बेलायती प्रधानमन्त्री मेलाई दबाब, इयूबाट बाहिरिने प्रकिया अनिश्चित

0
899

२ माघ, काठमाण्डौ ।  युरोपेली संघ ईयुबाट बाहिरिनेबारे बेलायती प्रधानमन्त्री टेरिजा मेले प्रस्तुत गरेको योजना बेलायती संसद्ले अस्वीकृत गरेको छ । प्रधानमन्त्री मेले बेलायती संसद्मा प्रस्तुत गरेको योजनाको विपक्षमा ४३२ सांसदले मतदान गरेका छन् । उनको प्रस्तावमा २०२ सांसदले मात्र समर्थन गरेपछि सो प्रस्ताव अस्वीकृत भएको हो । प्रस्तावको विपक्षमा प्रधानमन्त्री मे कै कन्जरभेटिभ पार्टीका १ सय १८ जना सांसदले मतदान गरेका छन् । तर विपक्षी लेबर पार्टीका तीन सांसदले भने प्रस्तावको पक्षमा मतदान गरेका थिए । प्रधानमन्त्री मे ले आफ्नो योजना संसद्बाट पारित गर्न नसकेपछि ठूलो धक्का बेहोर्नुपरेको छ । यहीबीचमा विपक्षी लेबर पार्टीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव समेत दर्ता गराएको छ ।लेबर पार्टीका नेता जेरेमी कोर्बिनले संसद्ले प्रधानमन्त्री मे को ब्रेक्जिटसम्बन्धी प्रस्ताव अस्वीकृत भएपछि सरकारप्रति सदनको विश्वास नरहेको भन्दै अविश्वासको प्रस्ताव पेश गरेको बताए । अविश्वासको प्रस्तावमाथि आजैबाट छलफल हुँदैछ । ब्रेक्जिटका विषयमा नराम्रोसँग पराजित भएपछि प्रधानमन्त्री मे को राजनीतिक भविष्यलाई लिएर प्रश्नहरु उठ्न थालेका छन् । प्रधानमन्त्री मे ले सदनमा विश्वासको मत प्राप्त गर्न नसकेमा अर्को १४ दिनसम्म उहाँलाई पुनः विश्वासको मत प्राप्त गर्ने समय मिल्ने बीबीसीले उल्लेख गरेको छ । यसबीचमा पनि कसैले विश्वासको मत प्राप्त गर्न नसकेमा बेलायतमा आम चुनावको घोषणा हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here