@अर्जुन प्रधान
नेपालमा हालै सम्पन्न आमनिर्वाचनपछि नयाँ नेतृत्वप्रति आशा र अपेक्षा व्यक्त गर्दै नेपाली भाषी भूटानी शरणार्थी तथा पुनर्वास भइसकेका समुदायबाट प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गर्ने क्रम जारी रहेको छ।
यसै सन्दर्भमा क्यानडामा बसोबास गर्दै आएका सामाजिक अभियन्ता तथा साहित्यकार भानु ढुंगानाले प्रधानमन्त्री बालेन शाह लाई सम्बोधन गर्दै पठाएको सन्देशमार्फत हालैको निर्वाचनबाट जनमतको विश्वाससहित नेतृत्वमा पुगेकोमा हार्दिक बधाई ज्ञापन गरेका छन्।
उनले प्रधानमन्त्रीको दूरदर्शी सोच र सक्षम नेतृत्वमा नेपाल विकास र समृद्धिको दिशामा तीव्र गतिमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्। जनअपेक्षा अनुसार विकासका लक्ष्यहरू हासिल गर्दै मुलुक र नागरिकको जीवनस्तर सुधार गर्ने दिशामा नयाँ सरकारको भूमिका निर्णायक हुने उनको भनाइ छ।
ढुंगानाले “शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक न्याय तथा पूर्वाधार विकासका क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्दै भ्रष्टाचार, कुशासन र कानुनी जटिलताको अन्त्य गर्न सरकार सफल हुने विश्वास व्यक्त गरेका छन्।
भूटानबाट विस्थापित भई नेपालमा बसोबास गरेका समुदायको तर्फबाट लेखिएको उक्त सन्देशमा नेपालप्रति गहिरो आत्मीयता र सम्बन्ध रहेको उल्लेख गरिएको छ। नेपालले भोगेका विभिन्न आन्दोलन र राजनीतिक परिवर्तनका चरणहरू नजिकबाट अनुभव गर्ने अवसर पाएको स्मरण गर्दै उनले अझैसम्म अपेक्षित समृद्धि हासिल हुन नसकेको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्।
हाल झापा र मोरङ जिल्लामा करिब ६–७ हजार भूटानी शरणार्थी अझै पनि पुनःस्थापनाको पर्खाइमा कष्टपूर्ण जीवन बिताइरहेका छन्। उनीहरूको मातृभूमि फर्किने चाहनालाई सम्बोधन गर्दै नयाँ सरकारले कूटनीतिक पहलमार्फत दीर्घकालीन समाधान खोज्ने अपेक्षा गरिएको छ।
त्यस्तै, विभिन्न कारणले भूटान फर्कन नसक्ने शरणार्थीहरूका लागि नेपालमै सम्मानजनक जीवनयापनको वातावरण निर्माण गरिने विश्वास पनि व्यक्त गरिएको छ।
अन्त्यमा, प्रधानमन्त्रीको सफल कार्यकालको कामना गर्दै देश र जनताको हितमा उत्कृष्ट कार्यसम्पादन गर्न सफल हुने आशा व्यक्त गरिएको ढुंगानाले सन्देशमार्फत उल्लेख गरेका छन्।”












