काठमाडौँ । नेपाली संगीतका दिग्गज कलाकार भजन शिरोमणि भक्तराज आचार्यको प्रथम वार्षिकीका अवसरमा उहाँका जेठा छोरा संगीतकर्मी सत्यराज आचार्यले आफ्नो नयाँ साहित्यिक परिचय ‘सराज’ सार्वजनिक गर्नुभएको छ। जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित साहित्यिक समारोहमा सत्यराज आचार्यद्वारा लिखित पहिलो साहित्यिक कृति ‘१४ फागुन’ को लोकार्पण गरिएको छ।
८२ वटा हाइकु समावेश यस कृतिले जीवन, संवेदना, अनुभूति र स्मृतिलाई गहन रूपमा चित्रण गरेको छ। प्रत्येक हाइकु १७ अक्षरको अन्तर्राष्ट्रिय मापदण्डलाई पालना गर्दै लेखिएको यो पुस्तक पाँच सय रुपैयाँ मूल्यमा बुकहील पब्लिकेशनबाट बजारमा आएको छ। पुस्तकको विक्रीबाट प्राप्त केही रकम भक्तराज आचार्य फाउण्डेसनलाई प्रदान गरिने आयोजकले जनाएको छ।



समारोहमा सत्यराज आचार्य स्वयंले सभापतित्व गर्नुभएको थियो भने उहाँका सुपुत्र संगीतराज आचार्य र सरगमराज आचार्यले पुस्तकको लोकार्पण गर्नुभएको थियो। कार्यक्रमको शुभारम्भ भक्तराज आचार्यकी धर्मपत्नी सुशीला आचार्यले दीप प्रज्वलन गरेर गर्नुभएको थियो। यस अवसरमा भक्तराज आचार्यकी बुहारीहरू अनिता थापा आचार्य तथा मीना बस्नेत आचार्यले दिवंगत कलाकारको तस्वीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो।
कार्यक्रममा वरिष्ठ संगीतकार शम्भूजीत बासकोटाले भक्तराज आचार्यको नेपाली संगीत क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै सत्यराज आचार्यको बहुप्रतिभाशाली व्यक्तित्वको प्रशंसा गर्नुभयो। उहाँले सत्यराज–स्वरुपराज दाजुभाइलाई ‘हुने बिरुवाको चिल्लो पात’ को संज्ञा दिनुभयो। साथै, सत्यराज आचार्यले प्रज्ञा प्रतिष्ठान अन्तर्गत नाटक विधामा कलाकारको रूपमा काम गरेको स्मरण गर्दै उहाँको साहित्यिक प्रतिभाको प्रशंसा गर्नुभयो।
कवि विप्लव प्रतिक, कानूनविद भीमाजुर्न आचार्य (अर्जुन मिलन) र कवि रवि प्राञ्जलले सत्यराज आचार्यको बहुप्रतिभा र ‘१४ फागुन’ मा समावेश हाइकुहरूको बारेमा आ-आफ्नो धारणा राख्नुभएको थियो । सञ्चारकर्मी भूपेन्द्र खड्काद्वारा सञ्चालित समारोहमा गायक स्वरुपराज आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। यो समारोहले भजन शिरोमणि भक्तराज आचार्यको स्मृतिलाई जीवन्त राख्दै नेपाली साहित्य र संगीत जगतमा ‘सराज’ को रूपमा सत्यराज आचार्यको नयाँ पहिचान स्थापित गराएको छ।
#स्वरूपराज आचार्य #सत्यराज आचार्य#सुशीला आचार्य