अन्तर्राष्ट्रिय नेपाली गीतकार संघद्वारा ‘साहित्यिक तथा सांगीतिक संवाद’ ह्यारिस्बर्गमा सम्पन्न

0
41

@अर्जुन प्रधान / ह्यारिस्बर्ग, पेनसिल्भेनिया

अमेरिकाको पेनसिल्भेनिया राज्यस्थित ह्यारिस्बर्ग शहरमा जुलाई १२, २०२५ का दिन अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (INLA) र त्रिवेणी साहित्य मञ्चको संयुक्त आयोजनामा ‘साहित्यिक तथा सांगीतिक संवाद’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेपाली गीत, साहित्य, र भाषा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त विशेष कार्यक्रममा अमेरिका विभिन्न राज्यहरूबाट आएका स्रष्टा, गीतकार, साहित्यप्रेमी, समाजसेवी तथा बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रह्यो।

कार्यक्रमको सभापतित्व अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ अमेरिकाका अध्यक्ष हरि उप्रेतीले गर्नुभएको थियो भने प्रमुख अतिथि साहित्यकार वसुधा रिजाल रहनुभएको थियो। कार्यक्रममा गण्डकीपुत्र, पातलो अन्तरे, देविका बराल, रन खड्का, अमृता ढुङ्गेल, केशव बैरागी माइलो, त्रिविक्रम न्यौपाने, दिपेस चापागाईं, शेखर कोइराला, भरत तिम्सिना लगायतका सर्जकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सांस्कृतिक प्रारम्भ ल्यानकास्टरबाट दीपा, दीप्शिखा र आयुष्माको समूहद्वारा प्रस्तुत स्वागत नृत्यबाट गरिएको थियो, जसले सुरुवातमै वातावरणलाई उत्सवमय बनाएको थियो।

कार्यक्रमका मुख्य आकर्षणहरू:

  • संघको संक्षिप्त परिचय
  • सम्मान तथा अभिनन्दन
  • गीत संवाद
  • रचना वाचन
  • साहित्यिक भलाकुसारी

कार्यक्रमका दौरान अध्यक्ष उप्रेतीले संघको स्थापना उद्देश्य, विगतमा सम्पन्न गतिविधिहरू तथा भावी योजनाहरू प्रस्तुत गर्दै नेपाली भाषा, गीत, र साहित्यको संरक्षणका लागि प्रवासमा रहेका सर्जकहरूको साझा समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (INLA)का अध्यक्ष हरि उप्रेति

कार्यक्रममा गोल्डेन होम केयर (Golden Home Care) लाई नेपाली गीतकार संघप्रति लामो समयदेखि प्रदान गरिएको सहयोगको कदर गर्दै अभिनन्दन पत्रद्वारा सम्मान गरिएको थियो। साथै, मातृभाषा संरक्षण समूह अमेरिकाका संस्थापक तथा सर्जक केशव बैरागी ‘माइलो’ लाई मातृभाषा संरक्षण, गीत लेखन, भाषा सम्पादन तथा नेपाली कला–साहित्य प्रवर्द्धनमा पुर्‍याएको योगदानका लागि विशेष सम्मान प्रदान गरिएको थियो।

कार्यक्रमको मिडिया साझेदारका रूपमा Global Bhutanese News, AP Media, र Global Postinfo रहेका थिए। यिनले समाचारप्रसारण, प्रवर्द्धन तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली भाषा र साहित्यको सन्देश पुर्‍याउने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे।

त्यसैगरी कार्यक्रमको सफलतामा Subratna Prints (Design & Print) र Shangri-La Restaurant & Bar को प्रशंसनीय सहयोग रहेको थियो।

अध्यक्ष उप्रेतीले नेपाली गीत–साहित्यको सृजनाशील माध्यमबाट विश्वभर छरिएका नेपालीभाषी समुदायबीच आपसी सम्पर्क र एकता कायम गर्दै नयाँ पुस्तामा सिर्जनात्मक चेतना भर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो। यस्ता प्रयासले मातृभाषा र संस्कृति संरक्षणमा अन्तर्राष्ट्रिय स्तरमै टेवा पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी सबै सर्जक तथा समुदायका सदस्यहरूले यस्ता ‘साहित्यिक तथा सांगीतिक संवाद’ जस्ता कार्यक्रमहरूले प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र सशक्तीकरणको अभियानलाई सार्थक दिशातर्फ अघि बढाउने धारणा व्यक्त गरेका थिए। गीत र शब्दको माध्यमबाट नेपाली सिर्जनशीलताको अन्तर्राष्ट्रिय पहिचान बनाउन यस्ता कार्यक्रमहरू प्रेरणास्रोत बन्ने अपेक्षा गरिएको छ।

भिडियो ःhttps://youtu.be/ml7aJL2XHcQ?si=eA4wxNEmh2goUYjC

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here