काठमाडौंमा एकै परिवारका २ जनामा कोरोनाको पुष्टि, संक्रमित संख्या १६

र्‍यापिड टेष्टले देखायो अरु तीन जनामा कोरोना पोजेटिभ

0
473

२ बैशाख, काठमाडौं  र्‍यापिड टेस्टका क्रममा एन्टिबडी पोजेटिभ देखिएका काठमाडौंको काँडाघारीस्थित सनसिटी अपार्मेन्टमा बस्दै आएका एकै परिवारका ३ जनामध्ये २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लण्डनबाट नेपाल आइ अपार्टमेन्टमा बस्दै आएका ३ जनामा कोरोना संक्रमणको आशंकामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको थियो । आरडीटीका क्रममा तीनै जनाको एन्टिबडी पोजेटिभ देखिएको थियो ।

एन्टिबडी पोजेटिभ देखिएपछि सोमबार साँझ पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएका उनीहरुको पीसीआर विधिवाट परीक्षण गर्न नमूना लिइएको थियो । जसमध्येका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने अर्का एक जनाको नेगेटिभ रिपोर्ट आएको छ ।

कोरोना भाइरस पोजेटिभ देखिनेमा ८१ वर्षीया महिला र ५८ वर्षीया पुरुष छन् । यससँगै नेपालमा कोरोना संक्रमण देखिनेको संख्या १६ पुगेको छ । जसमध्येका १ जना उपचारपछि निको भएर घर गइसकेका छन् भने बाँकी १५ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

मंगलबारसम्म कोरोना पोजेटिभ देखिएकामध्ये सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा ५ जना, वीरगन्जको नारायणी अस्पतालमा ४ जना, बाग्लुङको धौलागिरी अस्पतालमा २ जना, काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा २ र ललितपुरको पाटन अस्पतालमा २ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

र्‍यापिड टेष्टले देखायो अरु तीन जनामा कोरोना पोजेटिभ

र्‍यापिड टेष्टमा मंगलबार काभ्रे र धादिङका ३ जना युवामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएका तीनै जना युवा विदेशबाट नेपाल फर्किएका हुन् । पोजेटिभ देखिएका दुई जना काभ्रेका हुन् भने एक जना धादिङका हुन् ।

काभ्रेको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका एक/एक जनामा र्‍यापिड डाइग्नोस्टिक परीक्षण गर्दा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको हो ।

बेथान्चौक गाउँपालिका वडा नम्वर ५ का २८ बर्षीय युवा चैत्र ९ गते भारतबाट नेपाल आएका थिए भने मण्डन देउपुर नगरपालिका वडा नम्वर ३ नयाँ गाउँका २३ बर्षीय युवा चैत्र ९ गते दुबईबाट स्वदेश फर्किएका थिए । किटमा पोजेटिभ देखिएपछि उनीहरु दुवैलाई धुलिखेल अस्पतालमा भर्ना गरेर पीसीआर विधिबाट स्वाब परीक्षण थालिएको छ।

यस्तै धादिङको ज्वालामुखी गाउँपालिकामा भएको र्‍यापिड टेष्टमा पनि एक जनामा कोरोना पोजेटिभ देखिएको छ । संक्रमण देखिएका युवा  दक्षिण कोरिया बसेर फागुन २० गते घर फर्किएका थिए ।

उनलाई होम क्वारेन्टिनमा राखिएको थियो । गाउँपालिकाको स्वास्थ्य शाखाले आरडीटी परिक्षण गर्दा पोजेटिभ देखिएका २७ वर्षीय युवालाई काठमाडौं पठाउने तयारी भइरहेको स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानाकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here