३० फागुन, काठमाडौं – कोरोनाभाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ हजार १ सय २० पुगेको छ ।
विश्वका १ सय ३५ देशका १ लाख ३९ हजार ४ सय ९७ जना संक्रमित भएका छन् ।
संक्रमितमध्ये ७० हजार भन्दा बढी स्वास्थ्यलाभ गरी घर फर्किएका छन् । कोरोनाको संक्रमणबाट सबैभन्दा बढी चिनियाँ नागरिक प्रभावित भएका छन् ।
चीनका ८० हजार ८ सय १४ जनामा संक्रमण फैलिएको छ भने ३ हजार १ सय ७७ जनाले ज्यान गुमाएका छन् । चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रण भएको दाबी गरिरहँदा छिमेकी भारतमा भने कोरोनाको संक्रमण फैलिन थालेको छ । भारतमा कोरोना लागेका पहिलो एक व्यक्तिको मृत्यु भएको छ ।
कोरोनाको संक्रमणमा रहेका कर्नाटकको कलबुर्गीमा ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको बीबीसीले जनाएको छ । उनी साउदी अरेबियाबाट केहिदिन अघिमात्र भारत आएका थिए । भारतमा ७५ जनामा संक्रमण देखिएको छ ।
कोरोनाको संक्रमण इटालीमा फैलने क्रम बढेको छ । इटालीमा अहिलेसम्म १५ हजार १ सय १३ जनामा संक्रमण देखा परेको छ भने १ हजार १६ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै इरानमा १० हजार ७५ संक्रमित रहेको र ५ सय १४ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दक्षिण कोरियामा ज्यान गुमाउनेको संख्या ७१ पुगेको छ भने ७ हजार ९ सय ७९ जना संक्रमित छन् । यस्तै स्पेनमा १ सय २२ जनाको मृत्यु भएको छ ।