काठमाडौं – कोरोना भाइरसबाट विश्वभर ५३ हजार १ सय ९० मानिसको मृत्यु भएको छ ।
१० लाख १५ हजार ५०० मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये २ लाख १२ हजार २२९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
कोरोना भाइरसबाट विश्वभरका सबैजसो मुलुक प्रभावित भएका छन् । २०४ वटा मुलुक र २ वटा पानिजहाजमा फैलिएको कोरोना भाइरसबाट सबैभन्दा बढी अमेरिका, इटाली, स्पेन, जर्मनी, चीन, फ्रान्स र इरान प्रभावित भएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुमा १२२ जनाको मृत्यु भएको छ भने ५ हजार ४७४ जना संक्रमित भएका छन्।
सार्कका पनि भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश र श्रीलंकाका नागरिकको मृत्यु भएको छ ।
भारतमा ७२ को मृत्यु
सार्क मुलुकमा कोरोना भाइरसबाट सबैभन्दा बढी भारतमा कोरोना भाइरसका कारण ७२ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा थप १४ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ७२ पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
५ सय भन्दा बढी नयाँ संक्रमित देखिएपछि कोरोनाबाट २ हजार ५४३ जना भारतीय नागरिक संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा संक्रमित हुने ५४३ मध्ये धेरैजसो राजधानी नयाँ दिल्लीका छन् । दिल्लीमा १४१ जना नयाँ संक्रमित देखिएका हुन् ।
योसँगै दिल्लीमा मात्रै संक्रमित हुनेको संख्या २९३ पुगेको छ । दिल्लीमा कोरोना भाइरसकै कारण ४ जनाको मृत्यु भइसकेको छ।
दक्षिण एसियाली मुलुकहरुमा भारत संक्रमित र मृतक दुबै आधारमा सबैभन्दा बढी प्रभावित हुने मुलुक हो । यसअघि बिहिबारसम्म भारतमा संक्रमित हुनेको संख्या पाकिस्तानको भन्दा कम थियो ।
कोरोना भाइरसको संक्रमण फैलदै गएपछि भारतले मार्च २५ तारिकदेखि तीन साताको लकडाउन गरेको छ ।
पाकिस्तानमा ३४ को मृत्यु
भारतपछि सबैभन्दा बढी पाकिस्तानमा कोरोना भाइरसबाट ३४ जनाको मृत्यु भएको छ ।
बिहिबार राति ७ जनाको मृत्यु भएपछि पाकिस्तानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३४ पुगेको हो । यस्तै थप ३०३ जनामा नयाँ संक्रमण देखिएपछि २ हजार ४२१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
उपचारारत २ हजार २६२ जनामध्ये ९ जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने पाकिस्तानी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । कोरोनाको संक्रमण बढ्दै गएपछि पाकिस्तानले आन्तरिक हवाई उडान समेत बन्द गरिसकेको छ ।
कोरोना भाइरसका कारण सार्क सदस्य राष्ट्रहरुमा सबैभन्दा बढी प्रभाव पार्ने मूलुकको तेस्रो नम्बर सूचिमा अफगानिस्तान छ ।
अफगानिस्तानमा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने २७३ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा अफगानिस्तानमा थप २ जनाको मृत्यु भएको हो भने ३६ जना नयाँ संक्रमित फेला परेका हुन् ।
बंगलादेशमा पनि कोरोना भाइरसबाट ६ जनाको मृत्यु भएको छ । ५६ जनामा संक्रमण देखिएको छ । २५ जना उपचारपछि ठीक भएर घर फर्किएका छन् । उपचार गराइरहेका एक जनाको अवस्था गम्भीर रहेको छ ।
यस्तै कोरोना भाइरसबाट श्रीलंकामा ४ जनाको मृत्यु भएको छ । १५१ जना मानिस संक्रमित भएका छन् । बिहिबार राति त्यहाँ थप १ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ४ पुगेको हो । यस्तै अरु ५ जनामा संक्रमण देखिएको छ ।
उपचार गराइरहेकाहरु मध्ये ५ जना सिकिस्त अवस्थामा रहेकाले मृतकको संख्या बढ्न सक्ने श्रीलंकाका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
यस्तै माल्दिभ्समा १९ जनामा संक्रमण देखिएकोमा १३ जना उपचारपछि घर फर्किसकेका छन् । उपचारारत ६ जनाको अवस्था पनि सामान्य रहेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट ६ जना संक्रमित भएका छन् । त्यसमध्ये एक जना संक्रमण देखिएको केही दिनमै उपचारपछि ठीक भएर २ महिनाअघि नै घर फर्किएका छन् । सार्क राष्ट्रमा कोरोना भाइरसको सबैभन्दा कम असर परेको मुलुक भुटानमा अहिलेसम्म ५ जनामा संक्रमण देखिएको छ ।