अर्जुन प्रधान
भारतीय साहित्यमा ऐतिहासिक उपलब्धि हासिल गर्दै बानु मुश्ताकद्वारा लेखिएको कन्नड कथा संग्रह ‘हार्ट ल्याम्प’ ले २०२५ को इन्टरनेशनल बुकर पुरस्कार जितेको छ। यो पुरस्कार जित्ने पहिलो छोटो कथा संग्रह मात्र नभई कन्नड भाषाबाट अनुवाद भएको पहिलो कृति पनि हो जसले यो प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको हो।
पुरस्कार समारोह लण्डनको टेट मोडर्नमा सम्पन्न भयो। £५०,००० राशिको यो पुरस्कार लेखक बानु मुश्ताक र अनुवादक दीपा भास्तीले बराबरी रुपमा बाँडे।
७७ वर्षीया बानु मुश्ताक दक्षिण भारतको हसन, कर्नाटकमै जन्मिएकी हुन्। मुस्लिम समुदायको रूढीवादी परिवेशमा हुर्केकी उनले शिक्षा हासिल गर्दै कानुनमा स्नातक गरेकी थिइन्। सामाजिक तथा लैंगिक अन्यायविरुद्धको संघर्षमा अग्रणी भुमिका खेल्ने मुश्ताकले विशेषगरी मुस्लिम र दलित महिलाहरूको जीवनका संघर्षहरू आफ्ना कथाहरूमा उतारेकी छन्।

‘हार्ट ल्याम्प’ १९९० देखि २०२३ बीच लेखिएका १२ कथाहरूको संग्रह हो। यसमा विश्वास, जात, लिङ्ग, धर्म र सामाजिक दमनका विषयमा आधारित गहिरा कथाहरू समेटिएका छन्। उनका कथाहरू साहित्यिक दृष्टिले भावनात्मक तथा भाषिक दृष्टिकोणले नवीनताले भरिएका छन्।
कर्नाटककै मडिकेरी निवासी दीपा भास्तीले बानु मुश्ताकका कथा अंग्रेजीमा अनुवाद गरेकी हुन्। निर्णायकहरूको भनाइमा यो अनुवाद ‘रेडिकल’ र ‘जीवनदायिनी’ छ जसले कन्नड भाषाको मौलिकता जोगाउँदै कथा अन्तर्राष्ट्रिय पाठकमाझ पुर्याएको छ।
उनको यो अनुवाद इन्टरनेशनल बुकर जित्ने पहिलो भारतीय अनुवाद बनेको छ। उनको योगदानले दक्षिण भारतीय भाषालाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाएको छ।

‘हार्ट ल्याम्प’ को जितले भारतीय क्षेत्रीय भाषाहरूको अन्तर्राष्ट्रिय मान्यता अझ बलियो बनाएको छ। लगभग ६ करोड ५० लाखले बोल्ने कन्नड भाषाका लागि यो महत्वपूर्ण क्षण हो। सन् २०२२ मा गीताञ्जली श्रीको ‘टम्ब अफ स्यान्ड’ पछि यो दोस्रो भारतीय कृति हो जसले इन्टरनेशनल बुकर जितेको हो।
पुरस्कार ग्रहण समारोहमा मुश्ताकले भनिन्, “साहित्य नै त्यो पवित्र ठाउँ हो, जहाँ हामी एकअर्काको मनभित्र बाँच्न सक्छौं।”
‘हार्ट ल्याम्प’ लाई ब्रिटेनको ‘एन्ड अदर स्टोरीज’ प्रकाशनले प्रकाशित गरेको हो, जसले अब यो कृति विश्वभरका पाठकसामु पुर्याउने तयारी गरिरहेको छ। कन्नड भाषाको समृद्ध कथा परम्परा अब विश्वसामु अझ प्रकट हुने छ।

-यो समाचार NBC News, The Guardian र The Booker Prizes , BBC को आधिकारिक वेबसाइटमा प्रकाशित तथ्यहरूमाआधारित छ। तस्बिर: अन्लाइनबाट साभार।