चीनमा कोरोनाको महामारीः मृतकको संख्या ४ सय २६, हजारौं संक्रमित

0
918

२१ माघ, काठमाडौं । चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ सय २६ पुगेको छ । सोमबार र मंगलबारको बीचमा नै ६४ जनाको मृत्यु भएपछि मृतकको संख्या बढेको हो । अरु २० हजार मानिस संक्रमित भएका छन ।

मंगलबार हङकङमा पनि एक जना बिरामीको मृत्यु भएपछि चीनबाहिर मृत्यु हुनेको संख्या २ पुगेको छ । यस अघि फिलिपिन्समा पनि एक जनाको मृत्यु भएको थियो।

एक महिनादेखि फैलिएको कोरोना भाइरसको नियन्त्रणका लागि भएको प्रयास प्रभावकारी नभइरहँदा चिनियाँ शीर्ष नेतृत्वले असन्तुष्टि जनाएको छ । प्रकोपसँग जुझ्ने क्रममा ‘सरकारी कमजोरी र अपूर्णता’ भएको चिनियाँ कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्यहरुले बताएका छन ।

शक्तिशाली चिनियाँ कम्युनिस्ट पार्टीको ७ सदस्यीय स्थायी समितिले राष्ट्रिय आपतकालीन व्यवस्थापन प्रणालीको सुधार गर्नुपर्ने सुझाव समेत दिएको छ। कोरोना भाइरसको प्रकोपलाई लिएर ‘त्रास फैलाउने गरी’ प्रतिक्रिया जनाएको भन्दै चीन सरकारले अमेरिकाको आलोचना समेत गरेको छ ।

अमेरिकाले जनस्वास्थ्य संकट घोषणा गर्दै दुई साता यता चीन बसेका विदेशी नागरिकको आवागमनमा रोक लगाउने निर्णय गरेकोमा चीनले आपत्ती समेत जनाएको छ ।अमेरिकाले प्रतिबन्ध लगाए लगत्तै अस्ट्रेलियाले पनि आफ्नो देशमा चिनियाँ नागरिकको आवागमनमा प्रतिबन्ध लगाएको थियो ।

अमेरिकी प्रतिबन्धको असर स्वरुप नै हङ्कङले पनि चीनसँग जोडिएका १३ मध्ये १० वटा सीमाबाट मध्यरातदेखि मानिसको आवागमन रोक्ने जनाएपछि चिनियाँ धारणा बाहिरिएको हो ।

विश्व स्वास्थ्य सङ्गठनले खासमा यात्रुहरू अनौपचारिक रूपमा देश प्रवेश गरे त्यसले झन् भाइरसको सङ्क्रमण बढाउन सक्ने भन्दै सीमा बन्द गर्ने निर्णयप्रति सतर्क गराएको छ ।अहिलेसम्म अमेरिका, अष्ट्रेलिया, जापान, जर्मनी लगायतका मुलुकले आफ्ना नागरिकलाई स्वेदश फर्काइसकेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here