भुटानी शरणार्थी मुद्दा समाधानका लागी सर्वदलीय समिति चयन

0
146

अर्जुन प्रधान
अमेरिका,

मानवअधिकार सञ्जाल झापाले भुटानी शरणार्थी समस्याको दीगो समाधानका लागि सरोकारवाला निकायहरुलाई झकझक्याएको छ । भुटानी शरणार्थी समस्याको दीगो समाधानको उपायका सम्बन्धमा सञ्जालले शुक्रवार बिर्तामोडमा सम्बन्थित सरोकारवाला निकायहरुको भेला गराएको थियो ।

उक्त भेलामा शरणार्थी समस्या समाधानका लागि पहल गर्नका निमित्त सर्वदलीय समिति निर्माण भएको छ । मानवअधिकार संजालका अध्यक्ष डा. रुपक प्रसाद खनाल संयोजक रहेको उक्त समितिमा मानव अधिकारकर्मी विष्णु खरेल, शरणार्थी सम्बन्धी विज्ञ गोविन्द कोइराला, भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेल, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, बेलडाँगी शिविरका सचीव सन्चहाङ सुब्बा र पथरी शनिश्चरे शिविरका सचीव करण राई सदस्य रहेका छन् । समितिलाई विस्तार गर्दै लैजाने संयोजक डा. खनालले जानकारी गराएका छन् ।

भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलले पछिल्लो समयमा भुटानी शरणार्थीहरुको मुद्दा कमजोर भएको र नक्कली भुटानी शरणार्थीको मुद्दाले चर्चा पाएको छ तर वास्तविक भुटानी शरणार्थीको पीडाको विषयमा बेवास्ता हुन थालेको उहाँको भनाई रहेको छ । 

वार्ताका लागि भुटान, नेपाल, भारत, शरणार्थी प्रतिनिधि र विश्वका मान्यता प्राप्त शरणार्थी संस्था यु.एन्.एच्.सी.आर. लगायत संयुक्त राष्ट्र सङ्घ सम्मिलित संस्थाहरूको उपस्थितिमा बहुपक्षीय वार्ता एवम् छलफलले मात्र समाधान निश्चित छ भन्ने हाम्रो विश्वास रहेको पौड्यालको भनाइ रहेको छ ।

समुदाय तथा मानवअधिकारको क्षेत्रबाट शरणार्थीका मुद्दालाई सहजीकरण गर्नका लागि भएको प्रयासले सार्थकता पाउने विश्वास रहेको उहाँले जनाउनुभयो । अहिले पनि शिविरमा ६ हजार ३ सयभन्दा बढी शरणार्थी  छन् । एक लाख १३ हजार ५६७ जना विभिन्न मुलुकमा पुनर्वास भएका छन् ।

शरणार्थी शिविरमा बसोबास गर्दै आएका भुटानीहरुको शरणार्थी परिचयपत्र नवीकरण नहुँदा, शरणार्थीहरुलाई सहयोग गर्दै आएका दातृ निकायहरुले सहयोग गर्न छाड्दा अहिले शिविरमा धेरै नै समस्या भएको बेलडाँगी शरणार्थी बस्तीका सचीव सन्चहाङ सुब्बाले बताउनुभयो छ । विभिन्न कारणबाट नाम दर्ता गर्न छुट भएका शरणार्थीहरुको दर्ता प्रक्रिया नै हुन सकिरहेको छैन । थप जानकारी दिदै पुनःस्थापनाका लागि तेस्रो देश जान चाहेर पनि विभिन्न कारणबाट अयोग्य ठहराइएकाहरू र प्रक्रिया सुरु नगरेका लागि पनि पारिवारिक पुनर्मिलनको आवश्यकता रहेकाले परिवारसँग विछोडिएकाहरूलाई पुनर्मिलनका लागि उचित वातावरण बनाउन नागरिक समाजको सहयोग रहने अपेक्षा रहेको सुब्बाले बताउनुभएको छ । 

भुटानी शरणार्थी समस्याको दीगो समाधानको उपाय विषयक छलफलका सहभागीहरुले शरणार्थीहरुको समस्याप्रति नजर अन्दाज गर्न नमिल्ने भन्दै यसको दिर्घकालीन समाधान खोजिनु पर्नेमा जोड दिएका छन् । तेस्रो देशमा पुनस्र्थापनापश्चात् झापाको बेलडाँगी र मोरङको शनिश्चरे पथरीमा बाँकी रहेका शरणार्थीहरुलाई उचित ढङ्गबाट ब्यवस्थापन गरी भुटानी शरणार्थीहरुको दिर्घकालीन समाधान खोजिनु पर्ने सहभागीहरुले बताएका थिए ।

सन् २०१९ देखि हालसम्म शरणार्थी शिविरमा बिभिन्न कारणबाट तेस्रो मुलुक जानबाट बञ्चित रहेका भुटानी शरणार्थीहरुको वर्तमान अवस्था अति नै दयनीय छ । उनीहरुलाई कसैले पनि संरक्षण गरेका छैनन् । बिगत लामो समयदेखि शरणार्थी शिविरमा बसोबास गर्दै आएका भुटानीहरुको शरणार्थी परिचयपत्र पनि नवीकरण हुन सकेको छैन भने बिभिन्न कारणबाट नाम दर्ता गर्न छुटेका शरणार्थीहरुको दर्ता प्रक्रिया नै हुन सकिरहेको छैन ।

कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी, जिल्ला सचिव कृष्ण हुमागाँई, एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष वेदराज रेग्मी, इन्हुरेड इन्टरनेशनलका डा. गोपालकृष्ण शिवाकोटी, नेपाल मानवअधिकार प्रतिष्ठानका पूर्व महासचिव के. पी. सुवेदी, शरणार्थीसम्बन्धी विज्ञ गोविन्द कोइराला ,मानव अधिकारवादी तथा शरणार्थीसम्बन्धी विज्ञ डा। डीएनएस ढकाल , शरणार्थी समन्वय इकाइका प्रमुख तथा झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने, भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेल, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, लुथरन विश्व फेडरेसनका यज्ञमूर्ति गौतम, दमक ३ का वडाध्यक्ष नवीन बराल, भुटनीज रिसर्च एण्ड इन्फरमेसन नेटवर्कका अध्यक्ष विश्वनाथ क्षेत्री, शरणार्थी महिला प्रतिनिधि रिन्जिन डेमालगायतले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष डा. खनाल र बेलडाँगी शिविरका सचिव सुब्बाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here