काठमाडौँ- घरेलु टोली केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज नेपालले जितेको छ ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको पाँचौं तथा अन्तिम खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज ३-२ ले आफ्नो पक्षमा पारेको हो ।
नेपालले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको केन्याले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन मात्र बनाउन सक्यो ।
केन्याका लागि नेहेम्याह ओधियाम्बोले सर्वाधिक ३७ रन बनाए । इरफान करिमले २८ रन जोड्दा कोलिन्स ओबुयाले २३ रन बनाए । कप्तान शेम एन्गोचेले अविजित ३३ रन जोड्दा नेल्सन ओधियाम्बो १३ रनमा अविजित रहे ।
नेपालका सन्दीप लामिछाने र वसिर अहमदले २/२ विकेट लिए । करण केसी, आदील आलम र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।
नेपालका लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ५९ रनको अर्धशतकीय इनिङ खेले । यस्तै रोहित पौडेलले ४७ रन बनाए । अर्जुन साउद २९ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरी २२ रनमा आउट भए ।