अर्जुन प्रधान – नेपाली चलचित्र जगतका चर्चित अभिनेता राजवल्लभ कोइरालाको पहिलो कवितासङ्ग्रह ‘औरा’ भव्य रूपमा विमोचन गरिएको छ।
कवि विप्लव प्रतीकले ‘औरा’ को उत्कृष्ट डिजाइनको प्रशंसा गर्दै कविताहरूको गहिराइ दर्शाउने सुझाव दिनुभयो। उहाँले भन्नुभयो, “कविता फररर… पढेर हुँदैन। एक दिनमा एउटा कविता मात्रै पढे मात्र त्यसको वास्तविक अनुभूति गर्न सकिन्छ।” साथै, उनले अभिनेता कोइरालालाई आगामी दिनमा अझ जिम्मेवार भएर अर्को कविता सङ्ग्रह प्रकाशन गर्न सुझाव दिनुभयो।
कलाकार तथा निर्देशक दीपाश्री निरौलाले कलाकारका लागि हौसला र आँटको महत्त्वपूर्ण हुने बताउँदै राजवल्लभ कोइरालालाई प्रेरित गर्ने कवि विप्लव प्रतीक र लेखक अश्विनी कोइरालालाई धन्यवाद दिनुभयो।
पत्रकार दिलभूषण पाठकले ‘कविता केवल भावना मात्र नभई समय पनि हो’ भन्दै कविताहरूले समाजको यथार्थ चित्रण गर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा अभिनेता कोइरालाले आफ्नो सिर्जनाहरूको संरक्षण गर्ने उद्देश्यले कविताहरू पुस्तकका रूपमा प्रकाशित गरेको खुलासा गर्नुभयो। “कलाकार र कवि दुवै भावुक हुन्छन्। म पनि दुवै भूमिकामा छु। फेसबुकमा आफ्ना कविता पोस्ट गर्थें, तर कतिपय कविता स्रोत नखुलाइ पुनः शेयर गरिन्थे। त्यही भएर, सिर्जनाहरूलाई सुरक्षित गर्न पुस्तकका रूपमा ल्याएको हुँ,” उहाँले भन्नुभयो।
कार्यक्रमको स्वागत मन्तव्य आइसफल प्रोडक्सनका निर्देशक आरके पोखरेलले राख्नुभएको थियो भने कवि विप्लव प्रतीक, पत्रकार दिलभूषण पाठक, निर्देशक दीपाश्री निरौला, रसिक राजलगायतले संग्रहभित्रका विभिन्न कविताहरू वाचन गर्नुभएको थियो।
कार्यक्रमको अध्यक्षता साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले गर्नुभएको थियो। उहाँले अभिनेता कोइरालाको कवित्व क्षमतासँग आफू पहिलेदेखि परिचित रहेको बताउँदै ‘औरा’ लाई साहित्यपोस्टकै प्रकाशनमार्फत ल्याउन पाएकोमा खुशी व्यक्त गर्नुभयो।
‘औरा’ शब्द मिडिया प्रा.लि. (साहित्यपोस्ट) द्वारा प्रकाशित गरिएको हो।
विमोचन कार्यक्रममा अभिनेता राजवल्लभ कोइराला सहित कवि विप्लव प्रतीक, लेखक तथा पत्रकार अश्विनी कोइराला, पत्रकार दिलभूषण पाठक र कलाकार तथा निर्देशक दीपाश्री निरौलाले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभयो।
‘पर्खी बसे’ चलचित्रबाट चर्चामा आएका कोइरालाको कविता सङ्ग्रहको विमोचन काठमाडौंस्थित रेडिसन होटलमा एक विशेष समारोहका बीच सम्पन्न भयो।