पाँच हजार वर्ष अघि एउटा महाभारत युद्ध चलेको थियो । त्यसले आफ्नो समयका ज्ञान – विज्ञान,सभ्यता ,संस्कृति ,मानवीय विवेक र समवेदना आदि धेरै कुराको संहार गरेको थियो । त्यही युद्धको दुर्दान्त कथालाई वेदव्यासले अठार पर्वको विशाल गन्थ्रको रुपमा प्रस्तुत गरका थिए । सिंगो दक्षिण एसियालाई थिलो थिलो पारी द्वापर युगलाई समाप्त पारेको र त्यसका मूलनायक कृष्णको समेत अवशान गराएको त्यो भीषण गाथा अहिले सम्म पनि विश्वले आश्चर्यचकित भएर पढिरहेकोछ ।
एक पत्नीका पाँच लोग्ने भएका र जुवामा निर्लज्ज भएर पत्नीलाई नै च्याँखे थाप्ने जुवाडेहरुलाई महा युद्धमा उराल्ने कृष्ण अन्त्यमा आफै एक व्याधाको शिकार भएका थिए । त्यसपछि आएको थियो–चार युगमध्ये ‘सवभन्दा खतरनाक’ मानिने घोर कलियुग । उस बेलाको नरसंहारकारी भीषण महाभारतको कथा सुन्दा अहिले पनि मानिसको हृदय खिन्न र विदीर्ण हुन्छ ।
यस युगमा स्वाधीन सिक्किम राज्यका जनताकै अगाडि उनीहरुकी मातृभूमिको निर्ममतासाथ चीरहरण भएको छ र सदाका लागि पूरै अस्तित्व नै लुटिएको छ ।
अर्कातिर भूटान भूमिको निर्माणमा पूर्ण रुपमा सहयोद्धा भएर अनेक पुस्ता त्यसकै विकासमा समर्पित भएका र आफ्नो नेपाली भाषा संस्कृति सहित बाँच्न चाहेका नेपाली मूलका जनतालाई आफ्नो भाषा र संस्कृति त्यागे मात्र भूटानमा बस्न पाउने हुकुम जारी गरे निरंकुश भूटानी राजाले । त्यो घोर मानवताविरोधी र अन्तर्राष्ट्रिय नियमको विपरीत कुरा थियो । स्वाभिमानी नेपाली संस्कारले त्यो अत्याचारी हुकुमको अवज्ञा गर्यो । तर भारतीय स्वार्थको इसारामा भूटानी हुकुमबाट नेपाली मूलका भूटानी जनता निर्ममतासाथ त्यहाँबाट लखेटिए र नेपालकै शरणार्थी शिविरहरुमा बस्न विवश बनाइए ।
उनीहरु आफ्नै देशमा फेरि फर्कन नपाउन्–नसकुन् भनेर तिनलाई अनेक षड्यन्त्रद्वारा समुद्रपारिका देशहरुमा निर्वासित हुन वाध्य तुल्याइयो ।
द्वापर युगको अन्त्य गरी कलियुग निम्त्याउने त्यस भीषण महाभारतयुद्धको पाँच हजार वर्ष पछि हिमाली भूमिका यी दुई महाभारत आफ्नै आँखाले देखेका नेपाल आमाका प्रतिभाशाली पुत्र खेमनाथ दाहाल भित्र विराट स्वाभिमान सगरमाथा जस्तै जुरुक्क उठ्यो । त्यस स्वभिमानी कवित्वलाई नेपाल आमाले आन्तरिक रुपमा उत्प्ररित गरिन् ।
अनि उच्च स्वाभिमानकासाथ उनको त्रिकालदर्शी कलमले मङ्गलाचरणको रुपमा लेख्यो –
मशाल जव सल्कन्छ झण्डा बोकेर स्वत्वको
कदापि रोक्न सक्तैन शक्तिले पनि दैवको ।
उनले नेपाली सन्ततिको स्वभिमान गिराउन गरिएका दुई विराट षड्यन्त्रको जीवन्त इतिवृत्त वर्तमान विश्वलाई र भावी इतिहासलाई अवगत गराउन आफ्नो जागरुक स्वभिमानी कलम उठाएर ‘श्वेतपत्र’महाकाव्य रची जनतासामु प्रस्तुत भए ।
यस ‘श्वेतपत्र’मा एक हैन अनेक महाभारत उद्घाटित भएका छन् ।
इतिहासका हजारौं तथ्यले देखाएका छन् –आफूलाई राजा , महाराजा र सम्राट्को सत्ता र शक्तिको रुपमा अपराजेय ठानेर अरु राष्ट्र र राज्यहरुलाई कुल्चन र आफ्नो अधीन पार्न लालयित हुनेहरुलाई समय र जनचेतनाको बाढीले बगाएर नामेट पारिदिएको छ । तर मदान्ध सत्तापिपासुहरु –चाहे राजा अथवा सम्राट् होउन् या लोकतन्त्र र गणतन्त्रको मकुन्डो भिरेका कथित राष्ट्रनायकहरु , विश्व इतिहासका असंख्य क्रान्ति र परिवर्तनका घटनाहरुबाट शिक्षा लिन नसक्दा अन्ततः अस्तित्व विहीन हुन पुगेका छन् ।
‘श्वेतपत्र’ महाकाव्य तीन हिमाली राष्ट्र–नेपाल,सिक्किम र भूटानको विगत, वर्तमान र भावी संभावनाका विषयहरुमा केन्द्रित भई सिर्जिएको छ । कविले यी तीन राष्ट्रलाई तीन दिदी– बहिनीको रुपमा प्रस्तुत गरेका छन् । जेठी –नेपाल, माइली –सिक्किम र कान्छी भुटान । यी तीन बहिनीहरुको पहिले एउटै रुप थियो , त्यसको शानदार नाम थियो ‘हिमवत्खण्ड’। त्यसको भव्य र विराट स्वरुपको वर्णन स्कन्द पुराणले प्रस्तुत गरेको छ ।
विदेशी आक्रमकहरुले पटक पटक भारतवर्षमाथि आक्रमण गरे । तिनीहरुले शताब्दियौंँसम्म त्यहाँ शासन चलाईजनताका धार्मिक,सांस्कृतिक र राष्ट्रिय आस्थाहरुलाई अस्तव्यस्त पारे वैदिक धर्म मान्ने मानिसका जनै टुप्पी काटी साढे चौहत्तर गाडा भरेर अरबका धर्मनेतालाई बुझाए । त्यहाँ इस्लामको झण्डा गाडेर लामो समय सत्ता पनि चलाए । त्यस पछि गाई पूजक भारतलाई गोभक्षक बेलायतीहरुले आफ्नै अंग्रेजी सांचोमा ढाल्दै गए । तर ती भारत विजयी शक्तिले पनि हिमवत्खण्डको नेपाललाई पराधीन गर्न सकेनन् । नेपाल, सिक्किम र भूटान यी तीन दिदी बहिनी आफ्नो स्वतन्त्र, स्वाधीन , सांस्कृतिक वर्चस्व बचाएर बाच्न सफल भए ।
चीन र भारत जस्ता विशाल देशको बीचमा हिमाली उच्च शिखरका मुकुट पहिरेर आफ्नो स्वतन्त्र स्वाभिमान बचाएका तीन राष्ट्र थिए । तिनलाई विसौं शताब्दीको अन्तर्राष्ट्रिय स्वाधीनताको युगमा फुटाएर –टुटाएर,जनतालाई लखेटेर राष्ट्र–राष्ट्रियता र जनतालाई अस्तव्यस्त पार्ने अभियानमा शताब्दियौँको पराधीनताबाट व्यूँझेको भारत नै अगाडि सर्यो । उसले बडो नाटकीय ढंगले स्वतन्त्र सिक्किमलाई आफ्नो जालमा फसायो । ठूला माछाले साना माछा खाने ‘ह्वेल नीति’बारे उत्तरको विराट राष्ट्र चीनले पनि आफ्नै देशको तिब्बत प्रकरणको कारणले मौनता साध्यो । सिक्किमेहरुको नेपाली स्वभिमान खोसियो । भूटान आवाद गर्ने नेपालीहरुलाई दक्षिणको आड लिएर त्यहाँको निरंकुश राजतन्त्रले आफ्नो देशमा बस्नै नसक्ने भीषण स्थितिमा पुर्यायो । अहिले नेपाललाई पनि जातीय या क्षेत्रीय रुपमा विभाजित गरी विखण्डनको दिशातिर लैजाने विभिन्न प्रपञ्च चलिरहेको आभास मिल्दैछ ।
जागरुक, स्वाभिमानी, देशभक्त स्रष्टा खेमनाथ दाहालको ‘श्वेतपत्र’महाकाव्यमा यिनै हिमाली तीन देशको जीवन यात्रामा खतराका घन्टी बजिरहेका भयानक षड्यन्त्रकारी दृश्यहरु देख्न सक्तछौँ ।
सिक्किमे जनता मातृभूमिसंग सोद्धैछन् –
भन आमा अवश्यैव हामी हौँ कसका सुत ?
सवका सामुमा हामी बन्दछौं किन आजित ?
तिमी हौ जननी हाम्री तथापि होइनौ अरे
कसका जालले हामी पराधीन भयौँ अरे !
(सर्ग ८ । ८)
वि.सं. २०६७ मा छापिएको महाकाव्य हो यो । त्यसबेलासम्म सिक्किमको घटना अलि पुरानो भैसकेको थियो । सिक्किमे जनता स्वधीनता गुमाएर भारतमा गाभिए पनि आआफ्नै बासस्थानमा बस्न पाएका छन्, बाहिर लखेटिएका छैनन् । राष्ट्रको स्वाधीनता गुम्दा मुटुको घाउ नचस्कने त कुरै भएन । तर सिक्किमवासी जनताका अत्यन्त प्रिय विद्वान बुद्धिजीवि नेता राज्यसत्ताको शिखरमा पुगेकाले उनीहरु मुटु रोए पनि आँसु देखाएर पराधीनताको हीनता उदांगो पार्न चाहिरहेका छैनन् ।
भूटानबासी नेपाली मूलका जनताले त्यस राष्ट्रको भूमि आवाद गर्न धेरै रगत– पसिना बगाएका थिए । उनीहरु आफ्नो त्यस पुख्र्यौली भूमिमा सवै जातजाति मिलेर, आफ्नो भाषा,भेष, सांस्कृतिक र धार्मिक आस्था बचाएर बस्दै आएका थिए ।
एक्कइसौं शताब्दीको उदय हुने बेलामा पनि आफ्नो सांस्कृतिक र धार्मिक आस्था गुमाउन पर्ने षड्यन्त्रलाई लत्याउदै उनीहरु आफ्नै देश भूटानबाट विशााल संख्यामा नेपाली भूमिमा शरणार्थी बन्दै उनीहरु नेपालमा अनेकवर्षसंम शरणार्थी शिविरमा बसी आफ्नो सांस्कृतिक स्वभिमानसहित भूटान फर्कन खोजिरहे । तर भारतले पनि त्यसमा तगारो हाल्यो । अन्ततः उनीहरुलाई समुद्रपारिका मुलुकहरुमा शरणार्थीकै रुपमा विस्थापित गर्ने षड्यन्त्रको सञ्जाल बुनियो । स्वभिमानी नेपालीहरु आफैले आवाद गरेको भूटानी मातृभूमिमा बस्नै नपाउने कस्तो जघन्य षड्यन्त्रकारी अपराध भयो ।
विर्सौं र एक्काइसौँ शताब्दीको स्वाधीनमानवता र अन्तरिक्ष अभियानको युगमा देखापरेका लज्जाजनक ऐतिहासिक अपराध हुन् यी । संकीर्ण जातिवादी भूटानले त यो अपराध गर्यो गर्यो , गान्धीको स्वाधीन भारत समेत आफ्नो संकीर्ण स्वार्थ विस्तारको लागि यस्तो निकृष्ट व्यवहारमा खुलेआम उत्र्यो । भारतले आफू बेलायती उपनिवेशबाट ठूलो संघर्षद्वारा उम्केको कुरा कसरी बिस्र्यो ।
यही वर्तमानयुगको जघन्य राष्ट्रिय र मानवीय पीडाको कथावस्तुमा व्यापक विश्लेषण सहितको ‘श्वेतपत्र’महाकाव्य प्रस्तुत गर्ने ऐतिहासिक साहस र दायित्व प्रस्तुत गरेका छन् निर्भीक कवि खेमनाथ दाहालले । भूटानी जनताका गहन पीडा यसरी व्यक्त गरिएका छन् काव्यमा –
च्यातिए धर्मका हाम्रा पौराणीक धरोहर
भत्के मन्दिर पूजाका पूरा गर्न मनोरथ ……..
….मातृभाषाहरु आफ्ना त्यागी जोङ्खा चलाउने
आफ्नो पोसाक छोडेर बख्खु बस्त्र लगाउने ,
कस्तो कानुन यो उल्टो अहो देश भुटानमा
जाति धर्म र भाषाको रक्षा हुन्छ विदेशमा ।
रोकिए हिन्दुका पूजा नित्यकर्महरु सवै
चाडबाडहरु मान्न छाड्नुपर्ने भए सधँै ।
आजको अन्तरिक्ष प्रवेशको युगमा पनि एउटा राष्ट्रका शासक नेताहरु यतिसम्म संकीर्ण र क्रूर बन्नसक्ता रहेछन् , कस्तो आश्चर्य !
सिक्किमको अचानक भारतमा विलय र आधा जनता लखेट्ने भूटानका यस युगका दृश्यले संयुक्त राष्ट्रसंघका आँखा किन खुलाएनन् ?
नेपाल भित्र सयौँ जाति जनजातिका जनताहरु संगसंगै मिलेर लोकतान्त्रिक समाजवादको स्वर्णीम बाटोतिर अग्रसर हुने आकांक्षामा छन् । तर यहाँ पनि जातिवाद र क्षेत्रवाद व्यूंझाएर जनताको मित्रता र राष्ट्रिय एकता भाँड्ने षड्यन्त्रहरु चल्दैछन् । कवि खेमनाथ दाहालले विश्वका स्वाधीनसंघर्षका विविध सन्दर्भ शृंखला जोड्दै मूल विषयवस्तुतिर देश र विदेशको ध्यान आकर्षित गर्न प्रस्तुत गरेको यस महाकाव्यले नेपाली जनताको चेतना विस्तारमा ठूलो सहयोग पुर्याउने कुरामा कुनै शंका छैन । धेरै बधाई जागरणका अग्रदूत कवि दाहाललाई !
सिर्जना सदन, वाणस्थली, काठमाडौ ।
वि. सं. २०७१ । ५ । २६