काठमाडौँ – मनसुन सुरू भएको एक महिनामा बाढीपहिरो, चट्याङ लगायतका विपद्का घटनामा १०८ जनाको मृत्यु भएको छ ।
गएको जुन १२ अर्थात जेठ ३० गते पूर्वबाट नेपाल प्रवेश गरेको मनसुन लगातार सक्रिय रहँदा देशभर बाढी, पहिरो र चट्याङले मात्रै ९५ जनाको मृत्यु भएको छ ।
यस बाहेक १० जनाको सर्पले डसेर मृत्यु भएको छ भने ३ जनाको आगोले जलेर मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सबैभन्दा धेरै पहिरोका कारण देशभर पछिल्लो एक महिनामा ७६ जनाको मृत्यु भएको छ । त्यसमध्ये ३९ जनाको यसै साता गएका पहिरोमा मृत्यु भएको हो ।
यस्तै चट्याङ लागेर १७ जनाको मृत्यु भएको भने बाढीले बगाउँदा २ जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार एक महिनाभित्र पहिरोले देशभर २२९ परिवार प्रभावित भएका छन् भने बाढीले ८२ परिवार प्रभावित भएका छन् ।