-अर्जुन प्रधान
ह्यारिसबर्ग, पेन्सिलभेनिया – अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (ICE) ले पाँच भूटानी लाई पक्राउ गरेको घटनाले समुदायमा ठूलो चिन्ता पैदा गरेको छ। स्थानीय निर्वाचित अधिकारीहरूले एक संयुक्त पत्रकार सम्मेलन आयोजना गरी यस घटनाको कडा विरोध गरेका छन्।
भूटानी नेपाली समुदायको प्रमुख बसोबास रहेको डउफिन काउन्टीमा यो घटना घटेपछि स्थानीय निर्वाचित अधिकारीहरू आक्रोशित भएका छन्। उनीहरूले यस्तो गतिविधि तत्काल रोक्नुपर्ने र आप्रवासी समुदायलाई सुरक्षित वातावरण दिनुपर्ने माग गरेका छन्।
पक्राउ परेका पाँचै जना नागरिक कानुनी रूपमा अमेरिका बसोबास गर्दै आएका स्थायी आवासीय अनुमति (ग्रीन कार्ड) प्राप्त आप्रवासी भएको जनाइएको छ। उनीहरूलाई पक्राउ गरेर केहीलाई बाहिरी राज्यका हिरासत केन्द्रमा पठाइएको छ। यस घटनाले स्थानीय भूटानी नेपाली समुदायलाई त्रासमा पार्नुका साथै आप्रवासन प्रणालीमा पारदर्शिताको प्रश्न उठाएको छ।
“यी पाँच नागरिक लामो समयदेखि हाम्रो समाजका हिस्सा रहँदै आएका छन्। उनीहरूका परिवारलाई कुनै जानकारी नदिई गिरफ्तार गरिनु निकै चिन्ताजनक विषय हो। कानुनी रूपमा बसोबास गरिरहेका आप्रवासीहरूसँग यस्तो व्यवहार हुनु आपत्तिजनक छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
भूटानी समुदायको माग :-न्याय र सुरक्षाको ग्यारेन्टी होस्
भूटानी नेपाली समुदायका प्रतिनिधिहरूले आप्रवासन अधिकारीहरूको यो गतिविधिले उनीहरूमा ठूलो त्रास फैलाएको बताएका छन्। “हामी कानुनी रूपमा बसिरहेका नागरिक हौँ। यस्तो घटनाले हाम्रो स्थायित्वमाथि प्रश्न उठाउँछ,” बिसिएच अध्यक्ष तिलक निरौलाले भने।
“यदि कसैले कानून पालन गरेका छैनन् वा कुनै किसिमको आपराधिक गतिविधिमा संलग्न छन् भने, हाम्रै अदालत प्रणाली छ, त्यसैले उनीहरूलाई जेल पठाइनु पर्छ,” उनले भने। “हामी भन्न खोजेको कुरा के हो भने, हाम्रो आफ्नै देश छैन ? हामी संयुक्त राज्यलाई हाम्रो देश भन्छौं… उनीहरू सीमाना पार गरेर आएका होइनन्। उनीहरू अवैधानिक तरिकाले यो देशमा प्रवेश गरेका होइनन्। त्यसैले केवल निर्वासन (डिपोर्टेशन) कुनै विकल्प होइन। मुख्य सन्देश भनेको के हो भने, हामी कानुनी प्रक्रियाबाट यो देशमा आएका हौं। हामीसँग फर्किन कुनै देश छैन, जहाँ हामीलाई डिपोर्ट गरियोस्।”
समुदायका सदस्यहरूले निर्वाचित अधिकारीहरूबाट थप सहयोगको अपेक्षा राखेका छन् र कानुनी कारबाहीका लागि अगाडि बढ्ने तयारी गरिरहेका छन्।
यो घटनाले आप्रवासन नीतिको पारदर्शिता र कानुनी आप्रवासीहरूको सुरक्षामाथि नयाँ बहस ल्याएको छ। राज्य र संघीय सरकार कसरी प्रतिक्रिया जनाउँछ भन्ने हेर्न बाँकी छ।
https://www.youtube.com/live/kFBtSFxxni8?si=uKuGYl-OsQM_UBFL
संघीय सरकारसँग पारदर्शिताको माग
निर्वाचित अधिकारीहरूले संघीय सरकार र आप्रवासन निकायहरूलाई यो घटनाको पूर्ण विवरण सार्वजनिक गर्न आग्रह गरेका छन्। साथै, कानुनी रूपमा बसोबास गरिरहेका आप्रवासीहरूमाथि अन्यायपूर्ण व्यवहार नगरियोस् भन्ने माग समेत उठाइएको छ।
“पेन्सिलभेनियाका सबै बासिन्दाहरू सुरक्षित महसुस गर्नुपर्छ, विशेष गरी कानुनी रूपमा बसोबास गरिरहेकाहरू। यो केवल भूटानी नेपाली समुदायको मात्र मुद्दा होइन, यो सबै आप्रवासीहरूको सुरक्षाको विषय हो,” एक अधिकारीले भने।
https://local21news.com/news/local/dauphin-county-officials-say-ice-detained-5-legal-bhutanese-nepali-residents-immigration-and-customs-enforcement-pennsylvania-capitol-pa?fbclid=IwZXh0bgNhZW0CMTEAAR3JnmFoXYXT1QO80e6k3zUndY2_uZkWvdIVDevQUHr5wk1riHFaaaExbsk_aem_zwTAUTTl-MxjpCdyFeZpcA
यसअघि प्रक्राउ परेका रोसन तामङको समाचार
https://www.ice.gov/news/releases/ice-cincinnati-arrests-bhutanese-national-sex-crime-conviction