विश्वका १६ देशबाट नेपाली स्रष्टाहरूको सहभागिता, भाषा र संस्कृतिको समर्पण
@अर्जुन प्रधान
द हेग, नेदरल्याड्स — १४ जून, २०२५
नेदरल्यान्ड्सको ऐतिहासिक सहर हेगले एक अन्तर्राष्ट्रिय नेपाली साहित्य तथा सांस्कृतिक सम्मेलनको गौरवपूर्ण आयोजना गरेपछि नेपाली भाषा र संस्कृति फेरि एकपटक विश्वमञ्चमा प्रतिध्वनित भयो।
विश्व भूटानी साहित्यीक संगठन (GBLO) को आयोजनामा सम्पन्न अन्तर्राष्ट्रिय नेपाली साहित्य तथा सांस्कृतिक सम्मेलन–२०२५ मा विश्वभर छरिएर बसेका नेपाली मूलका साहित्यकार, कलाकार, बुद्धिजीवी तथा संस्कृतिकर्मीहरूको उल्लेखनीय सहभागिता रह्यो।
सम्मेलनमा सहभागीहरूले नेपाली भाषाको संरक्षण, साहित्यिक उत्तराधिकारको हस्तान्तरण, र सांस्कृतिक चेतनाको पुनर्स्थापना गर्ने लक्ष्यसहित सिर्जनात्मक प्रस्तुतिहरू गरे।
कार्यक्रममा बेल्जियमस्थित नेपाली राजदूत महामहिम सेवा लम्सालको प्रमुख अतिथित्वमा सम्पन्न भएको थियो।
अन्य विशिष्ट अतिथिहरूमा बेल्जियमका डिल्ली राम अम्माई, पञ्चम अधिकारी, तथा बेलायतस्थित GFNL का अध्यक्ष युद्ध अधिकारी, यूकेबाट एनआरएनएका उपाध्यक्ष तथा नेपाली साहित्य महासङ्घका पूर्व अध्यक्ष विश्वदीप तिगेला, कबियात्रि तथा साहित्यकार दिपा पुन राइको उपस्थिति थियो।
सांस्कृतिक कार्यक्रमसँगै विविध वक्ताहरूले प्रवासी नेपाली समाजभित्र साहित्य र संस्कृतिको भूमिका, संरक्षण तथा समावेशीकरणमाथि विचार व्यक्त भएको साहित्यकार शेखर कोइरालाले ग्लोबलपोस्टलाइ जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली भाषामा लेखिएका कविता वाचन, लोकगीत प्रस्तुतिहरू, र परम्परागत तथा आधुनिक नृत्यहरू प्रस्तुत गरिए। सांस्कृतिक प्रस्तुतीहरूले विभिन्न समुदायका सहभागिलाई भावनात्मक रूपमा जोडिदिए।उक्त कार्यक्रमको सञ्चालनमा पातलो अन्तरे र संयोजनमा डिपी शर्मा मैनालीको सक्रिय भूमिका रहेको थियो ।



फिल्म निर्माता तथा लेखक प्रकाश आङ्देम्बेले नेपाली समाजको वर्तमान चेतना र संघर्षको सन्दर्भमा आफ्ना दृष्टिकोण राख्नु भयो भने डाक्टर नाराद पोखरेलले प्रवासी जीवनका सामाजिक पक्षहरूबारे बोल्नुभयो ।
वि.भू.सा.सं.का संस्थापक अध्यक्ष डेन्जोम साम्पाङ राइले सम्बोधनमा भने, “जीवन विभिन्न चरणहरूमा रंग फेरिन्छ, जब स्विकारोक्तिलाई जीवनमा उतारिन्छ। स्वीकारोक्ति दर्शन किन आवश्यक छ भने, त्यसले जीवनका सत्यहरूलाई पुष्टि गर्छ। जीवन स्वयं स्वीकारोक्तिमय छ, र त्यसलाई स्वीकार गर्नु नै आत्मबोधको सुरुवात हो,” उहाँले उल्लेख गर्नुभयो।
त्यसैगरी, महामहिम सेवा लम्सालले उपस्थित स्रष्टाहरूलाई सम्बोधन गर्दै भनिन्, “नेपाली साहित्य आजको युगको प्रविधिसँग गहिरो रूपमा अभिप्रभवित छ, र यसलाई जोगाइराख्ने जिम्मेवारी हामी सबै नेपालीहरूको हो।”
उहाँको विचारमा प्रवासी सन्दर्भमा साझा अनुभूति र विचार आदान–प्रदानको भूमिकालाई विशेष महत्त्व दिइएको थियो।

कार्यक्रममा निम्न तीन कृतिहरू सार्वजनिक गरियो:
• गोपाल पौडेलको “धुलोमा हिरा”
• खगीन्द्रा खुसीको “खुशीको गाउँ”
• याम राईको “याम: एक सापेक्ष”
यी कृतिहरूले समसामयिक नेपाली साहित्यमा नयाँ स्वर र दृष्टिकोणको प्रतिनिधित्व गर्छन्।
त्यसैबिच, डेन्जोम साम्पाङले दुई पुरस्कारको घोषणा गर्नु भएको थियो ।
दिनेश चाम्लिङ युवा प्रतिभा पुरस्कार
— यस वर्षको सम्मान स्वाकारोक्ति फाउन्डेशनलाई प्रदान गरियो। पुरस्कार स्वरूप USD $5,001 को नगद राशिसहित यो सम्मान संस्थालाई खोज, अनुसन्धान र प्रचारप्रसारको क्षेत्र सशक्त बनोस् भन्ने उद्देश्यले दिइएको हो।
स्वाकारोक्ति सिद्धि पुरस्कार कवि बैरागी काइँलालाई ६ लाख राशिको पुरस्कार घोषणा डेन्जोम साम्पाङले गर्नु भएको थियो ।
बैरागी काइँला (तिलविक्रम नेम्बाङ लिम्बु) नेपाली साहित्यका प्रभावशाली कवि र ‘तेस्रो आयाम’ आन्दोलनका सह–संस्थापक हुनुहुन्छ। नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति रहेका उहाँ लिम्बु संस्कृति र मुन्धुम अध्ययनमा समेत गहिरो योगदान दिएका स्रष्टा हुनुहुन्छ।
“बैरागी काइँला” लाई यो वर्षको स्वाकारोक्ति सिद्धि पुरस्कारबाट सम्मान गरिएको छ ।
यो पुरस्कार सन् २०२२ मा पहिलोपल्ट नेपाली मूलका भारतीय साहित्यकार लीलबहादुर क्षेत्रीलाई प्रदान गरिएको थियो।
नयाँ कार्यसमिति चयन
कार्यक्रमको अन्त्यमा GBLO को नयाँ नेतृत्व समिति घोषणा गरियो:
• अध्यक्ष: पातलो अन्तरे
• वरिष्ठ उपाध्यक्ष: गोपाल पौडेल
• महासचिव: सुसन माझी
• सचिव: लक्कि राशि
• कोषाध्यक्ष: शेखर कोईराला
• सह–कोषाध्यक्ष: अभि न्यौपाने
• कार्यक्रम निर्देशक: ईश्वर ढकाल
• सांस्कृतिक संयोजक: सरगम थापलिया
• प्रचार प्रसार प्रमुख: भीम गुरुङ
• सदस्यहरू: खडक गजमेर, देवी राई, यदु अधिकारी, छत्र दंगाल


Board of Trustees मा डेन्जोम साम्पाङ, जय बातनवा, कर्ण गुरुङ, प्रदीप गुरुङ, आभाष रिखाम, ममता मोक्तान छन्।
सम्मेलनमा नेदरल्यान्ड्स, बेल्जियम, बेलायत, पोल्याण्ड, डेनमार्क, नर्वे, स्लोभेनिया, अमेरिका, नेपाल, भारत, भूटान, न्यूजील्याण्ड, फ्रान्स, पोर्चुगल, जर्मनी र सुरीनामबाट स्रष्टाहरूको उपस्थिति थियो।
विश्वभर छरिएका नेपाली समुदायले साझा पहिचानका सवालमा ऐक्यबद्धता प्रकट गरेका थिए।
संघीयता, विस्थापन र प्रवासका बीच नेपाली भाषाको भविष्यबारे चिन्ता राख्नेहरूका लागि सम्मेलनले विश्वव्यापी संवादको ढोका खोलिदिएको छ।
यस्ता कार्यक्रमले भौगोलिक दूरी भए पनि साझा संस्कृतिको सूत्रमार्फत नेपाली समुदायलाई एकजुट गर्न मद्दत पुर्याएको आयोजक तथा संयोजक डिपि शर्मा मैनाली को भनाइ छ।
समचार स्रोतः आयोजक तथा प्रचार प्रसार विभाग