कर्फ्यू तोडेर अमेरिकाका ७५ शहरमा प्रदर्शन, सेना परिचालन गर्ने ट्रम्पको चेतावनी

0
758
तस्वीर : एपी

काठमाडौं – प्रहरीका कारण एक अश्वेत व्यक्तिको मृत्यु भएपछि गत सातादेखि अशान्त बनेको अमेरिकामा कर्फ्यूको वेवास्ता गर्दै प्रदर्शन भएका ।

प्रहरीको यातनाबाट जर्ज फ्लोइड नामका अश्वेत व्यक्तिको मृत्यु भएको आरोपपछि मिनेशोटाबाट सुरू भएको प्रदर्शन हिंसात्मक बन्दै अमेरिकाका वासिङ्टन डिसीसहितका कम्तिमा २३ राज्यका ७५ भन्दा बढीमा शहरमा पुगेको बीबीसीले जनाएको छ ।

अश्वेत व्यक्तिको मृत्यु प्रकरण रंगभेद आन्दोलनमा परिणत भएपछि सुरक्षाकर्मीको अवरोध छिचोल्दै ह्वाइट हाउससम्म प्रदर्शनकारीहरू पुगेपछि त्यहाँ सुरक्षा सतर्कता उच्च बनाइएको छ । प्रदर्शनका क्रममा झडप, लुटपाट, तोडफोड र आक्रमणका घटना भइरहेका छन् ।

ब्यापक मात्रा प्रहरी परिचालन गर्दै कर्फ्यू जारी गरिए पनि प्रदर्शनकारीहरूले आगजनी, ढुंगामुडा, तोडफोड र लुटपाट रोकका छैनन् । वाशिंगटन, न्यूयोर्क, न्यूजर्सी,  मिनियापोलस, एट्लान्टा, लस एन्जलस, फिलाडेलफिया, पोर्टल्याण्ड, लुइसभिलासहितका शहरमा कर्फ्यू जारी भए पनि प्रदर्शन नरोकिएपछि प्रहरीले ४१ सयभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ ।

गएको सोमबार (मे २५ मा) डेरेक शौभिन नामक ४४ वर्षीय (पूर्वप्रहरी) सुरक्षा गार्डले  ४६ वर्षका फ्लोइडलाई पक्राउ गर्ने क्रममा घाँटीमा घुँडाले थिचेको र त्यसको केही बेरमा फ्लोइडको मृत्यु भएको आरोप लाग्दै आएको छ ।

अक्सिजन अभावले फ्लोइडको मृत्यु

फ्लोइडको मृत्यु अक्सिजनको कमीका कारण भएको एउटा निजी पोष्टमार्टम परीक्षणले पत्ता लगाएको छ।

फ्लोइडको परिवारका तर्फबाट परीक्षक रहेका चिकित्सकले उनको निधन मिनियापलिसका प्रहरी अधिकारीले गर्दन र ढाडमा थिचेको र अक्सिजन अभावले भएको दावी गरेका हुन् ।

यसअघिकोको परीक्षणमा अक्सिजनको कमी वा घाँटी दबाएका कारण भन्ने प्रमाण पत्ता लागेको थिएन । सरकारी अधिकारीले फ्लोइडको मृत्यु हुनमा उनको पहिल्यैदेखिको स्वास्थ्य समस्यालाई देखाइरहँदा निजी पोष्टमार्टम रिपोर्टले भने उनको मृत्यु स्वाभाविक नभई हत्या नै भएको उल्लेख गरेको छ ।

सेना परिचालन गर्ने ट्रम्पको चेतावनी

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल भइरहेको हिंसात्मक प्रदर्शन अन्त्यका लागि सेना परिचालन गर्ने चेतावनी दिएका छन् ।

ट्रम्पले प्रदर्शन रोक्नका लागि संघीय तहमा उपलब्ध सबै स्रोत परिचालन गर्ने उल्लेख गर्दै सेना परिचालन गर्ने चेतावनी दिएका हुन् । ‘राज्यहरू हिंसात्मक प्रदर्शन रोक्न असमर्थ भइरहेका हुन् भने नागरिकको जीवन र सम्पत्ति रक्षा गर्न म सेना परिचालन गर्नेछु, हिंसात्मक प्रदर्शनको अन्त्य गर्नेछु,’ ट्रम्पले भने ।

तस्वीर – AFP/Getty Image

क्रुरताका कारण भएको जर्ज फ्लोइडको मृत्युबाट सबै अमेरिकी स्तब्ध भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘फ्लोइडको मृत्युबाट अमेरिका स्तब्ध छ, यसैका कारण आक्रोश पनि पैदा भएको छ । तर उनको मृत्यु व्यर्थ पनि भएन होला ।’

ट्रम्पले अमेरिकीलाई सम्बोधन गर्दै आफूमा कानूनी राज्य स्थापना गर्ने जिम्मेवारी रहेको स्मरण गर्दै शान्तिपूर्ण प्रदर्शनको आह्वान पनि गरेका छन् ।

आफू शान्तिपूर्ण प्रदर्शनको पक्षधर भएको स्मरण गराउदै ट्रम्पले प्रदर्शनका क्रममा भएका झडप, लुटपाट, तोडफोड, आक्रमण तथा भौतिक सम्पत्तिमा भइरहेको विनाश रोक्ने कुनै पनि कसर बाँकी नराख्ने चेतावनी पनि दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here