झापा र मोरङका भुटानी शरणार्थी शिविरमा रहेका विद्यालयहरु बन्द हुने क्रम शुरू भएपछि शरणार्थी विद्यार्थीका अभिभावक अप्ठ्यारोमा

0
575

माघ २३
झापा र मोरङका भुटानी शरणार्थी शिविरमा रहेका विद्यालयहरु बन्द हुने क्रम शुरू भएपछि शरणार्थी विद्यार्थीका अभिभावक अप्ठ्यारोमा परेका छन् । नेपाली समुदायमा रहेका सरकारी विद्यालयहरुमा विद्यार्थीहरु पढ्ने रुची देखाउँदैनन् । सरकारी’ विद्यालयमा पढ्दा आफुहरु अपमानित हुनुपर्ने धारणा उनीहरुमा छ । अनि अभिभावकहरुलाई पनि सामुदायिक विद्यालयप्रति विश्वास छैन । जसका कारण शिविरका विद्यालय बन्द भएपछि निजी विद्यालयमा भर्ना गरिदिनुपर्ने अभिभावकको बाध्यता छ । बेलडाँगी शिबिर आई चारकी सेलेनी राईले कक्षा ५ सम्म शिविरकै विद्यालयमा पढिन् । त्यसपछि शिविरको विद्यालय बन्द हुने क्रम शुरू भयो । तर त्यसपछि उनले सामुदायिक विद्यालयमा जानै मानिन् । दाताको सहयोग बन्द भएपछि किराना पसल गरेर परिवार चलाउँदै आएका उनका बुवा रतन राईले भने, ‘छोरीले सरकारी स्कुल जान मानिन, मलाई पनि त्यहाँ पढ्दा खासै राम्रो हुन्छ जस्तो लागेन अनि बोर्डिङ हालि दिएको छु ।’ सेलेनी अहिले निजी विद्यालयमा कक्षा ८ मा पढ्छिन् । शिविरकै सुशील राईले भने ठुलो कक्षमा पुगेपछि विद्यालय परिवर्तन गर्नुभन्दा छोरा स्टिभनलाई सानैदेखि निजी बोर्डिङमा हालिदिए । उनले भने, ‘पव्लिक स्कुल पठाएर नानीहरुले पढ्न सक्छ जस्तो लागेन, त्यसैले बोर्डिङमै हालिदिएँ ।’ शिविरका विद्यालय बन्द हुन थालेपछि कैयौं विद्यार्थीले त पढाई नै छोड्नु परेको छ । ’बेलडाँगी सी तीन’का चन्द्रबहादुर बिष्टले कक्षा ८ सम्म शिविरकै विद्यालयमा पढे । त्यस बेला शिविरका विद्यालय बन्द हुन थालिसकेका थिए । कक्षा ९ देखि शिविर बाहिरका विद्यालय जानुपर्ने भयो । त्यसैले धेरैजसो विद्यार्थी सामुदायिक विद्यालय ढुकुरपानी मावि जान थाले । तर उनी मानेनन् । निजी बोर्डिङमै पढ्ने निधो गरे । उनका आफन्तहरु तेश्रो मुलुक पुनर्स्थापनाका क्रममा अमेरीका पुगेका थिए । त्यसैले उताबाट खर्च आउला भन्ने आशा पनि थियो । गत वर्ष उनले एसईई निजी विद्यालयबाटै पास गरे । तर त्यसपछि थप अध्ययन गर्ने क्षमता न उनमा रहयो, न परिवारमा । चटपटे र चिया बेचेर परिवार धान्दै आएकी चन्द्रबहादुरकी आमा दूर्गामायाँले भनिन्, ‘चन्द्रको पढाई पनि राम्रो थियो, दाजु दिदी अमेरीका थिए, सहयोग पनि गर्दै थिए तर उता गएको छोरो दुर्घटनामा परेपछि असक्त भयो । उताको कमाईले उनीहरुलाई नै पुग्न गाह्रो भयो । पढाउने खर्च नभएपछि अहिले मजदुरी गर्न थालेको छ ।’
सन् २००७ मा भुटानी शरणार्थीको तेश्रो देश पुनर्स्थापना शुरू हुनु अघि झापा मोरङमा सात शिविर थिए । तीनओटा झापा दमकको बलेडाँगीमा अनि बाँकी खुदुनावारी, टिमाई र गोलधापमा । एउटा मोरङको पथरीमा । यि शिविरमध्ये बेलडाँगीमा ४, खुदुनावारीमा २ र अरुमा १÷१ ओटा गरि ८ ओटा मुख्य विद्यालय थिए । ती मुख्य विद्यालय मार्फत ३७ ओटा इकाईका रुपमा रहेका शैक्षिक संस्थामा विद्यार्थी अध्ययनरत थिए । ती विद्यालयमा सन् २००३ मा ४० हजार २ सय ६२ विद्यार्थी भए पनि पुनर्स्थापनाको प्रकृया थालनीसम्म आइपुग्दा ३० हजारमा र्झयो । सन् १९९२देखि भुटानी शरणार्थीहरुलाई शैक्षिक सहायता उपलव्ध गराउँदै आएको कारीटास नेपाल, दमक कार्यालयका अनुसार पुनस्र्थापना प्रकृयाले एक लाखभन्दा बढि शरणार्थी विभिन्न मुलुक पुगेपछि सहायतामा कटौती भयो । अनि बाँकी रहे, बेलडाँगीका त्रिरत्न सेकेण्डरी, पञ्चावटी र पथरी शनिश्चरेको न्यु होराईजन एकेडेमी । न्यु होराईजन पनि २०७५सम्म सञ्चालन भयो । न्यु होराईजनमा गत शैक्षिक शत्रको अन्त्यसम्ममा कक्षा ४सम्ममा ११८ विद्यार्थी थिए । सो विद्यालय बन्द भएपछि पथरीशनिश्चरे शिविर विद्यालय विहीन बन्यो । विद्यार्थीहरु तितरवितर भए, नजिककैका विभिन्न सामुदायिक र संस्थागत विद्यालयमा भर्ना भए । बेलडाँगीको त्रिरत्नमा सन् २०१८ को मार्च (शैक्षिक शत्र अन्त्यको महिना, चैत) मा बन्द हुँदा कक्षा ९ मा ५६ जना विद्यार्थी थिए । बाँकी कक्षा त्यस अघि नै क्रमिक कटौती हुँदै आएका थिए । त्यस वर्ष कक्षा १० को परीक्षापछि विद्यालय बन्द गरिएको कारिटास दमकका शिक्षा उपसंयोजक लोकनाथ पोखरेलले जानकारी दिए । ती विद्यार्थीहरु दमक वडा नं. ३ ढुकुरपानी माविमा पुगे । १२ वर्ष अघि रहेका ३७ ओटा शैक्षिक संस्थामध्ये बाँकी रहेको छ, दमकस्थित बेलडाँगी शिविरको पञ्चावटी विद्यालय । यस विद्यालयमा कक्षा नर्सरीदेखि ८ कक्षासम्ममा अहिले ८४० विद्यार्थी अध्ययनरत छन् । त्यहाँ रहेका ३१ शिक्षकसहित ५२ कर्मचारी पनि सन् २०२० देखि बिदा हुँदैन् । पञ्चावटी विद्यालयका विद्यार्थी पनि आगामी शैक्षिक शत्रदेखि नजिकका अन्य विद्यालयहरुमा स्थानान्तरण हुने कारीटास दमकका कार्यक्रम प्रवन्धक देवेन्द्र पोखरेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here