झापामा बाढीले १० परिवार विस्थापित, १३ सय १० परिवार जोखिममा

0
725

झापा –  झापामा बाढीले १० परिवार विस्थापित भएका छन् भने १ हजार ३१० परिवार बाढीको जोखिममा परेका छन् ।

कनकाई नदीमा आएको बाढीका कारण शिवसताक्षी–१० सुकुम्बासी बस्तीका चार परिवार र गौरीगञ्ज–१ को एक परिवार विस्थापित भएका छन् ।

त्यस्तै, शिवसताक्षी–१० का १५ परिवार र गौरीगञ्ज–१ का १२ गरी २७ परिवार उच्च जोखिममा रहेको रेडक्रस झापाले जनाएको छ । कनकाई नदीमा आएको बाढीका कारण चार घर पूर्णरूपमा क्षति भएको छ ।

बाढीका कारण शिवसताक्षी–१० का प्रेमप्रसाद उप्रेती, तारा लिम्बू, हरिमाया ऋषिदेव र लालु मुसरको परिवार पूर्णरूपमा विस्थापित बनेको हो । विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेर दुई–दुई थान त्रिपाल र राहत सामग्री वितरण गरिएको छ ।

असार १४ गते शिवसताक्षी–१० को सुकुम्बासी बस्तीमै कनकाई नदीको बाढीका कारण पाँच परिवार विस्थापित भएका थिए । विस्थापित भएका पाँच परिवारका २२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरी आवश्यक राहत सामग्रीसमेत उपलब्ध गराइएको रेडक्रस सोसाइटी झापाका इमेर्जेन्सी अपरेशन सेन्टर (इओसी) का फोकल पर्सन हरिशरण खड्काले जानकारी दिए ।

खड्काका अनुसार कनकाई बेसिनअन्तर्गत कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाका एक हजार ३१० परिवार बाढीको जोखिममा छन् । कनकाई नदीका कारण झापा गाउँपालिकाको वडा नं १, २, ३ र ७ बढी जोखिममा रहेको छ । त्यस्तै, गौरीगञ्ज १ र २ का सात टोल जोखिममा रहेको रेडक्रस झापाले जनाएको छ ।

झापा गाउँपालिका–७ स्थित मदगाछबाट कनकाई नदीको बाढी गाउँ बस्ने सम्भावना धेरै भएकाले हाल त्यहाँ स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतले बाँध निर्माणको काम गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here