संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदकहरूले लोकनाथ आचार्यको बेपत्ता अवस्थाबारे गम्भीर चिन्ता

0
78

२०१४ देखि बेपत्ता रहेका नेपालीभाषी भुटानी मानव अधिकारकर्मी लोकनाथ आचार्यको विषयमा संयुक्त राष्ट्रसंघका चार विशेष प्रतिवेदकहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

उनी सन् २०१४ को अक्टोबर १६ मा भारतको पश्चिम बंगालमा मानव अधिकारसम्बन्धी बैठकमा भाग लिन जाँदा रोयल भुटान प्रहरीले पक्राउ गरी भुटान लगेको र त्यसपछि उनको अवस्था अज्ञात छ।
मानव अधिकार रक्षकहरू सम्बन्धी संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक मिस म्यारी लौलर लगायतले भुटान र भारत सरकारलाई छुट्टाछुट्टै पत्र लेखेर लोकनाथ आचार्यको बारेमा जानकारी दिन आग्रह गरेका छन्।


लोकनाथ आचार्यलाई १९९० को दशकको सुरुतिर भुटानबाट निष्कासित गरिएको थियो। उनी पूर्वी नेपालस्थित भुटानी शरणार्थी शिविरमा बस्दा ‘ह्युमन राइट्स अफ अर्गनिजेशन अफ भुटान’ नामक मानव अधिकारवादी संस्थामा सक्रिय थिए।
उनको परिवारले अझै पनि उनको सुरक्षित फिर्ताको आशा राखेको छ। भुटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि काम गर्ने गैरसरकारी संस्था (GCRPPB) ले आचार्य परिवारसँग मिलेर निरन्तर अन्तर्राष्ट्रिय दबाब र पैरवी गर्दै आएको छ।


संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदकहरूले भुटान सरकारलाई निम्न विषयमा जानकारी मागेका छन्:
• आचार्यको भारतमा गिरफ्तारी र भुटान ल्याउने प्रक्रिया,
• उनको हालको अवस्था र सरकारको अनुसन्धान,
• शारीरिक तथा मानसिक अवस्थाबारे अद्यावधिक विवरण,
• हिरासतमा भए कानुनी आधार,
• भारत लगायत अन्य सम्भावित देशहरूसँग समन्वय।
विशेष प्रतिवेदकहरूले भनेका छन्, “आचार्यलाई भुटान तथा भुटान बाहिर मानव अधिकारका पक्षमा गरेका कार्यका कारण लक्षित गरिएको हुनसक्छ।”
GCRPPB ले संयुक्त राष्ट्रसंघको जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिसम्बन्धी कार्यदललाई पनि यस मामलामा ध्यानाकर्षण गराएको छ र भुटान सरकारलाई अन्तर्राष्ट्रिय संवादमा सहयोग गर्न आह्वान गरेको छ।

@अर्जुन प्रधान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here