विद्यालय एउटा मन्दिर हो जहाँ हाम्रा सन्ततिहरूले जीवन जिउनका निम्ति ज्ञान आर्जन गर्दछन। हरेक दिन उनीहरूले ६ देखि ८ घण्टासम्म आफ्नो समय विद्यालयमा बिताउने गर्दछन।
यसक्रममा नानी वा विद्यार्थीहरूले विभिन्न गतिविधिमा सहभागी जनाई रहेका हुन्छन। कुनै गतिविधि राम्रा र कुनै नराम्रा हुन सक्दछन्। अझ अमेरिकाको सन्दर्भमा कुरा गर्ने हो भने विद्यालयमा विद्यार्थीहरूको जातीय,सांस्कृतिक र भाषिक विविधता अत्यधिक पाइन्छ। यसको अर्थ विद्यार्थीहररू आफ्नै संस्कृति र अनुशासनबाट हुर्किएका हुन्छन जहाॅ हरेक भाषिक र सांस्कृतिक समुदायका विद्यार्थीहरूको व्यवहार र आचरण फरक हुन जान्छ।
यिनै फरक व्यवहार सबै समुदायका विद्यार्थीहरूलाई सामान्य नहुन सक्छ र तिनै व्यवहारले हाम्रा नानीहरूलाई विस्तारै नकरात्मक असर पार्दै गइरहेको हुन्छ र उनीहरूको मनोविज्ञान बदलिन थाल्छ। तिनै व्यवहारू उसलाई bullying वा अरूले गर्ने दुर्व्यवहार लाग्न थाल्छ। तर ती सबै कुरा Bullying वा दुर्व्यवहार नहुनसक्दछन।
अब एकैछिन कुरा गरौ Bullying वा दुर्व्यवहारका बारेमा। कस्ता गतिविधि वा व्यवहारलाई विद्यालयमा Bullying वा दुर्व्यवहार भनिन्छ? विशेष गरी Bullying वा दुर्व्यवहार निम्न प्रकारका हुन्छन।
1. शारीरिक दुर्व्यवहार (Physical Bullying): कुनै विद्यार्थीले अर्को विद्यार्थीलाई घरी घरी हात लगाउनु, धकेल्नु वा कुट्नु आदि।
2. मौखिक वा शाब्दिक दुर्व्यवहार (Verbal Bullying): कुनै नराम्रो नामले जिस्क्याउनु, हिंसा गर्नु वा रिस उठाउनु।
3. सामाजिक दुर्व्यवहार (Social Bullying); उसको बारेमा नराम्रो हल्ला चलाउनु वा समूहबाट घरी घरी बहिष्कार गर्नु।
4. सञ्जाल दुर्व्यवहार (Cyber Bullying): कुनै पनि विद्यार्थीहरूलाई समाजिक सञ्जाल वा ईन्टरनेटको प्रयोग गरी नराम्रो कुरा लेखेर पठाउनु, अश्लील तस्विर सार्वजनिक गर्नु आदि।
यी माथी उल्लेख गरिएका विद्यालयमा हुने bullying वा दुर्व्यवहार रोक्न अभिभावक, शिक्षक, र समाजले संयुक्त रूपमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ। यदि तपाईका नानीहरूले यी दुर्व्यवहार खेपीरहेका छन भने उनीहरूले दैनिक गर्ने व्यवहारमा फरक पन देखाउन थाल्दछन। यस अवस्थामा अभिभावक सजग भएर नानीहरूको मनोविज्ञानलाई बुझेर सहि कदम अगी सार्नु अति आवश्यक हुन्छ। समयमै यी कुराहरूलाई सम्बोधन गर्न सकिएन भने हामीले आफ्ना नानीहरूलाई गुमाउनु पर्ने अवस्था नआउला भन्न सकिन्न।यस्ता घटनाका साक्षी हामी स्वयं भएका दृष्टान्त ताजै रहेको पनि छन।
यसै सन्दर्भमा मैले केहि प्रभावकारी उपायहरू उदाहरणसहित उल्लेख गर्ने कोसिस गरेको छु जसले हामीलाई ठूलो मद्दत पुग्न सक्छ।
१. बच्चाहरूलाई आत्मविश्वासी बनाउने
➡ समाधान:
• आत्मरक्षा (self-defense) तालिम दिनु, जस्तै कराते वा तेक्वान्दो सिकाउनु वा कुनै अतिरिक्त क्रियाकलापमा आफ्ना नानीहरूलाई संलग्न गराउन पर्दछ जसले अनुशासनको विकासमा मदत गर्छ र दुर्व्यवहारलाई न्यूनीकरण गर्न मदत पुग्दछ।
• उनीहरूलाई आफ्ना विचार स्पष्ट रूपमा व्यक्त गर्न सिकाउनु अति आवश्यक हुन्छ।
उदाहरण:
• यदि कसैले बच्चालाई “तिमी कमजोर छौ” भनेर जिस्क्यायो भने, आत्मविश्वासका साथ जवाफ दिनु: “म कमजोर होइन, म आफ्नो तरिकाले सक्षम छु।”
• एकजना विद्यार्थीले कराते सिकेपछि, जब उनलाई धकेल्ने प्रयास गरियो, उनले सुरक्षित रूपमा आफूलाई जोगाएर शिक्षकलाई जानकारी दिन सक्नु ।
२. सञ्चार र भावनात्मक समर्थन
➡ समाधान:
• बच्चासँग नियमित कुराकानी गर्ने र साथीको रूपमा व्यवहार गरी हरेक दिन विद्यालयमा भएको घटनाहरू बुझ्ने गर्नुहोस।
• उनीहरूलाई समस्याहरू लुकाउनु हुँदैन भन्ने सन्देश दिनुहोस र हरेक संवादमा संलग्न गराउनुहोस।
उदाहरण:
• एकजना अभिभावकले आफ्नो छोरीसँग प्रत्येक दिन विद्यालयबाट आएपछि १५ मिनेट समय बिताउँछिन् र सोध्छिन्: “आज विद्यालयमा के भयो? के के कुराहरू सिक्नुभयो?” यसले बच्चालाई आफ्ना अनुभवहरू खुला रूपमा बाँड्ने अवसर प्रदान गर्दछ र तपाईँले हरेक कुरा बुझ्ने अवसर मिल्दछ।
• यदि बच्चा असामान्य रूपमा दुःखी देखिन्छ भने, अभिभावकले उनलाई सहज रूपमा कुराकानी गर्न प्रेरित गर्नुपर्दछ।
३. विद्यालयको नीतिहरू बुझ्ने र पालना गराउने
➡ समाधान:
• विद्यालयमा anti-bullying नीति छ कि छैन भन्ने कुरा अभिभावकले अनिवार्य बुझ्नुपर्छ र नीतिबारे जानकारी राख्नुपर्छ।
• यदि कुनै घटना घट्यो भयो भने, शिक्षक वा प्रधानाध्यापकसँग अभिभावकले छलफल गर्ने वातावरण निर्माण गरी अबिलम्ब सहभागिता जनाउनु पर्दछ।
उदाहरण:
• विद्यालयमा एक छात्रलाई साइबरबुलिङ भयो भने, उसको अभिभावकले विद्यालय प्रशासनलाई जानकारी गराएर दोषीलाई सचेत गराउन अनुरोध गर्नुपर्छ र निरन्तर समस्याको समाधान नहुदासम्म सम्पर्कमा रहनु अनिवार्य हुन्छ।
• केहि विद्यालयले “नो बुलिङ जोन” नामक अभियान चलाएका हुन्छन, जहाँ विद्यार्थीहरूले bullying गर्नेलाई विद्यार्थीहरूका बारेमा रिपोर्ट गर्न सक्छन्। यसले समयमा समस्यको सम्बोधन गर्न सहयोग पुर्याउदछ।
४. सुरक्षित अनलाइन व्यवहार सिकाउने
➡ समाधान:
• बच्चाहरूलाई सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे जानकारी दिनु अभिभावकको महत्वपूर्ण भूमिका हुन्छ।
• अज्ञात व्यक्तिसँग च्याट नगर्न, व्यक्तिगत जानकारी नबाँड्न सल्लाह सुझाव दिनुपर्दछ। यसले व्यक्तिगत विवरण सुरक्षित राख्न मद्दत गर्छ।
उदाहरण:
• एक छात्राले सामाजिक सञ्जालमा अशिष्ट टिप्पणी पाएपछि, उसले तुरुन्तै आफ्ना अभिभावकलाई जानकारी दियो र विद्यालयको सम्बन्धित निकायलाई दोषीलाई करवाही गर्न रिपोर्ट गर्यो।
• साइबरबुलिङको सामना गर्न, बच्चालाई ब्लक (block) र रिपोर्ट (report) गर्ने तरिका बारे सिकाउनु पर्दछ। यसले अशिष्ट र अश्लील टिप्पणीबाट टाढा राख्न सहयोग गर्छ।
५. साथीहरू र सामाजिक सम्बन्धलाई मजबुत बनाउने
➡ समाधान:
• असल साथी बनाउने र त्यसको महत्व बारे अभिभावकले सिकाउनु अनिवार्य हुन्छ।
• समूहमा रहेर विद्यालय जाने र आउने वातावरण सिर्जना गर्नु गराउनु महत्वपूर्ण मानिन्छ।
उदाहरण:
• एकजना छात्रलाई एक्लै हुँदा bullying गरिन्थ्यो, तर जब उसले साथीहरूसँग समूह बनाएर हिँड्न थाल्यो, उसमाथि हुने दुर्व्यवहार विस्तारै घट्दै गयो। यसले उसलाई सुरक्षाको अनुभूत गराउदै आत्मविश्वास बढाउन मद्दत गर्यो।
• विद्यालयमा क्लब वा खेलकुद कार्यक्रममा सहभागी हुन प्रेरित गर्नु, जसले सामाजिक सञ्जाल मजबुत बनाउँन भूमिका खेल्छ।
६. बुलिङ गर्नेहरूलाई चिन्न सिकाउनुहोस र रोक्ने उपायहरू छलफल गर्नुहोस।
➡ समाधान:
• बच्चालाई bullying गर्ने व्यक्तिहरूको विशेषता कस्तो हुन्छ नानीहरू संग छलफल गरी चिन्न सिकाउनुहोस।
• उनीहरूलाई कसरी रोक्ने र सहायता खोज्न कुन ठाउँब वा निकायमा जानुपर्छ भन्ने सिकाउनुहोस।
उदाहरण:
• यदि कसैले लगातार जिस्क्याइरहेको छ भने, बच्चाले स्पष्ट रूपमा भन्न सक्नुपर्छ: “तिमीले यो गर्दा मलाई राम्रो लाग्दैन, कृपया तिमीले यो व्यवहार रोक्नु उत्तम हुन्छ।
• यदि बच्चाले देखे कि अरू कसैले बुलिङ वा दुर्व्यवहार भोगिरहेको छ भने, उसलाई सहयोग गर्न वा शिक्षकलाई जानकारी दिन सकेसम्म प्रोत्साहन गर्नुपर्छ।
७. विद्यालय प्रशासन र शिक्षकसँग निरन्तर सहकार्य गर्ने
➡ समाधान:
• विद्यालयमा bullying वा दुर्व्यवहार रोक्ने कार्यक्रमहरूमा अभिभावकको संलग्नता बढाउनु पर्दछ।
• शिक्षक र अभिभावकबीच राम्रो समन्वय राख्ने र समय अनुकूल प्रत्यक्ष भेटघाटको कार्यक्रम राखी नानीहरूको प्रगतिबारे बुझ्नु पर्दछ।
उदाहरण:
• विद्यालयमा “बुलिङ रिपोर्टिङ सिस्टम” बनाउने, जहाँ विद्यार्थीहरूले आफ्नो समस्या गुप्त रूपमा जानकारी गराउन सक्छन्।
• शिक्षकहरूले हरेक कक्षामा “मित्रता दिवस” मनाउने, जसले विद्यार्थीहरूलाई एकअर्कासँग सकारात्मक सम्बन्ध बनाउने प्रेरणा दिन्छ। यसले नानीहरूलाई सही साथीहरूको छनौटमा समेत मद्दत पुग्दछ।
८. आवश्यक परेमा परामर्शदाता वा मनोवैज्ञानिकको सहयोग लिने
➡ समाधान:
• यदि बच्चा लगातार दुःखी, डराएको, वा विद्यालय जान नचाहने देखिए, घरमा सधै भन्दा फरक व्यवहार गर्दछ भने परामर्शदाता वा मनोवैज्ञानिकको सहयोग लिनु पर्दछ।
उदाहरण:
• एउटा छात्रलाई बारम्बार अपमान गरिँदा, दुर्व्यवहार भइरहँदा विद्यालय जान मान्दैनथ्यो। अभिभावकले परामर्शदातासँग भेटेपछि, उसले आत्मविश्वास पुन: प्राप्त गर्यो र आफूलाई सहज महसुस गरेको अनुभूत गर्यो।
• कतिपय विद्यालयले मानसिक स्वास्थ्य तथा मनोवैज्ञानिक सहायता प्रदान गर्ने कार्यक्रम राखेका हुन्छन्, यस्ता कार्यक्रमहरूमा आफ्ना नानीहरू सहभागी हुन सक्छन्। यसका लागि प्रोत्साहन गर्नुपर्छ।
निष्कर्ष:
बुलिङ वा दुर्व्यवहार रोक्नका लागि आत्मविश्वास, सञ्चार, सामाजिक सम्बन्ध, र विद्यालय प्रशासनसँग समन्वय गर्नु आवश्यक छ। यदि बच्चाहरूलाई सही मार्गदर्शन र समर्थन दिइयो भने, उनीहरू सुरक्षित वातावरणमा शिक्षालाभ गर्न सक्दछन्। साथै घर परिवारमा आफ्ना नानीहरूलाई साथी जस्तो व्यवहार गर्नुपर्छ र हरेक निर्णयहरूको संवादमा संलग्न गराउनु पर्दछ। यसले आगामी दिनहरू आउन सक्ने सम्भावित अप्ठ्याराहरूलाई सहि दिशामा निर्णय गर्न सक्ने क्षमताको विकास गर्दछ।

लेखकः हरि उप्रेति