@ अर्जुन प्रधान
“बिष्णुको जीवन एक घुमिरहेको चक्र हो। उनको मन कहिल्यै मातृभूमिबाट टाढा छैन। विस्थापनको पीडा, परिवारसँगको झगडा र विश्वासबीचको संघर्ष निरन्तर चलिरहन्छ या देखिन्छ ।”
The World’s Happiest Man शान्त तर गहिरो चलचित्र – जसले विस्थापन, सम्झना, विश्वास र परिवारको जटिलतालाई मन छुने तरिकाले निर्देशकले देखाउँछन् ।
कथाको केन्द्रमा छन् बिष्णु, नेपाली भाषी भूटानी, जसको जीवन अमेरिका बसोबासमा बित्छ, तर उनको मन अझै मातृभूमिमा घुमिरहेको छ। बारम्बार भिसा अस्वीकृत हुनुले उनको भित्री यात्रा , आशा र अझ तीव्र गतिमा निराशाको घनचक्कर अन्तिमसम्म फैलिन्छ ।
उनकी नातिनी गुंगुनको सरलता र अमेरिकी संस्कारसँगको सहजता बिष्णुको भित्री पीडा र सम्झनासँग विपरीत खडा हुन्छ। दुई पुस्ताबीचको अन्तर चलचित्रको भावनात्मक केन्द्र हो।
चलचित्रले सामाजिक सन्देश पनि दिएको छ। यसमा LGBTQ+ सम्बन्धको अस्वीकृति र पुरुष सन्तानलाई प्राथमिकता दिने परम्परागत सोचजस्ता विषयहरू उठाइएका छन्। यसले स्पष्ट देखाउँछ कि, जहाँ जति नेपाली गए पनि, केही पुराना विचारधाराहरू अझै मनमा बसेको पाइन्छ।

धर्म र विश्वासको विषय पनि चलचित्रमा सन्तुलित रूपमा प्रस्तुत गरिएको छ। चलचित्रको सबैभन्दा मार्मिक दृश्यमध्ये एक हो भुवन प्याकुरेलको छोटो साक्ष्य। उनी आफ्नो बाल्यकालको सत्य साझा गर्छन्—काली गाई र प्रिय बुबा एकैपटक हराउनु, र केही समयपछि दुबैको शव भेटिनु। भूटानी सेनाद्वारा हत्या गरिएको यो यथार्थ दृश्य छोटो भए पनि गहिरो पीडा बोकेको छ। यसले नेपाली भाषी भूटानीहरूको विस्थापन पछाडिको डर, त्रास र नबोलेको इतिहास उजागर गर्छ। पास्टरमार्फत ख्रीष्टियन विश्वास र आत्मिक शक्ति देखाइन्छ, त्यस्तै हिन्दू परम्पराको निरन्तर अभ्यास पनि जीवनसँग जोडिएको देखिन्छ। यी दुवै आस्था बिष्णुको जीवनमा आशा र शक्ति थप्छन्।
कथामा सबैभन्दा जटिल मोड बिष्णुको मृत्युमा आउँछ। बिष्णुले आफ्नो आत्मा प्रभुलाई सुम्पिएका थिए, तर यस निर्णयले उनका दाजु–भाइबीच ठूलो झगडा जन्माउँछ। परिवारमा चर्को द्वन्द्व र भावनात्मक तनाव चलचित्रको अन्तिम हिस्सामा प्रभावकारी ढंगले देखाइएको छ।
चलचित्र हेर्न मन लाग्ने अर्को कारण भनेको शिबिरमा देखिएका दाजुभाइ, आमा–बुबा, शिक्षक र शिबिर सचिवहरूको उपस्थितिले, कथालाई अझ जीवित बनाएको छ। त्यससगै चलचित्रमा समावेश गित, भजन र कथाले दर्शकको मनमा बसेका गाथाहरूलाई फेरि जीवित बनाउँछ। निर्देशकले कथा र छायांकनमा यस्तो सजीवता ल्याएका छन् कि चलचित्र हेरेपछि हरेक दर्शकको मन जितिन्छ।
चलचित्रको गति ढिलो भए पनि मौनता, स्मृति र प्रतीकात्मक दृश्यहरूले बिष्णुको जीवनको भावनात्मक घनचक्कर र परिवार भित्रको द्वन्द्वलाई प्रस्ट देखाउँछ।
चलचित्रमा जोडिएको सम्बन्ध र बिष्णुको अन्तरद्दण्द ऐन जस्तै भएर दर्शकलाइ घचघचराइन्छ । चलचित्रमा प्रयोग भएका बिम्ब रूख र बुढो मान्छे ! मेलबक्स र बुढो मान्छे ! कमिला र काग अनि धेरै सुन्दर बिम्बहरूले मनमा चलचित्र प्रति प्रेम बढाउछ ।

अन्ततः, The World’s Happiest Man केवल एक वृद्धको कथा होइन। यो विस्थापन भोगेका नेपाली भाषी भूटानीहरूको साझा अनुभूति हो, जहाँ सम्झना, विश्वास र परिवारको जटिलता जीवनलाई अर्थपूर्ण बनाउँछ।
Starring: Haribamsha Acharya, Aditi Pyakurel, Bruce Dern
Supporting actors: Dayahang Rai, Joes Pandey
Director: Binod Poudel
Amazon Prime मा उपलब्ध












