मित्र प्रधान, साहित्यिक नाम नर ब. प्रधान, एक बहुआयामिक प्रतिभा भएका भुटानी नेपाली साहित्यकार, निर्देशक, कुशल व्यवहारिक नेतृत्वकर्ता र समाजसेवी हुन्। हाल अमेरिका निवासी प्रधान “The Himalayan: My Journey from Bhutan to America” पुस्तकका लेखक समेत हुन्, जसमा उनले आफ्नो शरणार्थी जीवनका अनुभवलाई जीवन्त शैलीमा प्रस्तुत गरेका छन्।
उनले निर्देशन गरेको चलचित्र “यो मन त मेरो नेपाली हो” नेपाली भाषा, पहिचान र संस्कृति प्रतिको माया र चेतनालाई उजागर गर्ने कलात्मक कृति हो, जसले नेपाली डायस्पोरा समुदायमा गहिरो असर पार्ने अपेक्षा गरिएको छ।
नेपाली भाषा, साहित्य, कला र इतिहासको महत्त्वलाई उजागर गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ असार २७ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रले नेपाली पहिचानको गौरवलाई मूल विषयवस्तु बनाएको छ ।प्रस्तुत छ एक विशेष अन्तर्वार्ता निर्देशक मित्र प्रधानसँग ः

अर्जुन प्रधान: “सर, ‘यो मन त मेरो नेपाली हो’ भन्ने शीर्षकमा नै देशको माया पोखिएको छ। यसका पछाडि तपाईंको मुख्य प्रेरणा के हो?”
मित्र प्रधान: “म आफैं शरणार्थी भएर बाँचें। त्यही पीडा, गौरव र देशप्रतिको भावना बोल्ने प्रयास हो यो फिल्म।”
अर्जुन: “फिल्ममा भाषा, साहित्य र पहिचानलाई किन केन्द्रीय विषय बनाउनु भयो?”
मित्र प्रधान: “भाषा हरायो भने अस्तित्व हराउँछ। आजका नेपाली युवालाई आफ्नो जरा सम्झाउन यो फिल्ममार्फत आग्रह गरेको छु।”
अर्जुन: “यो फिल्म निर्देशन गर्नुअघि तपाईंको लेखकको पहिचान बलियो थियो। निर्देशनको अनुभव कस्तो रह्यो?”
मित्र प्रधान: “कठिन त थियो तर आफ्नो कथा आफैं निर्देशन गर्न पाउनु सधैं विशेष हुन्छ। शब्दबाट दृश्यमा रूपान्तरण गर्न पाइयो।”
अर्जुन: “चलचित्रको छायांकन भारत, नेपाल र अमेरिका जस्ता भिन्न भिन्न भूगोलमा गरिएको छ। त्यो चुनौती कस्तो रह्यो?”
मित्र प्रधान: “चुनौती त थियो, तर त्यो विविधता नै कथालाई अन्तर्राष्ट्रिय बनाउने सौन्दर्य बन्यो।”
अर्जुन: “विदेशी भूमिमा नेपाली फिल्म निर्माण गर्दा कस्ता कठिनाइहरू आउँछन्?”
मित्र प्रधान: “स्रोतको अभाव, समयको व्यवस्थापन, र सांस्कृतिक अन्तर बुझाउँदै काम गर्नु पर्दा धैर्य र समर्पण चाहिन्छ।”
अर्जुन: “सामाजिक अभियन्ता भएर तपाईंले साहित्य र सिनेमा दुवै प्रयोग गर्नु भएको छ। त्यो सन्तुलन कसरी मिलाउनुहुन्छ?”
मित्र प्रधान: “समाजमा फर्कन केही गरुँ भन्ने सोच नै मेरो सबै सिर्जनाको केन्द्र हो। माध्यम जस्तो भए पनि उद्देश्य एउटै हो।”
अर्जुन: “तपाईंले लेख्नुभएको पुस्तक ‘The Himalayan’ कस्तो प्रतिक्रिया पाएको छ?”
मित्र प्रधान: “धेरै पाठकले मलाई धन्यवाद दिएका छन्। आफूजस्तै शरणार्थीका आवाजलाई लेखेर संसारसँग बाँड्न पाएँ।”
अर्जुन: “भविष्यमा यस्ता अरु प्रोजेक्टको योजना छ?”
मित्र प्रधान: “हो, नेपाली डायस्पोरा र शरणार्थी जीवनका विविध कथालाई पर्दामा ल्याउने योजना बनाइरहेको छु।”
अर्जुन: “नेपाली डायस्पोरा समुदायमा तपाईंको नजरमा अहिलेको मुख्य चुनौती के हो?”
मित्र प्रधान: “पहिचान गुमाउने डर। हामीले भाषा, संस्कृति र इतिहासलाई नयाँ पुस्तामा जोगाएर लैजानु ठूलो काम हो।”
अर्जुन: “अन्तमा, नेपाली युवाहरूलाई तपाईंको सन्देश के हो?”
मित्र प्रधान: “जहाँ भए पनि आफ्नो भाषा नबिर्सिनुहोस्। नेपाली हुनु केवल पहिरन होइन — त्यो एक चेतना हो।”