@भानु ढुङ्गाना
यहाँको परिवेश अनौठो विरोधाभासले भरिएको छ। सतहमा जनलहरको उर्लिँदो तमासा छ। भीड, आवाज र चहलपहलले वातावरण कोलाहलमय देखिन्छ। तर जब भित्र पस्यौँ, त्यहीँ गहिरो शून्यता भेटिन्छ। कला हराउँदै गएको छ, साहित्य मौन बन्दैछ, र सिर्जनशीलता ओझेलमा परेको छ।
झरीपछिका च्याउझैँ क्षणभर जुर्मुराएर देखा पर्ने उत्साहहरू एकाएक हराउँछन्—न त तिनले गहिरो छाप छोड्छन्, न दीर्घकालीन अर्थ। यस्तो अवस्थामा यो देखावटको भीड वास्तवमा सार हराएको समाजको प्रतीक बनेको छ।
यस्तै परिवेशले व्यक्तिको पहिचानसमेत धमिलो बनाउँदै लगेको छ। को शिक्षित, को सर्जक, को विचारशील—छुट्याउनै गाह्रो हुन थालेको छ। सबैजना भीडको एक अंशझैँ भएका छन्। तर, हाँसले दूध र पानी छुट्याएझैँ, वास्तविकता अन्ततः प्रकट हुन्छ नै।
विशेषगरी युवा पुस्ता, जो भोलिको आधार हुनुपर्ने हो, उनीहरू नै दिशाहीनता र क्षणिक आकर्षणको भुमरीमा अल्झिएको देखिन्छ। यस्तो अवस्था चिन्ताजनक छ। यसरी चलिरहने हो भने हाम्रो पहिचान, हाम्रो अस्तित्व नै संकटमा पर्न सक्छ।
भाइभतिजाहरू हो, अब यसरी हुँदैन। हाम्रो फर्किने अर्को देश, अर्को घर छैन। यही हाम्रो घर हो, यही हाम्रो देश हो। यहीँबाट हामीले आफ्नै कला, शिक्षा, संस्कृति र साहित्यलाई जोगाउँदै पुनः जाग्नुपर्छ। हाम्रो सिकाइ र साधनाले भोलिका पुस्तालाई मार्ग देखाउनुपर्छ, ताकि उनीहरू आफ्नो पहिचानसँग जोडिन सकून्।
https://globalpostinfo.us/?p=18774
समय अझै छ—भीडको उर्लाहट मात्र होइन, चेतनाको गहिराइलाई पनि जगाउने। सिर्जनालाई स्थान दिऔँ, विचारलाई सम्मान गरौँ, र व्यक्तित्वलाई पहिचान दिने संस्कार विकास गरौँ। ताकि भोलि हाम्रो समाज केवल आवाजको भीड होइन, अर्थपूर्ण सृजनाले उज्यालो बनेको सशक्त समुदायका रूपमा उभिन सकोस्।
सँधै हेक्का रहोस्—कसैको भाषा मेटियो भने उसको अस्तित्व नै हराउँदै जान्छ। दाजुभाइ नजुटे शक्ति क्षय हुन्छ। जहाँ साधना छ, त्यहाँ सम्भावनाहरू अनगिन्ती हुन्छन्। इच्छाशक्तिलाई केन्द्रमा राखेर सिर्जनशील समाज निर्माण गर्न सक्यौँ भने, हामी केही सर्जकहरू नै अरूलाई मार्गदर्शन गर्न सक्षम हुनेछौँ।
हामी त आधा दिनका ढल्किँदै गरेका घाम हौँ, तर तपाईँहरू उदाउँदै गरेका भविष्यका किरणहरू हुनुहुन्छ। त्यसैले यो दीगो सम्पदालाई संरक्षण, प्रवर्द्धन र विकास गर्ने चेतना तपाईँहरूमा जाग्नुपर्छ। यही नै हाम्रो साझा जिम्मेवारी हो, र यहीँबाट उज्यालो भविष्यको सुरुवात हुन्छ।












