स्वास्थ्य सामग्री अनियमितता प्रकरणमा अख्तियारको छानविन शुरू

0
483

काठमाडौँ – विवादास्पद स्वास्थ्य सामग्री खरिद प्रकरणमा बुधबार उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरू गरेको छ ।

आयोगले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानबिनका क्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठसँग सोधपुछ समेत गरेको खुलेको छ ।

बिहीबारदेखि उजुरीमाथि छानबिन थालेको अख्तियारले दिउँसो श्रेष्ठसँग अनौपचारिक बयान लिएको बुझिएको छ ।

कोरोना भाइरसको उपचारसँग सम्बन्धित स्वास्थ्य सामग्री बिना प्रतिस्पर्धा ओम्नी इन्टरनेशनललाई प्रचलित मूल्य भन्दा बढीमा ल्याउन दिने गरी सम्झौता भएपछि सरकारको चौतर्फी आलोचना भएको थियो ।

कोरोना भाइरससँग सम्बन्धित स्वास्थ्य सामग्री विश्वभर नै अभाव भएको भन्दै  विभागले २० प्रतिशतसम्म मूल्य बढी भएको स्वीकार गरेको थियो ।

स्वास्थ्य सामग्री एउटा समूहलाई मात्रै दिने विषय विवादित बनेपछि विभागले बुधबार सर्त भएअनुसारका सामग्री ल्याउन नसकेको भन्दै सम्झौता भंग गर्दै ५ करोड रुपैयाँ धरौटी समेत जफत गर्ने निर्णय गरेको थियो ।

विभागले ओम्नीसँग एक अर्ब ३४ करोड रुपैयाँको ठेक्का गरेको थियो । उसले २१ करोडको सामान ल्याइसकेको अवस्थामा बुधबार ठेक्का भंग गरिएको थियो ।

विभागको उक्त निर्णय भन्दाअघि स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै विभिन्द ७ बुँदे आरोपसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल विरुद्ध विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here