ओहायो, जुन २८ – दुई दशकअघि शरणार्थी जीवनको कठोर भोगाइसँगै शिक्षा हासिल गरेका विद्यार्थीहरूले २२ वर्षपछि शिक्षक–शिक्षिकाप्रति आभार प्रकट गर्दै ‘शिक्षक अभिनन्दन कार्यक्रम’ सम्पन्न गरेका छन्।
गोल्धाप शरणार्थी शिविरको एस.एल.सी. ब्याच २०५९ द्वारा आयोजना गरिएको उक्त कार्यक्रममा अमेरिका, क्यानाडा, अस्ट्रेलिया, युरोप लगायत विभिन्न मुलुकबाट आइपुगेका पूर्वविद्यार्थीहरू एकै थलोमा भेला भए। शिक्षाको ज्योति बाल्यकालमै दिनुहुने गुरुहरूलाई सम्मानपत्र प्रदान गर्दै उनीहरूले आफ्नो पुनर्मिलनलाई अर्थपूर्ण बनाएको साहित्यकार केशव बैरागी माइलोले जानकारी गराएका हुन्।
कार्यक्रमको सभापतित्व बि.पि. आचार्यले गरेका थिए भने प्रमुख अतिथिका रूपमा डा. लक्ष्मी ढकालको उपस्थिति थियो। करिब ६० जना शिक्षक/शिक्षिकाको गरिमामय सहभागिता रहेको कार्यक्रममा ८० भन्दा बढी विद्यार्थीको उपस्थिति देखिएको थियो।
कार्यक्रमको सुरुवात गुरु डिल्लीराम दाहालले संस्कृत प्रार्थनाबाट गरे। भावनात्मक मन्तव्यमा जानुका खनालले शरणार्थी शिविरको कठिन अवस्था स्मरण गर्दै अहिलेको सफल यात्रामा शिक्षाको भूमिकालाई जोड दिइन्।

भुवन प्याकुरेलले देशको माटोलाई नबिर्सन आग्रह गर्दै राष्ट्रियताको सन्देश दिए। डा. ढकालले योग र ध्यानप्रति आकर्षण गराउँदै जीवनमा आत्मअनुशासनको महत्व प्रतिपादन गरे।
बासु पोख्रेल र नन्दु दङ्गालले कविता वाचन गरेर भावनात्मक रङ भरे भने पुष्प पोख्रेलको सुमधुर गीतले वातावरण झनै आत्मीय बनायो। नेपाली कल्चरल डान्स क्लब ओहायोले प्रस्तुत गरेको नृत्यले कार्यक्रमलाई सांस्कृतिक चमक दिएको थियो।
त्यसैगरी, ब्याचले प्रस्तुत गरेको ‘सिग्नेचर गीत’ निकै भावनात्मक रुपमा ग्रहण गरिएको थियो। उपस्थित धेरैले बाल्यकालको स्मृति सजीव भएको प्रतिक्रिया दिएका थिए।
कार्यक्रमका विशेष क्षणमा दिवङ्गत शिक्षक तथा बाल्यकालका साथीहरूको सम्झनामा सोम दाहालले श्रद्धाञ्जली पत्र वाचन गरे। कमल सुवेदी र सुदर्शन अधिकारीले आफ्नो जीवनयात्राका संघर्ष र शिक्षासँग जोडिएको प्रेरणादायी अनुभव सुनाए।

ब्लेस स्कुलमा सन् १९९२ देखि २००८ सम्म हेडसरका रूपमा सेवा गरेका बि.पि. आचार्यले विगतका कठिन अवस्थालाई स्मरण गर्दै पुनर्मिलनलाई ‘ऐतिहासिक घडी’ भनी व्याख्या गरे।
कार्यक्रमको संयोजन मेघ अधिकारीले गरेका थिए भने संचालन केशव बैरागी माइलोले गरेका थिए।
यो अभिनन्दन कार्यक्रम न केवल शिक्षाप्रतिको सम्मान थियो, तर शरणार्थी जीवनको भोगाइलाई आत्मबल र शिक्षाको उज्यालोबाट सफलतामा रूपान्तरण गरेको प्रेरणादायी क्षण बनेको उपस्थित शिक्षक–शिक्षिकाको भनाइरह्यो ।
@अर्जुन प्रधान

तस्विर/समाचार स्रोतः- साहित्यकार केशव बैरागी माइलो
ग्लोबलपोस्ट