काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय सामाजिक सञ्जालमा बढ्दो परपीडक प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्तो नकारात्मक संस्कारले समाजलाई विभाजित र असहिष्णु बनाइरहेको चेतावनी दिएका छन्। आफू राम्रो देखिन अरूको निन्दा गर्ने, सकारात्मक पहलकर्तामाथि अनावश्यक आरोप लगाउने र गालीगलौजको प्रवृत्तिलाई तत्काल नियन्त्रण नगरे समाज नै संकटमा पर्नसक्ने प्रधानमन्त्रीको ( समाजिक संझाल)मा भनाइ छ।
प्रधानमन्त्री ओलीले दुई चर्चित गायिका एलिना चौहान र समीक्षा अधिकारीद्वारा सामाजिक सञ्जालमा आफूलाई गाली गर्नेहरूलाई सार्वजनिक रूपमा उजागर गर्ने कदमको समर्थन गर्दै, यस्ता गतिविधिलाई साइबर आक्रमणको सशक्त प्रतिकारका रूपमा व्याख्या गरे। उनका अनुसार, गाली गर्नेहरूलाई बेनकाब पार्ने कार्यले नकारात्मक प्रवृत्तिहरूको जरो समात्न सक्ने सम्भावना बढाउँछ।
परपीडक प्रवृत्ति अहिलेको डिजिटल युगमा झनै खतरनाक बन्दै गएको छ। विशेषगरी सामाजिक सञ्जालमा देखिएको गालीगलौज र अनावश्यक आलोचना संस्कारले समाजमा व्यक्तिगत आक्रमणको प्रवृत्ति बढाइरहेको छ। यसले रचनात्मक बहसलाई विस्थापित गरी कटुता र विग्रहलाई बढावा दिएको छ।

गायिका चौहान र अधिकारीले आफूहरूमाथि भइरहेका आक्षेप र अपशब्दका प्रतिक्रिया स्वरूप ती व्यक्तिका नाम र भनाइहरू सार्वजनिक गर्दै जवाफ दिने रणनीति लिएका छन्। कतिपयले यसलाई ‘डिजिटल प्रतिरोध’ को रूपमा सराहना गरेका छन् भने अरूले यसले द्वन्द्वलाई अझ चर्काउन सक्ने आशंका व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीको अभिव्यक्तिले यस्ता डिजिटल द्वन्द्वको तह विश्लेषण गर्न र सामाजिक सञ्चारको मर्यादा सुनिश्चित गर्न एक बहसको विषय सिर्जना गरेको छ। उनले राम्रो गर्न चाहनेहरूलाई हिम्मत नहार्न आग्रह गर्दै सकारात्मक सोच र विवेकको बाटो समात्न आह्वान गरेका छन्।
यो सन्दर्भमा विश्लेषकहरू भन्छन् कि समाजले डिजिटल सञ्चारका माध्यमहरूलाई आलोचना होइन, सम्वादको माध्यम बनाउनु आवश्यक छ। परपीडक मनोवृत्तिबाट समाजको भलो सम्भव छैन, बरु सहकार्य र सम्मानको संस्कारबाट मात्र शान्तिपूर्ण तथा समावेशी समाजको निर्माण हुन सक्छ।
@newsdeskusa