‘धिम धिम मुटु चल्छ’—जीवनको धिमे पीडा बोल्ने गीत सार्वजनिक

0
96

अर्जुन प्रधान

गीतकार राजन रुमानीको नयाँ सिर्जना ‘धिम धिम मुटु चल्छ’ हालै सार्वजनिक भएको गितले जीवनको उत्तरार्धको एकान्तता र आन्तरिक पीडालाई स्पर्श गर्ने प्रयास गरेको छ। भावुक शब्दहरूमा जीवनको धीमा गति र परनिर्भरता समाप्त भएपछि आउनसक्ने अवस्थालाई सजीव बनाइएको छ। गीतमा नरेन्द्र प्यासीको मार्मिक स्वर र संगीतले भावनात्मक गहिराइ थपेको छ।

गीतको बोल, “धिम धिम मुटु चल्छ, श्वास फेर्छु कहिले, हाँसोसँगै आँसु झर्छ, एक्लै पर्छु अहिले,” ले मनको भित्री आवाजलाई उमार्छ। यथार्थपरक अनुभूतिहरू सँगालेर निर्माण गरिएको यस गीतले दर्शक–श्रोताको भावनामा प्रत्यक्ष चोट पुर्‍याउने सामर्थ्य राख्छ।

भिडियो तर्फ हेर्दा, नवीन लम्साल, शारदा अधिकारी र सरोज शाहको सशक्त अभिनय देखिन्छ। निर्देशक निहाल नरेन सिंहको कुशल निर्देशन र सहायक निर्देशक सविन अधिकारीको सहयोगले भिडियोलाई थप जीवन्त बनाएको छ। दृश्य संयोजन र भावप्रस्तुति सन्तुलित ढंगले प्रस्तुत गरिएको छ, जसले गीतको भावनालाई गहिराइमा पुर्‍याएको छ।

गीतले विशेषतः वृद्धावस्थामा मान्छेले भोग्नुपर्ने आत्मीयताको अभाव र सामाजिक दूरीको यथार्थतालाई उजागर गरेको छ। कोही नभएको समयमा पनि मुटु चलिरहन्छ, श्वास फेरिरहन्छ, तर ती सबै भित्रको सुनसान संसारलाई प्रकट गर्न ‘धिम धिम’ को प्रयोग अत्यन्त सटीक लाग्छ।

गीत ‘रुमानी क्रियशन’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। अमेरिका बसोबास गर्दै आएका गीतकार रुमानीका लागि यो दोस्रो चर्चित सिर्जना हो। यसअघि सार्वजनिक भएको ‘कल कल मुया’ बोलको गीतले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो।

यसपटक भने रूमानीले जीवनको संवेदनशील पक्षलाई समेटेर एक सामाजिक र भावनात्मक चेतना फैलाउने कोसिस गरेका छन्। श्रोताहरूका लागि यो गीत केवल संगीत नभएर आत्मा छुने अनुभव बन्न सक्छ रूमानीको विश्वास छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here