग त्यस यात्राको एक स्वाभाविक गन्तव्य बनेको छ।
भुटानपुको दक्षिणी क्षेत्र शम्चीमा जन्मेका राम कार्की एक साधारण कृषक नेपालीभाषी परिवारका छोरा थिए। दक्षिण भुटानमा स्तौंदेखि बसोबास गर्दै आएका यी मानिसहरूलाई ‘ल्होत्साम्पा’ भनिन्थ्यो तर भुटानी राज्यले बिस्तारै उनीहरूलाई आफ्नै नागरिकताबाट वञ्चित गर्न थालेको थियो।
१९८० को दशकको अन्त्यतिर भुटानी सरकारको नीति झन् कठोर हुँदै गयो। ‘एक राष्ट्र, एक मानिस, एक भेषभूषा’ भन्ने ‘त्सालुम’ नीतिका नाममा दक्षिण भुटानीहरूको भाषा, संस्कृति र पहिचानमाथि निर्मम प्रहार हुन थाल्यो। विद्यालयमा नेपाली भाषा प्रतिबन्धित भयो। परम्परागत पोशाक लगाउन मनाही गरियो। नागरिकता प्रमाणका कागजातहरू खोसिए।

“उनको हातमा थिए केही पर्चाहरू र छातीमा थियो एउटा विश्वास: न्याय एक दिन आउनेछ।”
उनीभन्दा अघिल्लो पुस्ताले जुन माटोमा सयौं वर्ष हाँसे, रोए, खेतीपाती गरे त्यही माटोमा अचानक उनीहरू ‘बाहिरी’ र ‘अवैध’ भइदिए। युवा राम कार्कीले यो अन्याय देखे। र उनले आवाज उठाउने निर्णय गरे। जुन निर्णयले उनको सम्पूर्ण जीवनको धारा नै बदलिदियो।
१९ अगस्ट १९९०, राम कार्कीका लागि जीवन-मरणको दोसाँध थियो। भुटानी सुरक्षा बलहरूले दक्षिणी गाउँहरूमा ठूलो दमन अभियान चलाइरहेका थिए। मानव अधिकारका पर्चाहरू बाँड्नेदेखि सभा-सम्मेलनमा भाग लिनेसम्म सबै गतिविधि राज्यद्रोहको आरोपमा दर्ज हुन्थे।
भयभित समयमा उनेले पनि देश छाड्न बाध्य भए। साथमा थिएन सम्पत्ति, थिएन भविष्यको कुनै निश्चित नक्सा। थियो केवल जीउ र एउटा अदम्य इच्छाशक्ति। भारतका सडक र जंङल-पहाडी बाटाहरू पार गर्दै उनी February 1991 नेपाल पुगे। हजारौं विस्थापित भुटानीहरूको त्यस काफिलामा, जो आफ्नै देशमा पराया बनाइएका थिए।
त्यो समयसम्म भुटानी शरणार्थीहरूको संख्या तीव्र गतिमा बढ्दै थियो। १९९१ को सुरुतिर झापाको माइधारमा पहिलो भुटानी शरणार्थी शिविर स्थापना भयो। राम कार्की त्यस प्रक्रियाका अग्रपङ्क्तिमा थिए। आफू नै विस्थापित भएकाले अरूको पीडा उनले आन्तरिक रूपमा अनुभव गर्दथे।
शरणार्थी शिविर शब्दमा भन्दा सजिलो लाग्छ, तर वास्तविकतामा त्यो खरको छाना र त्रिपालको छाहारीमा ठसिएर बस्ने, अनिश्चितताको जीवन बाँच्ने एउटा अर्को संसार थियो। नेपाल सरकार र यूएनएचसिआर ले शरणार्थीहरूलाई आधारभूत सुविधा उपलब्ध गराउन थाल्यो, तर राम कार्कीका लागि शिविर जीवनको अन्त्य थिएन। यो एउटा नयाँ लडाइँको शुरुआत थियो।
उनले शिविरभित्रै सामुदायिक संगठन, न्याय र मानव अधिकारको अभियानलाई जीवित राखे। उनको मन पढाइमा पनि थियो।कुनै पनि परिस्थितिमा शिक्षाबाट टाढिन उनले मानेनन्। यही लगनले UNHCR को DAFI (Deutsche Akademische Austausch Dienst / German Academic Exchange Service) छात्रवृत्ति उनीसम्म पुर्यायो।
“शरणार्थी शिविर उनका लागि जीवनको अन्त्य थिएन । यो एउटा नयाँ लडाइँको शुरुआत थियो।”
दार्जिलिङको प्रतिष्ठित सेन्ट जोसेफ कलेजमा प्रवेश पाएपछि उनले राजनीति शास्त्रमा स्नातक (अनर्स) पूरा गरे। पढाइ सकिएपछि सजिलै कुनै शहर र करियरतर्फ लाग्न सक्थे ।तर उनी फर्किए शरणार्थी समुदायकै छेउमा, आफ्ना मानिसहरूको सेवामा।
सन् २००२ तिर राम कार्कीले युरोपतर्फ प्रस्थान गरे। त्यो यात्रा व्यक्तिगत जीवन सुरक्षाको मात्र थिएन । त्यो थियो भुटानी शरणार्थी संकटलाई विश्वको सामुन्ने लैजाने एउटा समाजिक प्रयास। नेदरल्यान्ड्सले उनलाई राजनीतिक शरण दियो।
नेदरल्यान्ड्समा पुगेपछि उनले समय खेर फाल्ने कुनै कारण देखेनन्। युरोपेली संसद, डच संसद, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद। यी सबै मञ्चहरूमा उनले भुटानी शरणार्थी संकटको आवाज उठाए। उनका शब्दहरूमा कागजी तथ्यमात्र थिएनन्।थियो आफ्नै जीवनको अनुभव, जुन कुनै पनि श्रोतालाई भित्रैबाट छुन्थ्यो।
विभिन्न युरोपेली र अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूले उनलाई व्याख्यानका लागि आमन्त्रण गर्न थाले। उनले भुटानको राजनीतिक इतिहास, दक्षिण एसियाको शरणार्थी संकट र अहिंसक लोकतान्त्रिक आन्दोलनका विषयमा गहन रूपमा बोले।
राम कार्कीले आफ्नो बौद्धिक यात्रालाई यहीँ रोकेनन्। उनले नेदरल्यान्ड्सकै विश्वप्रसिद्ध इरास्मस विश्वविद्यालय, रोटरड्यामबाट समाजशास्त्रमा स्नातकोत्तर डिग्री हासिल गरे विशेषज्ञता थियो ‘Engaging Public Issues’ अर्थात् सार्वजनिक सवालहरूलाई कसरी संगठित र प्रभावकारी ढंगमा सम्बोधन गर्ने भन्ने क्षेत्रमा।
यो विशेषज्ञता उनको अभियानसँग ठीक मेल खाने थियो। सैद्धान्तिक ज्ञान र व्यावहारिक अनुभवको यो संगमले उनलाई एउटा असाधारण अभियन्ताका रूपमा परिपक्व बनायो । जसले माटोको भावनाका साथ तर तीखो तर्कले आफ्नो अडान राख्न सक्थे।

आज राम कार्की ‘Global Campaign for the Release of Bhutanese Political Prisoners (GCRPPB)’ का संस्थापक तथा संयोजक हुन्। यो अभियानले भुटानका जेलहरूमा थुनिएका राजनीतिक बन्दीहरूको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्दै आएको छ।
साथसाथै, उनी अस्ट्रेलियामा आधारित निर्वासनकेन्द्रित भुटानी थिंक ट्यांक ‘The Bhutan Watch’ का समन्वयक पनि हुन्। यो संस्थाले भुटानको राजनीतिक अवस्थाको निगरानी गर्छ र निर्वासित भुटानी समुदायको नीतिगत दृष्टिकोण तर्जुमा गर्न सहायता गर्छ।
‘The Bhutan Journal’ लगायत विभिन्न अन्तर्राष्ट्रिय प्रकाशनहरूमा उनका लेखहरू नियमित रूपमा प्रकाशित हुन्छन्। उनी एक लेखक, वक्ता र अभियन्ताका रूपमा आफ्नो उपस्थिति जारी राखेका छन्।
हेगमा परिवारसँग बसोबास गर्दा उनले आतिथ्य व्यवसाय पनि सञ्चालन गरिरहेका छन्।जीवनका व्यावहारिक जिम्मेवारीसँगै सामाजिक न्यायको लडाइँ पनि उनका लागि अनिवार्य रूपमा जारी
राम कार्कीको जीवनकथा एक व्यक्तिको जीवनीभन्दा बढी छ। यो कथा त्यस पुस्ताको प्रतिनिधित्व गर्छ जो आफ्नै जन्मभूमिबाट उखेलिएर पनि टुटेन, हारेन बरु निर्वासनलाई नै प्रतिरोधको माध्यम बनायो।
उनले एक सय हजारभन्दा बढी भुटानी शरणार्थीहरूको पीडालाई जो नेपालको पथरी, बेल्डागी र अन्य शिविरहरूमा दशकौंसम्म बाँचे विश्वको सामुन्ने पुर्याउन अथक प्रयास गरे। तेस्रो देशमा पुनर्वास भएका भुटानी समुदायका लागि पनि उनको आवाज आज पनि सान्दर्भिक छ।उनको मानवअधिकार अभियानको अन्तर्राष्ट्रिय मान्यता अन्तर्गत उनलाई २०२५ मा Druk International Shito Ryu Karate Do Association (DISKA) द्वारा सर्वाेच्च COMMUNITY KARATE पुरस्कार प्रदान गरियो। पुरस्कारले उनलाई “साहस, करुणा र सत्यताको प्रकाशस्तम्भ”को रुपमा वर्णन गर्दै त्रासदीमा परेकाहरूमाझ आशा जगाउने अभिनन्दन गरेको छ। राम कार्कीको कामले भुटानी राजनीतिक कैदीहरू र शरणार्थीहरूको मुद्दालाई विश्वमञ्चमा उठाउँदै भुटानी समुदायमा नयाे आशा र आवाज जागरूकता दिएको छ।
“उनी केवल एक व्यक्ति होइनन् ।उनी हजारौं भुटानी शरणार्थीहरूको सामूहिक स्मृति र संकल्पको प्रतीक हुन्।“
शम्चीको त्यो माटोबाट हेगको ती सुसज्जित कक्षहरूसम्मको यात्रा । यो कुनै आकस्मिक सफलताको कथा होइन। यो हो एउटा मानिसको अदम्य इच्छाशक्ति, अनुशासन र सामाजिक जिम्मेवारीको कथा। एउटा मानिस जसले निर्वासनलाई पराजयको रूपमा होइन, न्यायको नयाँ मञ्चका रूपमा ग्रहण गर्यो।
र त्यही अर्थमा, राम कार्की आज पनि लड्दैछन् शान्त, दृढ र उद्देश्यपूर्ण, त्यो हिडेर आएको बाटो- ससम्मानका साथ फर्किनका लागि ।

युरोपदेखि संयुक्त राष्ट्रसंघसम्म
भुटानी मानव अधिकार आन्दोलनमा राम कार्कीको योगदान
सन् २००२ को अन्त्यतिर जब राम कार्की राजनीतिक शरणार्थीका रूपमा नेदरल्यान्ड्स पुगे, उनका हातमा न सम्पत्ति थियो, न भविष्यको कुनै सुनिश्चित नक्सा। तर उनको मनमा थियो एउटा दृढ संकल्प । भुटानमा भइरहेको मानव अधिकार हनन र शरणार्थी संकटको आवाज विश्वसामु पुर्याउने। त्यस दिनदेखि आजसम्म, उनले युरोपेली संसद, डच संसद, संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद र अन्तर्राष्ट्रिय न्यायालयका ढोका ढकढकाउँदै आएका छन् – एक पनि पाइला पछि नहटी।
तल प्रस्तुत कालक्रम उनको त्यस अथक यात्राको विस्तृत विवरण हो – प्रत्येक घटना, प्रत्येक मञ्च र प्रत्येक आवाजको अभिलेख।
२००२–२००४ आगमन र प्रारम्भिक अभियान
२००२ को अन्त्य – राजनीतिक शरण लिएर नेदरल्यान्ड्स आगमन। भुटानको राजकीय सरकारद्वारा व्यवस्थित मानव अधिकार हनन तथा विकास कोषको दुरुपयोगका कारण देश छोड्न बाध्य भएका कार्की नेदरल्यान्ड्समा शरण पाए।
१० डिसेम्बर २००३ — ‘ग्लोबल ह्युमन राइट्स डिफेन्स (GHRD)’ सँग मिलेर डच संसदीय परराष्ट्र मामिला समितिमा सम्बोधन। भुटानी शरणार्थीहरूको अवस्था, राजनीतिक बन्दीहरू र दक्षिण भुटानमा भइरहेको मानव अधिकार उल्लंघनका विषयमा विस्तृत जानकारी प्रस्तुत गरियो। तत्काल हस्तक्षेपको माग गर्दै एक औपचारिक निवेदन पनि पेश गरियो।
अक्टोबर २००४ — श्री टेकनाथ रिजालसँगै ब्रसेल्समा युरोपेली सङ्घका नेताहरूसमक्ष सम्बोधन। शरणार्थी शिक्षा कोषको पक्षमा वकालत गरियो र व्यापक मानव अधिकार समर्थनको आग्रह गरियो। युरोपेली आयोगको दक्षिण एसिया विभाग र डच परराष्ट्र मन्त्रालयका अधिकारीहरूसँग भेटघाट पनि गरियो।
“भुटानका राजनीतिक बन्दीहरूको पीडा युरोपेली संसद् र विश्वका सामुन्ने राखेर मात्र न्यायको बाटो खुल्छ।”
२००९–२०१० संयुक्त राष्ट्रसंघीय संलग्नता र वकालत
डिसेम्बर २००९ — जेनेभामा संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको ‘युनिभर्सल पिरियोडिक रिभ्यू (UPR)’ को प्रथम चक्रमा सहभागिता। प्रदर्शन र सत्रहरूमा उपस्थिति जनाउनुका साथै UNHCR र UN मानव अधिकार परिषदका अधिकारीहरूसँग प्रत्यक्ष भेटघाट।
डिसेम्बर २००९ — युरोपभरिका भुटानी समुदायहरूको अभियानलाई समन्वय गर्न ‘भुटानी एड्भोकेसी फोरम (युरोप)’ को स्थापना।
२५ जनवरी २०१० — ब्रसेल्समा युरोपेली सङ्घका अधिकारीहरूसमक्ष भुटान मानव अधिकार प्रतिवेदन प्रस्तुत।
१० मार्च २०१० — जेनेभामा UPR प्रथम चक्रको अनुवर्ती सत्रमा उपस्थिति। लोत्साम्पा (ल्होत्साम्पा) समुदाय र शरणार्थी संकटसम्बन्धी सिफारिसहरूमा योगदान।
२०११–२०१२ संसदीय र युरोपेली सङ्घ संलग्नता
७ डिसेम्बर २०११ — डच संसदमा दक्षिण एसियाली मानव अधिकारविषयक कार्यक्रममा मुख्य वक्ताका रूपमा सहभागिता। भुटानका राजनीतिक बन्दीहरूको अवस्थालाई केन्द्रमा राखेर वक्तव्य प्रस्तुत।
८ डिसेम्बर २०११ — ब्रसेल्समा युरोपेली संसद सम्मेलन ‘दक्षिण एसियामा अल्पसङ्ख्यक अधिकारको संरक्षण’ मा वक्ताका रूपमा सहभागिता। करिब २०० गणमान्य व्यक्तित्वहरूसमक्ष भुटानी शरणार्थी संकटको विस्तृत प्रस्तुति।
८ मे २०१२ — ब्रसेल्समा ‘दक्षिण एसियाली लोकतान्त्रिक फोरम (SADF)’ मा प्रस्तुति। ‘पोलिटिक्स अफ भुटान’ वृत्तचित्र प्रदर्शन गरियो र शरणार्थी संकटसम्बन्धी PowerPoint प्रस्तुति दिइयो। युरोपेली संसदका अधिकारीहरूसँग भेटघाट।
“शरणार्थी शिविरबाट युरोपेली संसदसम्मको यात्रा — यो केवल एक व्यक्तिको होइन, हजारौं विस्थापित भुटानीहरूको साझा यात्रा हो।”
२०१५–२०१८ सञ्चारमाध्यम र शैक्षिक संलग्नता
अक्टोबर २०१५ — डच राष्ट्रिय टेलिभिजनमा जिग्मे वाइ. थिन्लेसँगको संयुक्त कार्यक्रममा सहभागिता। भुटानको (Gross National Happiness)’ अवधारणालाई वास्तविकतासँग तुलना गर्दै त्यसको सीमाहरूमाथि प्रश्न उठाइयो।
१९ फेब्रुअरी २०१७ — हेगस्थित ‘मानव अधिकार र शरणार्थी सङ्ग्रहालय’ मा आठ शरणार्थी राजदूतमध्ये एकका रूपमा समावेश। उनको व्यक्तिगत शरणार्थी कथा र सम्बन्धित सामग्रीहरू सङ्ग्रहालयमा संरक्षित गरी आगन्तुकहरूका लागि प्रदर्शनीमा राखियो।
१४ मे २०१८ — लाइडन विश्वविद्यालय — एम्नेस्टी इन्टरनेशनल विद्यार्थी समूह, हेग क्याम्पसमा मुख्य वक्ताका रूपमा सम्बोधन। ‘पोलिटिक्स अफ भुटान’ प्रदर्शन, राजनीतिक बन्दी, शरणार्थी र राज्यविहीन व्यक्तिहरूको अवस्थामाथि प्रस्तुति तथा पूर्ण श्रोतासमक्ष प्रश्नोत्तर सत्र सञ्चालन।
मे २०२५ — रोटरड्यामस्थित ‘फेनिक्स माइग्रेसन सङ्ग्रहालय’ मा ‘बाखु र अन्य कथाहरू’ सुरक्षित। भुटानी विस्थापन र सांस्कृतिक पहिचानसम्बन्धी दस्तावेजीकरण स्थायी रूपमा सङ्ग्रहालयमा संरक्षित।
२०१९ GCRPPB को स्थापना — ऐतिहासिक कदम
जुलाई २०१९ — भुटानका राजनीतिक बन्दीहरूका परिवारहरूबाट रिहाइका लागि अभियान सञ्चालन गर्ने अधिकार (म्यान्डेट) प्राप्त गरेपछि ‘भुटानी राजनीतिक बन्दी रिहाइका लागि विश्वव्यापी अभियान (GCRPPB — Global Campaign for the Release of Bhutanese Political Prisoners)’ को स्थापना। यो संस्था अहिले अन्तर्राष्ट्रिय स्तरमा भुटानी राजनीतिक बन्दीहरूको मुक्तिका लागि निरन्तर सक्रिय छ।
२०२० अनलाइन संयुक्त राष्ट्रसंघीय संलग्नता
५ जुन २०२० — संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त मिशेल बाचेलेटसँग अनलाइन बैठकमा सहभागिता। GCRPPB को प्रतिनिधित्व गर्दै भुटानी राजनीतिक बन्दीहरूसम्बन्धी मुद्दाहरू उठाइयो। उच्चायुक्त बाचेलेटले भुटानको आगामी UPR मा यस विषयलाई उठाउने प्रतिबद्धता जनाइन्।
२०२४–२०२५ र्यालीहरू र UN/EU संलग्नता
१३ मे २०२४ — हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (ICJ) अगाडि प्रतिवाद र्याली। GCRPPB ले आयोजना गरेको दुई घण्टे प्रदर्शनमा राजनीतिक बन्दीहरूको तत्काल रिहाइ र भुटानी शरणार्थीहरूको मर्यादापूर्ण स्वदेश फिर्ताको माग गरियो। राम कार्कीले मुख्य वक्तव्य प्रस्तुत गरे।
२८ अगस्ट २०२४ — जेनेभामा UPR चौथो चक्रको पूर्व-सत्रमा सहभागिता। GCRPPB को प्रतिनिधित्व गर्दै भुटानी राजदूत र dozens of Geneva based UN member states ka कूटनीतिज्ञहरूसमक्ष राजनीतिक बन्दी, शरणार्थी स्वदेश फिर्ता र स्वतन्त्र मानव अधिकार अनुगमनको आवश्यकताबारे सम्बोधन।
२०२४ — जेनेभामा युरोपेली सङ्घ प्रतिनिधि कार्यालयमा अनौपचारिक नागरिक समाज विनिमय कार्यक्रममा दुई मिनेटे वक्तव्य प्रस्तुत। राजनीतिक बन्दी, शरणार्थी अधिकार, स्वतन्त्र मानव अधिकार संस्था, प्रेस स्वतन्त्रता र अन्तर्राष्ट्रिय अनुगमन पहुँचमा जोड दिइयो।
मार्च २०२५ — जेनेभामा ‘OHCHR (मानव अधिकार उच्चायुक्त कार्यालय)’ का वरिष्ठ अधिकारीहरूसँग बैठक। राजनीतिक बन्दीहरू, मानव अधिकार उल्लंघन र भुटानी शरणार्थी संकटको विस्तृत जानकारी प्रदान।
२४ मार्च २०२५ — जेनेभामा संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको ५८औँ अधिवेशनमा मौखिक वक्तव्य। ‘एसियाली मानव अधिकार र लोकतन्त्र फोरम’ को तर्फबाट भुटानको चौथो UPR परिणाम अपनाइने अवसरमा वक्तव्य प्रस्तुत। राजनीतिक बन्दीहरूलाई माफी, मर्यादापूर्ण शरणार्थी स्वदेश फिर्ता, नागरिकता पुनर्स्थापना, नेपाली भाषामा शिक्षाको अधिकार, स्वतन्त्र मानव अधिकार आयोगको स्थापना र पर्यटक भिसा अधिकारका लागि माग गरियो।
“हरेक मञ्चमा, हरेक सत्रमा — उनले भुटानी शरणार्थीहरूको आवाज अन्तर्राष्ट्रिय कानको नजिक पुर्याए।”
— समाप्त —
तपाइ पनि ग्लोवलपोस्ट विशेषमा आफ्नो कथा/जिवनी या समचार पठाउन सक्नुहुन्छ । arjunus2022@gmail.com प्रयोग गरि जानकारी दिनु होला ।












