अमेरिकाका विभिन्न सहरमा पुग्दै गरेको ‘मनदेखि मनसम्म’ spoken word poetry कार्यक्रम पीट्सबर्गमा सम्पन्न

0
20
Screenshot

अमेरिकाका विभिन्न सहर र राज्यहरूमा यात्रा गर्दै नेपाली भाषा, भावना र अनुभूतिलाई मञ्च प्रदान गर्दै आएको (Spoken Word Poetry) स्पोकन वर्ड कविता कार्यक्रम ‘मनदेखि मनसम्म’ हाल पिट्सबर्ग, पेनसिलभानियामा सम्पन्न भएको छ। कार्यक्रमको आयोजना पेन हेल्प एडल्ट डे–केयर ले गरेको हो।

‘मनदेखि मनसम्म’ एक काव्यिक अभिव्यक्ति कार्यक्रम हो, जसले कवितालाई केवल पाठ्य रूपमा होइन, जीवनका अनुभव, सम्झना र भावनासँग जोडेर प्रत्यक्ष रूपमा श्रोतासमक्ष प्रस्तुत गर्छ। यो कार्यक्रम स्पोकन वर्ड कविता नाइट को अवधारणामा आधारित छ, जहाँ कविता, संगीत र आत्मीय संवाद एउटै मञ्चमा प्रस्तुत गरिन्छ—मनबाट निस्किएको भाव मनसम्म पुर्‍याउने उद्देश्यसहित।

पिट्सबर्ग संस्करणको कार्यक्रम विशेष रूपमा आमा–बुबा तथा ज्येष्ठ पुस्ताप्रति समर्पित थियो। सहभागी कविहरूले आप्रवासी जीवनका चुनौती, वृद्ध आमाबाबाको त्याग र संघर्ष, परिवारबाट टाढा बस्नुपर्दाको पीडा, जीवनका भोगाइ र भविष्यप्रतिको आशालाई कविता मार्फत व्यक्त गरे। यी प्रस्तुतीहरूले उपस्थित दर्शकहरूलाई गहिरो रूपमा भावनात्मक बनाएको थियो।

कार्यक्रममा साहित्य र संगीतसँगै आत्मीय संवादलाई पनि विशेष महत्त्व दिइएको थियो। पिट्सबर्ग तथा छिमेकी सहरहरूबाट आएका करिब २० जना कविहरू ले कविता वाचन गरेका थिए। युवाहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप जीवन्त बनाएको सहभागीहरूको प्रतिक्रिया थियो।

यसै अवसरमा कवि कुबेर प्रसाद घिमिरे का दुई कृतिहरू — “हाम्रो जीवनका पदचापहरू” र “रहस्यको खोजी” — को औपचारिक विमोचन पनि सम्पन्न भयो।

कार्यक्रम हाल GBLO (विश्व भूटानी साहित्यिक संगठन) को फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ, जसले अमेरिका तथा विश्वभरका नेपाली समुदायले यो कार्यक्रम सजिलै हेर्न सक्ने अवसर दिएको छ।

कार्यक्रमका संयोजकले ‘मनदेखि मनसम्म’ अमेरिका भरिका नेपाली समुदायलाई जोड्ने साझा मञ्चका रूपमा विकसित हुँदै गएको बताए। उनले भने,

“प्रवासमा बस्दा भाषा, संस्कृति र भावना जोगाइराख्न यस्ता साहित्यिक कार्यक्रम अत्यन्त आवश्यक छन्। ‘मनदेखि मनसम्म’ अब सहर–सहर पुग्दै समुदायलाई जोड्ने प्रयास हो।”

संयोजकले कविता, भावना र आत्मीय संवादमा रुचि राख्ने सबैलाई भविष्यका कार्यक्रमहरूमा पनि खुलेर सहभागी हुन आह्वान गरे।

कार्यक्रमको अन्त्यमा आयोजकहरूले आगामी दिनहरूमा पनि विभिन्न सहर र राज्यहरूमा ‘मनदेखि मनसम्म’ कार्यक्रम निरन्तर लैजाने प्रतिबद्धता व्यक्त गर्दै सहभागी कवि, दर्शक तथा सहयोगी सबैप्रति धन्यवाद ज्ञापन गरेको थियो।

• पातलो अन्तरे — अध्यक्ष, GBLO

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here