अर्जुन प्रधान
१ फेब्रुअरी २०२५, वाशिङटन डिसी
नेपाली साहित्यकी सुप्रसिद्ध कवयित्री सीता पाण्डेको एकल कविता वाचन कार्यक्रम अमेरिकाको वाशिङटन डिसीस्थित थोमस जेफर्सन पुस्तकालयको सभाकक्षमा भव्य रूपमा सम्पन्न भयो।
कार्यक्रममा साहित्यकार पाण्डेले आफ्ना नयाँ तथा पुराना गरी एक दर्जनभन्दा बढी उत्कृष्ट कविताहरू वाचन गरिन्। उनका भावनात्मक कविताहरूले उपस्थित श्रोताहरूलाई मन्त्रमुग्ध तुल्याए। कार्यक्रममा कविहरू सुभाष उप्रेती, जगन्नाथ पौडेल, सहदेव पौडेल तथा पुष्पा खनालले पनि आफ्ना कविता वाचन गर्दै साहित्यिक माहोललाई थप जीवन्त बनाए।
आयोजक संस्था अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष गोविन्द गिरी ‘प्रेरणा’ले अतिथिहरूलाई स्वागत गर्दै प्रतिष्ठानले पहिलो पटक एकल कविता वाचन कार्यक्रमको आयोजना गरेको जानकारी गराए। साथै, उनले आगामी दिनहरूमा पनि यस्ता साहित्यिक शृङ्खलालाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।
सन् २०१४ मा स्थापित प्रतिष्ठानले वासुशशी जयन्ती, हरिभक्त कटुवाल जयन्ती, तारानाथ शर्मा स्मृति सभा तथा पुस्तक चर्चा कार्यक्रमहरू आयोजना गर्दै आएको उल्लेख गर्दै, नेपालस्थित अमेरिकी दूतावाससँगको सहकार्यमा अमेरिकी कवि वाल्ट ह्विटम्यान समर्पित कवि गोष्ठीको आयोजना गरिसकेको जानकारी गराए।
कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावासका कार्यवाहक राजदूत शरदराज आरणले यस्ता साहित्यिक गतिविधिहरूले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न योगदान पुग्ने बताए। साथै, उनले नेपाल र अमेरिकाबीचको सांस्कृतिक सम्बन्धलाई सशक्त बनाउन यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण हुने विचार व्यक्त गरे।
साहित्यकार सीता पाण्डेको परिचय तथा उनको साहित्यिक योगदानबारे वसन्त श्रेष्ठले प्रकाश पारे। कार्यक्रममा साहित्यकार होमनाथ सुवेदीले पाण्डेका कविताको समीक्षा गर्दै उनलाई समकालीन नेपाली साहित्यमा महत्त्वपूर्ण स्थान रखने कवयित्रीका रूपमा उल्लेख गरे।
साहित्यकार सीता पाण्डेलाई प्रमुख अतिथि आरणको हातबाट सम्मान पत्र प्रदान गर्दै उनको योगदानको उच्च मूल्याङ्कन गरिएको थियो।
कार्यक्रम सञ्चालन कवयित्री तारा पराजुलीले गरिन्, जसले आफ्नो कुशल संयोजनद्वारा साहित्यिक माहोललाई आकर्षक बनाइन्।
कार्यक्रममा नेपाली समुदायका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता साहित्यिक कार्यक्रमहरूले नेपाली भाषा, साहित्य, र संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।