१, बैशाख काठमाडौं । र्यापिड टेष्ट कीटबाट गरिएको कोरोना परीक्षण पोजेटिभ देखिएपछि काठमाडौंको पेप्सिकोलाका एकै परिवारका तीन जना पाटन अस्पतालमा भर्ना भएका छन् ।
२० दिनअघि बेलायतबाट फर्किएका उनीहरुको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका थिए । उनीहरुको स्थानीय तहका स्वास्थ्यकर्मीले कीटमार्फत थ्रोट स्वाब परीक्षण गरेका थिए । र्यापिड टेष्ट किटबाट गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ ।
अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माका अनुसार र्यापिड टेष्ट कीटबाट कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेशनमा राखिएको हो । अस्पतालले थ्रोड स्वाब संकलन गरी पीसीआर विधिबाट पुनः परीक्षण थालेकाले कम्तिमा १२ घण्टाअघि रिपोर्ट नआउने स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए ।
‘र्यापिड टेष्ट स्थानीय तहका स्वास्थ्यकर्मीलाई गर्न दिइएको हो । कीटमा पोजेटिभ देखिदैमा कोरोना नहुन पनि सक्छ । कीटको परीक्षणले भाइरस देखाउन्न एन्टिबडी मात्रै देखाउने हो,’ महानिर्देशक श्रेष्ठले भने, ‘१२ घण्टामा पीसीआरबाट गरिएको परीक्षणको रिपोर्ट आउँछ अनि मात्र भन्न सकिन्छ अहिले नै नआतिऔं, कीटले त डेंगु लागेकोमा पनि पोजेटिभ देखाउँछ, त्यसमा पोजेटिभ देखिनुको अर्थ हामिलाई थप परीक्षण गर्नुपर्ने बाध्यता हो ।’
उनीहरुमा र्यापिड टेष्ट कीटबाट कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि अहिले पेप्सीकोलास्थित सनसिटी क्षेत्र शिलबन्दी गरिएको छ ।