@अर्जुन प्रधान
नेपाली साहित्य र दर्शनलाई प्रवासमा जोड्ने उद्देश्यसहित अमेरिकामा एकैसाथ दुई महत्वपूर्ण साहित्यिक तथा बौद्धिक कार्यक्रम आयोजना हुने भएका छन्। स्वीकारोक्ति फाउन्डेसनको आयोजनामा लेखक राहुल शंकरको कृति ‘नयाँ अध्याय’ को अमेरिकी संस्करण विमोचन तथा ‘स्वीकारोक्ति दर्शन’ विषयक अन्तरक्रियात्मक बहस कार्यक्रम फेब्रुअरी २१, २०२६ (शनिबार) सम्पन्न हुने भएको छ।
कार्यक्रम दिउँसो ३:०० बजेदेखि साँझ ५:३० बजेसम्म पेन्सिल्भेनिया राज्यस्थित Penn Help Adult Day Care, Pleasant Hills मा आयोजना हुनेछ।
नेपाली साहित्यमा फरक स्वाद र चेतनाको उपस्थिति जनाउँदै आएको ‘नयाँ अध्याय’ गजल संग्रहले प्रवास, आत्मसंघर्ष, मानवीय संवेदना र जीवनका नयाँ मोडहरूलाई साहित्यिक भाषामा उजागर गरेको छ। अमेरिकी संस्करणको विमोचनसँगै यस कृतिमाथि पाठक र साहित्यप्रेमीबीच संवादसमेत हुने आयोजकले जनाएको छ।

स्रष्टा राहुल शंकर नेपाली भाषी भूटानी हुनुहुन्छ । हाल क्यानडामा बसोबास गर्दै साहित्य सृर्जना गरिरहनु भएको छ । यसै गजल संग्रहको विमोचनका लागि अमेरिका आउदैहुनुहुन्छ ।
त्यसैगरी, कार्यक्रममा ‘स्वीकारोक्ति दर्शन’ सम्बन्धी अन्तरक्रियात्मक बहस पनि समावेश गरिएको छ। युवा तथा नेतृत्व तहका व्यक्तिहरूलाई लक्षित गरी आयोजना गरिएको यस सत्रमा आत्मस्वीकृति, चेतना, आन्तरिक शान्ति र सामाजिक सन्तुलनका विषयमा खुला संवाद गरिनेछ। सहभागीहरूले आफ्ना अनुभव, प्रश्न र विचार प्रत्यक्ष रूपमा साझा गर्न सक्ने वातावरण तयार गरिएको जिबिएलओका महा-सचिव दियालो सुसानले जानकारी दिनु भयो ।
आयोजकका अनुसार स्वीकारोक्ति दर्शनले व्यक्ति स्वयंलाई बुझ्ने र स्वीकार गर्ने अभ्यासमार्फत शान्त, सन्तुलित र सहिष्णु समाज निर्माणमा योगदान पुर्याउने विश्वास राख्दछ। यस्ता संवाद कार्यक्रमहरूले व्यक्तिगत चेतनासँगै सामुदायिक सद्भाव बलियो बनाउने अपेक्षा गरिएको जामकारी छ ।
कार्यक्रममा विभिन्न क्षेत्रका युवा, साहित्यकार, सामाजिक अभियन्ता तथा समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहने छ। कार्यक्रमसम्बन्धी थप जानकारीका लागि
www.svikaroktiphilosophy.com
www.gblo.org
+1 412-785-6774 मा सम्पर्क गर्न सकिनेछ।
नेपाली साहित्य र दर्शनलाई प्रवासमा संवाद र चेतनासँग जोड्ने यो कार्यक्रमलाई समुदायका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।












