पहिचान

0
150

                                                                                                          डेन्जोम

पृष्टभूमि:
प्राकृतिको सन्दर्भमा होस् या समाजका स्थानीय स्तरमा वा विश्व परिवेशको प्रसंगमा होस्, पहिचान अपरिहार्य बनेर आउछ | कुनै वस्तु भएर पनि त्यसको उचित पहिचान नहुनु दुखद पक्ष हो | यस्तो अवस्थामा त्यसले हामीलाई फाइदा पुर्याइरहेको हुदो भए पनि त्यसको मूल्यमाथि घोर अन्याय भइरहेको हुन्छ, उसको बेवास्था भएको हुन्छ | हाम्रो समाजमा यस्ता उदाहरण धेरै छन् | प्रकृतिमा पनि यस्ता जैविक होलान् जसले हामीलाई लाभान्वित गरिरहे छ तर त्यो हाम्रो दृष्टि देखि बाहिर हुनसक्छ | यसमानेमा कुनै वस्तुको पहिचान नहुदा त्यसले निर्वाह गर्ने भूमिकाको महत्वलाई अन्याय भइरहेको हुन्छ | यसलाई यसरी पनि हेरौँ – मोति कति मुल्यवान छ तर त्यसलाई चिनिएन भने त्यसको के अर्थ ? “चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बिड” भन्ने उखान चिरर्थ हुन आउछ | त्यस्तै, गर्व महसुस नहुने किसिमको पहिचान समाजले थोपरिदिन्छ भने त्यो पहिचान पनि के गर्नु ? त्यसले त आफ्नो पहिचान प्रति पीडा हुन्छ, परिणतिमा खातीले खत्त्री लेखेर वा भूटानी शरणार्थी हुनुको वास्तविकता छोपेर झापाली र दार्जीलिंगे भएको बताउदै आफूमा भैपरी आउने तुच्छ व्यवहारबाट जोगिन्ने प्रयास जस्ता उदाहरण हामीले प्रसस्तै देखेका छौं | आफ्नो पहिचानमा सम्मानित रहेर आवश्यक अधिकार सम्पन्न हुनबाट बन्चित गरिदा मानिस/ समुदाय अपहेलित र उत्पीडित बन्ने तितो यथार्थको दरिलो पुष्टि हो यो | जहाँ पहिचानमाथि उत्पीडन हुन्छ अन्ततः त्यसको बिरुद्ध आक्रोश देखा पर्नु स्वाभाविक हुन जान्छ  किन कि पहिचान भने को जीवन बाँच्नुको सबै भन्दा ठूलो हिस्सा हो |  समयसंगै सम्बृद्ध, सभ्य, शिष्ट र समतामूलक समाजको स्थापना अनि ज्ञान-बिज्ञान र चेतनाको  समुचित प्रयोग नै पहिचानको न्यायिक सम्बोधन हो | यसमानेमा पहिचानको विशेषता अत्यन्तै महत्वपूर्ण देखिन आउछ जसलाई आत्मसाथ गर्न नसके असन्तुलित वातवरण, अविष्कारमा असर जस्ता नकारात्मक प्रभाव पर्ने कुरामा दुई मत नहोला |

पहिचानको संकट:

बीसौं सताब्दीका एक प्रख्यात मनोबैज्ञानिक, एरिक एरिक्सन(Erik Erikson)ले पहिलोपटक पहिचानको संकट माथि चर्चा गरेका थिए | शिशु काल देखी बृद्ध अवस्थासम्ममा आठ चरणबाट मानिसको मनो-सामाजिक विकास(psychosocial development) हुन्छ भन्ने उनको विश्लेषणमा पहिचानको संकटलाई मानिसले भोग्नु पर्ने निक्कै महत्वपूर्ण द्वन्द्वको रूपमा लिएको छ | मानिसको उमेरसंगै हुने परिवर्तनमा पहिचानको संकट देखा पर्दछ जसलाई सो अनुरुप अनुसरण, विश्वास गरि समाधान गर्न नसके आउने जीवनमा त्यो थप समस्या भएर देखा पर्छ भन्ने उनको मान्यता हो | तर उनको यो विचार  विशेष गरि  मनो-सामाजिक, मनोविश्लेषणात्मक सिद्धान्तमा आधारित भएको हुँदा आज एक्कासौं सताब्दीमा जटिल बनेको पहिचान संकटको सबै पाटोलाई यसले समेट्न नसकेको हुदा उक्त विषयमा अन्य थुप्रै परिभाषाहरू जन्मिएका छन् |

खैर सामान्यतया, मानिसको आफ्नो चिनारी असुरक्षित, भ्रम र अनिश्चितताको स्थितिमा हुनु नै पहिचान संकटको अवस्था हो भनेर बुझ्न सकिन्छ | मेरो आफ्नो बुझाई के छ भने योग्यता, रूची, कला, सामजिक स्तर, आर्थिक स्तर, परिवार, रूप, रङ्ग, उमेर, जाति, बंस, धर्म, राष्ट्रियता/देश आदि यावत तत्वहरुको आधारमा हरेक मानिस वा समुदाय एक अर्का बीच भिन्न हुने गर्छ र पहिचानको बोध यही आपसी फरक हुनुको वास्तविकताबाट जन्मन्छ | तर यो वास्तविकताको धरातलमा उभिएर आफ्नो पहिचान अनुरुपको जीवन यापन गर्न सबै मानिसलाई सौभाग्य मिल्दैन | सामाजिक पारम्परिक प्रथा, आर्थिक अभाव, अप्रजातान्त्रिक अनि असंवैधानिक प्रशासन, तानाशाही प्रवृति आदिको कारण कति ठाउँमा आफ्नो परिचय, आफ्नो पहिचान लुकाउनु पर्ने, कति ठाउमा दमन सहेर पहिचान बिहिन बन्नु पर्ने परिस्थिति बीच मान्छेले बाँच्नु पर्दोरहेछ | नौलो परिवेश, आर्थिक हैसियत, शैक्षिक स्तर, सम्बन्धित देशको पृष्टभूमि,  अल्पसंख्य आदि कारणले पनि आफ्नो पहिचान ओझेलमा पर्ने गर्छ | यस्ता विविध पाटो र पक्षहरूछन् जसको कारण पहिचान संकटमा पर्दा छ | र यी कारणहरूका पक्ष र संयन्त्रलाई मध्यनजर गर्दा हामी अधिकाँश मानिसहरू पहिचानको ठूलै संकटमा भएको निर्क्योल निकाल्न सकिन्छ र पहिचान प्राप्तिको लागि संघर्ष गतिवान देखिन्छ | जस्तै उदाहरणको लागि टाडा नजाऊ, हाम्रै आसपासमा भइरहेको चाहे नेपालको मधेसी आन्दोलन वा जनजातिको माग, पछडिएको वर्गको उन्मुक्तिको संघर्ष होस् या दार्जीलिंगको गोर्खाल्याण्डको आवाज; यी सबै पहिचान संकटको ज्वलन्त उदाहरण हुन् भन्दा अतिशयोक्ती नहोला | हो आज पहिचानको राजनीति, सवाल र चर्चा शक्तिशाली बन्दै गइरहेछ | यसरी मानिसको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने पहिचानको सहि परिभाषा के हुनसक्छ त ?

परिभाषा:

सामान्यतया सोझो अर्थमा, कुनै बस्तु वा व्यक्तिलाई चिनिने तथ्य नै पहिचान हो | यो समयले तय गर्ने माग हो, व्यक्ति/वस्तु वा कुनै समुदायको चिनारी, गौरब, आफ्नोपन आदि धेरै हो | तर परिस्थितिजन्य र प्रासंगिकताको चरित्रमा यसको अस्तित्व कायम हुने हुदा यसलाई निश्चित परिधिभित्र समेटेर अर्थाउन नसकिने बहुआयामिक रूपमा अवस्थित हुन्छ यो | तथापी, अपरिवर्तनीय प्रकृतिको धर्मलाई पालन गर्दै सधै एउटै रूप र अर्थमा कायम रहनु यसको अर्को पाटो हो | जस्तो कि पारदर्शी काचको गिलासमा जस्तो रङ्ग मिसाएर पानी हाल्छौं गिलासको रूप पनि त्यहि रंगमा बदलिन्छ तथापी गिलासको आकार बदल्दैन र त्यो रङ्गिएको पानि हटाउने हो भने गिलास पूर्णता आफ्नै अवस्थामा फर्किन्छ | फेरी अर्को स्मरणीय पाटो के छ भने, दाउरा डडे  पछि त्यो खरिमा परिणत हुन्छ | परिस्थिति अनुसार, पानि हिउँ पनि बन्छ अनि बाफ पनि | तर अपरिवर्तनीय यस कारण छ की, चाहे नदीको रूपमा होस्, छल या समुन्द्रको रूपमा आखिर त्यो मात्र पानि हो | त्यस्तैगरी, एक नारी छोरी हुन्छे, पछि ऊ कसैको श्रीमती बन्छे, कसैको आमा, कसैको देउरानी/जेठानी/ सासू बन्छे, अनि संगसंगै उनि बिस्तारै प्रौढ बन्दै जान्छे | तथापी, एक पिताको नजरमा उनि सधै छोरी हुन् अनि प्राकृतिक वर्गीकरणको आधारमा उनि मात्र स्त्रीलिंग मानब हुन् | त्यसैले, एक किसिमले पहिचान, मिथ्याभास सम्बन्धित् शब्द हो जस्तो लाग्छ | किन कि यो परिवर्तनशील छ, अपरिवर्तनीय र अनियमितता पनि | यो परिवर्तनीय र अपरिवर्तनीय बीच एक किएसिमको उल्झाना जस्तो बनेको पहिचानलाई विभिन्न समयमा विभिन्न विद्धान, दार्शनिक, लेखक आदि अध्येताहरुले विभिन्न दृष्टिकोणबाट ब्याख्या, बिश्लेषण तथा परिभाषित गरेका छन् | जस्तै अरिस्टोटल(Aristotle)ले यस सम्बन्धलाई अप्रकृत (accidental) र मूलभूत(essential) गरेर दुई भिन्नतामा वर्गीकरण गरेका छन् | जस्तै कुनै रातो घरलाई सेतो रङ्ग पोतिएमा यो रातो घरको पहिचानबाट परिवर्तित भई सेतो घरको नामकरण प्राप्त गर्छ तर यसको  मूलभूत आकार वा घरको सिङ्गो प्रारूप परिवर्तन हुदैन | यसलाई उनि अप्रकृत (accidental) भन्छन् | अर्को हातमा त्यो घर पुरानो भएर भत्कियो भने वा आगलागी भयो भने सम्पूर्ण संरचना बद्लिएर अर्कै केहि बन्छ |  जस्तै डडे  पछि त्यो कोइला बन्छ, खरानी वा धुवा बन्छ | यसलाई उनि मूलभूत(essential) परिवर्तन भन्छन् | यस्तै तथ्य र तर्कको आधारमा उभिएर पहिचान  सम्बन्धि नितान्त मेरो व्यक्तिगत धारणा राख्ने हेतू स्वरूप यो लेख अघि बड्ने छ |

केहि वर्ष यता हाम्रो समाजमा यस सम्बन्धि प्रश्न र चासो बड्दै आएको छ | बहस र चर्चा पनि बेला बेला हुदै आएका छन् | यसरी यस प्रतिको चासो बड्नु,  समाज भित्र विभिन्न वृतमा विमर्श हुनु भनेको एक किसिमले समाज चेतना उन्मुख हुदै गरेको संकेत हो  भन्दा अतियूक्ति नहोला किन भने पहिचानको महत्वदेखि अनभिज्ञ रहनु भनेको चेतना अविकसित र सतहीमा भएको अवस्था हो | उपरोक्त विश्लेषणलाई मध्यनजर गर्ने हो भने पहिचानको किसिम र परिभाषा अनेक देखिन्छ तर यहाँ विशेषगरि यस्तै तथ्य र तर्कको आधारमा उभिएर नितान्त मेरो व्यक्तिगत धारणा राख्ने हेतू स्वरूप मानिससँग सम्बन्धित पहिचानको चर्चा गर्नुमा केन्द्रित रहने छ यो लेख |

विषय प्रवेश: वस्तुता: मानिसको पहिचान सारांशमा निम्न तीन दृष्टिकोणबाट नियाल्न सान्दर्भिक देखिन्छ:
१.  प्राकृतिक पहिचान : प्रकृतिको रूप अर्थात् मानिसको नियन्त्रण भन्दा माथि रहेर निर्माण हुने पहिचान | जस्तै, आफू मानिस भएर जन्मने कुरा कुनै सुक्रकीटलाई थाहा हुदैन, स्वतः ऊ मानिसको रूपमा पुरुष वा नारी लिङ्गको पहिचान लिएर जन्मन्छ | उसको यो प्राकृतिक पहिचान हो | रूख पात, खोलानाला यी सब प्राकृतिक पहिचान अन्तर्गत पर्दछन | विश्वका अधिकाँश पहिचान सम्बन्धि दर्शनहरू यसै माथि केन्द्रित छन् किन कि परिवर्तनीय र अपरिवर्तनीय, दुवै गुण यसले अवलम्बन गरेको हुदा यसको स्वभाव मिथ्याभास, असत्यवत जस्तो लाग्छ | त्यसैले यसको परिभाषित गर्न अत्यन्तै मुस्किल छ |
धेरै अघि, १८औं शताब्दी तिरै दार्शनिक डेभिड हम (David Hume)ले कुनै पनि कुरा हरेक पल परिवर्तन भइरहने कुरा उल्लेख गरेका थिए | जस्तै, आज जन्मेको शिशु भोलि अर्कै हुन्छ, जवान, प्रौढ हुदै मृत्यु हुन्छ | तर ठिक विपरीत, समकालीन दार्शनिक वल्कर जोहन लोकले (Walker John Locke) मनोविज्ञान निरन्तरतासँग पहिचानलाई जोडेर ब्याख्या गरेका छन् | आत्मामा, शारीरिकरुपमा होइन स्मरण शक्तिले पहिचानको निर्ध्रण हुने बताएका छन् | तर डेरेक पर्फिटको टेलीपोर्टेशनको उदाहरणले यसको पनि खण्डन गरेको छ | यो दार्शनिक पाटोलाई हेर्ने हो भने बेनार्ड विलियमस, सिड्नी सुमेकरहरूको अभिव्यक्ति र विचारहरू पनि तानिने छन् | मानिसको पहिचानलाई गहिरिएर हेर्दा यस सम्बन्धि थुप्रै बैज्ञानिक र दार्शनिकहरूले प्रशस्तै रूपमा आफ्ना विचारहरु प्रस्तुत गरेका पाइन्छ र ती सबैको अध्ययन गर्न सम्भव नहोला यद्यपी सामान्य हिसाबमा यति भन्न सकिन्छ कि मूलतः प्राकृतिक प्रक्रिया र पद्दति अनुरूप प्राप्त हुने वा सृजित हुने अस्तित्वनै प्राकृतिक श्रेणीमा पर्ने पहिचान हो |

२. प्रदान गरिने प्रहिचान: शिशुलाई नामकरण समारोहमा प्रदान गरिन्ने नाम, समाजले वा वंशानुगतरूपमा दिइने जात/थर, धर्म संस्कृति, राष्ट्रियता, राम्रो कार्य गरे बापत प्राप्त हुने सुनाम वा खराब क्रियाकलापको कारण हुने बदनाम, आदि यस्ता यावत पक्षहरु यसका उदाहरण हुन् | अर्को हातमा शारीरिक रूप, सीप, स्वभाव आदिको आधारमा पनि समाजले पहिचान थोपर्ने गर्दछ | जस्तो कि कालो वर्ण भएको ब्यक्तिलाई काले, सीप भएकोलाई सिपालु आदि |मानब जतिको उत्पतिको तत्कालिन व्यवथा र यथार्थ कस्तो थियो, यसलाई अलग राखेर हेर्ने हो भने, सामान्यतया आजको युगमा, समाज, सामाजिक र धार्मिक संस्थान, मूल्यमान्यता र मापदण्डहरू बीच मानिसले जन्म लिन्छ | र यही संयन्त्र वृतमा मानिस बाँचुन्जेल घुम्दछ | यी संयन्त्रले अपनाउने परिपाटी, अवलम्बन गरेको अनुशासन, मूल्यबोध, संस्कार आदिद्वारा प्रतिविम्बित हुने प्रतिविम्ब नै हो यस श्रेणीमा पर्ने पहिचान | यो संयन्त्र जति सभ्य छ यसले दिने पहिचान पनि त्यतिनै सम्मानजनक र समतामूलक हुने गर्दछ | जस्तो कि आँखा नदेखनेलाई अन्धा भनिरहदा माथिल्लो चेतना स्तर प्राप्त गरेका समाजले उसलाई दृष्टिविहीन भनेर सम्मानित संज्ञाले सम्बोधन गेरको हुन सक्छ, दलित भनेर जातीय विभेद भैरहदा मानवलाई एउटाई जतिको पहिचानमा चित्रित गरेर अधिकारको उद्घोष गरिरहेको हुनसक्छ | पहिचानको राजनीति, पहिचानको आन्दोलन हुनुको प्रमुख कारक तत्व भनेकै समाजले, राज्यले, सम्बन्धित निकायले न्यायिक हिसाबको पहिचान प्रदान नगर्नु हो | यसमानेमा, हामी जति चेतनशील हुदै जान्छौं हामीलाई दिइने पहिचान पनि परिष्कृत बन्दै जान्छ भन्ने लाग्छ |
३. निर्माण गरिने पहिचान: आफ्नो मेहनतले, संघर्षले निर्माण हुने पहिचान यस वर्गमा पर्दछ जसलाई हामीले खुलेर गर्व गर्न सक्छौं | जन्मे पछि सित्तैमा वंशानुगत जात र र थर पाए झैँ यो पहिचान हासिल हुदैन | यसको लागि अध्ययन, अभ्यास, अनुसन्धान गर्नु पर्दछ | जस्तो कि डाक्टर बन्न वर्षौं अध्ययन र अभ्यास गरेको हुनुपर्छ |

पहिचान गठन र संरचना विश्लेषण:
पहिचानको प्रमुख उपयोगिता र यसको निहित उदेश्य भनेको अस्तित्वहरू आपसमा अलग हुनुको विशिष्टता निर्माण गरि सहअस्तित्वमा उत्पन्न हुने सम्भावित विरोधाभासको सम्बोधन गर्नु हो | त्यसर्थ, पहिचानले आपसमा बिभाजन होइन विविधता बीच समन्वय र आवश्यक सम्मानको संरक्षण गर्दछ | वास्तबमा पहिचानको संरचना परोक्ष एकीकरणको अवधारणा हो | विभिन्न  चरण, रूप, अवस्था, प्रकार आदिमा वर्गीकृत भइ सूक्ष्मतामा पहिचानको मौलिक संरचना अवस्थित हुने हुदा आफ्नै अस्तित्व भए पनि एक्लै रहन पर्याप्त हुदैन  | जस्तै मानिस प्राणीको एउटा प्रकार हो | उसको आफ्नो ठोस उपस्थिति प्रमाणित गर्न अन्य पहिचानहरूको खाचो हुन्छ | उ आफै भित्रको तन्तु, मांसपेशी, हाड छाला आदि सबैको आ-आफ्नै अस्तित्व भएपनि सबै आपसमा जोडिएका हुन्छन् | यसलाई यसरी पनि बुझौं; सामान्यतया, प्रष्ट खुल्ने एउटा सिङ्गो चिनारी निर्माण हुन सम्बन्धित् सबै पाटाहरू जोडिन आवश्यक हुन्छ | जस्तै डाक्टर भनिरहदा, के नामको, कुन थरको, कुन देशको, महिला कि पुरुष – लिङ्ग कुन हो  जस्ता पक्षहरु खुलेन भने कुन डाक्टर हो स्पष्ट हुदैन | यस अर्थमा यहाँ विशेष स्मरणीय कुरा के छ भने एउटा पहिचान भित्र अन्य थुप्रै पहिचानहरू आन्तरिकरण भएको हुन्छ जसलाई विशेषगरी दुईवटा शक्तिले प्रभावित गरेको हुन्छ | एउटा बाह्य तत्व र अर्को स्वयं निर्माण शक्ति | बाह्य तत्व भन्नाले आफ्नो नियन्त्रण नरहने तत्व जस्तै जैविक परिवर्तन, सामाजिक प्रभाव आदि र स्वयं निर्माण शक्ति भन्नाले आफ्नो प्रयास, आफ्नो योगदान, संघर्ष र निर्णयको क्षमताले आफ्नो इच्छानुसारको पहिचान निर्माणमा असर पुर्याउने अफुनीहित सत्ता | यसबाट के स्पष्ट हुन्छ भने आफ्नो पहिचान के हो भनि निर्क्योल हुन सम्पूर्ण हिसाबले अरूमै आश्रित हुनु पर्ने आवश्यकता छैन | सामाजीकरणको यी दुई तत्वको पारस्परिक सम्बन्धलाई ध्यानमा राख्दै आफू उपयुक्त पहिचान निर्माणमा जोड दिन सकिन्छ |

यस सन्दर्भमा एउटा अत्यन्तै महत्वपूर्ण पक्ष के छ भने पहिचानलाई न्यायिक हिसाबले मूल्यांकन गर्न उसको सम्पूर्णतालाई विनिर्माण र विकेन्द्रीकरण गरेर हेर्नु जरूरी हुन्छ | जस्तै माथि उल्लेख गरिएको डाक्टरकै उदाहरण लिउ – कुन डाक्टर भनि स्पष्ट हुनलाई नाम, थर, लिङ्ग, राष्ट्रियता आदि सबै जोडेर हेर्छौं यसरी – भारतीय डाक्टर राम कुमार थापा |  तर भारत, राम, थापा, डाक्टर, कुमार यी सबै छुट्टाछुट्टै पहिचानहरू हुन् | यसार्थ, भारतीय डाक्टर राम कुमार थापाको स्वर्गवास भयो भन्दा डाक्टरको अथवा थापाको मृत्यु भयो भन्ने बुझिन्दैना | पहिचान सहजीकरणको निम्ति गासिन्दै ल्याइएका हुन् यी शब्दहरू | ‘थापा’ एक्लैमा भारतीय डाक्टर राम कुमार थापा भन्ने अर्थ खुल्दैन | त्यस्तैगरी – भारतीय डाक्टर राम कुमार थापा वा भनौं उनी सम्बन्धित समुदायनै कारणवश शरणार्थी भए भने उनी र उनको समुदाय शरणार्थी भएको बुझिन्छ तर उनले बोल्ने भाषा, लेख्ने साहित्य शरणार्थी हुन सक्दैन किन कि उनी शरणार्थी हुनुको अवस्थासँग होइन सिङ्गो पहिचानसँग सम्बन्धित छ भाषा साहित्य | यसो भनिरहदा स्वाभाविकरूपमा प्रश्न उठ्न सक्छ – “त्यसोभए उनीहरूको भाषा साहित्यलाई के भन्ने त ?” स्पष्ट छ – उनीहरूको भाषा जे हो त्यही रहन्छ | विश्वमा शरणार्थी भाषा भनिएको अभ्यास कही भएको देखिन्न | अमेरिकाबाट लखेटिएका अंग्रेजी भाषी अमेरिकीहरूलाई अमेरिकी शरणार्थी भन्नु न्यायसंगत देखिन्छ, तर उनीहरूको भाषालाई अमेरिकी  शरणार्थी अंग्रेजी भाषा भन्नु कतीको उपयुक्त होला ? तात्पर्य के हो भने भाषालाई शरणार्थीकरण गर्नु भनेको भारतीय डाक्टर राम कुमार थापाको मृत्युमा सिङ्गो थापा जातिको मृत्युको घोषणा गर्नु जस्तो हो |

अब कुरा रह्यो साहित्यको | भाषा शरणार्थी नभईसकेपछि साहित्य पनि शरणार्थी हुदैन | सामान्यतया, प्राप्त ज्ञान, कल्पना, भोगाई, अनुभव, अनुसन्धानको आधारमा साहित्यमा बिषयको उठान गरिन्छ | यस मानेमा साहित्यको विषय जे पनि हुनसक्छ तर विषय उठानकै आधारमा साहित्यको पहिचान निश्चित हुदैन | त्यसो हुदो हो त कृष्ण धरावासीको शरणार्थीको कथा उनेको शरणार्थी नामक उपन्यासलाई शरणार्थी साहित्य भनिनु पर्ने हो, भूटानीहरूको कथामा आधारित डा. गोविन्दराज भट्टराईको ‘मुङ्लान’ भूटानी साहित्य हुनु पर्ने हो, त्यस्तै इन्द्र बहादुर राईको ‘आज रमिता छ’ भारतीय नेपाली साहित्य नभएर नेपाली साहित्य हुनु पर्ने हो किन भने यसमा नेपालीहरूको कथा छ |  युवा साहित्यकार शिवलाल दाहाल कृति शरणार्थीको अनुभूति, शरणार्थीको कथा बोकेको पुस्तक ‘अल बिदा बेलडाँगी’ को सन्दर्भमा डा. अभि सुबेदीले शरणार्थी साहित्य भन्नुले यस विषयमा एउटा चर्को बहस भने निम्त्याएको छ | तर पहिचान संरचनाको सर्वमान्य, अनुभवसिद्ध रीतिलाई हेर्ने हो भने निकट राष्ट्रियता र सम्बन्धित भाषाको संयोजनमा यसको नामकरण हुन उपयुक्त ठहर छ | जस्तै – भारतीय नेपाली साहित्य, भूटानी नेपाली साहित्य आदि | नेपाली साहित्य नै चाही किन नहुने भन्ने सवाललाई भारतीय डाक्टर राम कुमार थापाको सट्टा डाक्टर राम कुमार थापा मात्रै लेख्दा कुन अर्थ लाग्छ भन्ने थप सवाल गर्दा उत्तर भेट्न सकिन्छ | नेपाली साहित्य नै हुनु पर्छ भन्ने सहमत र समर्थनमा बहस र अन्तरक्रिया गर्दै आएको हुँ तर नेपाली शब्दले नेपालको राष्ट्रियता प्रतिनिधित्व गर्ने भएको हुदा गैरनेपालीले नेपाली भाषामा लेखिएको साहित्यलाई नेपाली साहित्य मात्र भन्नुमा अस्पष्टता देखिन्छ |  जस्तो कि आयत(Rectangle)लाई चतुर्भुज कहलौना चाहिने गुण पर्याप्त छ तर वर्ग(Square) हुन सक्दैन जबकी वर्ग(Square) पनि चतुर्भुज नै हो | यो स्वयंसिद्ध यथार्थ अनुसार गैरनेपालीले नेपाली भाषामा लेखिएको साहित्य नेपाली साहित्य नै हो | यसमा कुनै विवाद छैन तर नेपाली साहित्य मात्रै चाही होइन | फरक राष्ट्रियता अनि राष्ट्रियतासंगै देखा पर्ने केही फरक विशिष्ट आञ्चलिकताको स्वाद, यसको प्रमुख कारक हो |  जस्तै भारतीय नेपालीहरूले प्राय जसो कार्यक्रमलाई कार्जेक्रम, निमन्त्रणालाई निम्तो भनि प्रयोग गरिएको पाइन्छ | त्यसो त हिन्दी पनि देवनागरी लिपिमै लेखिन्छ तर शब्द निर्माण र उचाहरण, ब्याकरण, वर्ण विन्यास आदि पूर्ण फरक हुनुको कारण भाषा नै फरक हुन गयो |

यस सन्दर्भमा, यहाँनेर अर्को विषयको पनि उठान गर्नु जरूरी देखिन्छ | जस्तै आज भूटानी शरणार्थीहरू तेस्रो मुलुकहरूमा पुनर्वासित भइ पहिचान बद्लीएको परिवेशमा छन् | यस्तो अवस्थामा निकट राष्ट्रियता भूटान, हालको राष्ट्रियता अनि भाषा जोडेर नामकरण गर्ने हो भने त उचाहरण गर्न गाह्रो हुनेगरी नाम लामो हुनजान्छ | जस्तै – अमेरिकन भूटानी नेपाली साहित्य | यस सन्दर्भमा मलाई के लाग्छ भने लामो र अफ्ठ्यारो हुनु अपत्तिकै विषय भने होइन तर सजिलो, छरितो र सान्दर्भिक लाग्नेगरि इतिहास र अर्थमा असर नहुने किसिमले कुनै विकल्पको खोजि गर्नु स्वागत योग्य हो भन्दा अतियुक्ति नहोला | तर यसरी “अमेरिकन भूटानी नेपाली साहित्य” लेख्दा समस्या कहाँ छ भने अस्ट्रेलियन भुटानी नेपाली साहित्य, क्यानेडियन भुटानी नेपाली साहित्य, न्यूजिल्याण्ड भुटानी नेपाली साहित्यलगायत अनेकता सृजना हुने देखिन्छ र यसले कालान्तरमा सिङ्गो पहिचान पुनर्वास भएका देशै पिच्छे विभाजित हुने छ |   भूटानीहरू विभिन्न मुलुकमा पुनर्वास भए पनि उनीहरूको इतिहास, संस्कार संस्कृति, भाषा साहित्य, मूल कथा र मूल देश एकै छ | त्यसर्थ, सबैलाई एउटै मालामा अटाउने पहिचानलाई अनुमोदन गर्नु उपयुक्त हो भन्ने मेरो बुझाई हो | यसले आपसमा एकरुपता, आफ्नोत्व र ठूलो शक्ति सृजना गर्दछ | यस विषयमा खोज्दै जादा “पुनर्वासित नेपाली साहित्य” जस्तो किसिमको नामलाई लिन मिल्ने तर्कलाई सुझाब स्वरूप अघि सर्न सकिन्ने देखिन्छ  | यसो गर्दा नाम केही हदसम्म छोटो र छरितो त हुनेनै भयो साथमा सबैलाई समेट्ने सर्वग्राही पनि हुन्छ कि भन्ने हो | पुनर्वासित उपयुक्त नहुने वा भूटानी जोड्नै पर्ने जस्ता आउन सक्ने सम्भावित तर्कहरूलाई खुल्लै राखेर थप मन्थन र विचार विमर्श गर्न सकिन्छ | पर्वते भाषा खस हुदै हालको नेपाली भाषासम्म आइपुगेका परिवर्तनका तथ्यहरूलाई नियाल्ने हो भने उपयुक्तताको आधारमा नाम संसोधन हुनु कुनै अनौठो कार्य पनि होइन | र केही हदसम्म आफ्नो पहिचान कस्तो बनाउने भन्ने कुरा स्वयं निर्माण शक्तिमा पनि भर पर्ने कुरा अघि माथि नै पनि उल्लेख गरिएको छ | तर पुनर्वास भएका भूटानीहरुको नेपाली साहित्यलाई डायस्पोरिक भन्ने पक्षमा भने अझै बहस हुनै पर्ने जस्तो लाग्छ किन भने पुनर्वास र प्रवास फरक शब्द हुन् | प्रवासमा रहेर मूल देशको पृष्टभूमिमा लेखिन्ने साहित्यलाई डायस्पोरिक साहित्य भन्ने गरिएको छ  | यो बृहत शब्द भएकोले यसलाई अन्य किसिमले पनि परिभाषित गरिएको पाइन्छ तर पुनर्वास कही उल्लेख छैन | हो डायस्पोरा शब्द थुप्रै हकमा हामीलाई लागु हुन्छ तर यसै भित्र सिमित हुने अस्तित्व हाम्रो होइन । हामी फरक समयमा फरक आयाम, फरक सम्झौता, फरक संघर्ष बोकेर देशान्तर छौं । जसरी खोज्दै जादा डायस्पोरा शब्द यहूदीहरुको (Jewish) निर्वासनको कथामा पुग्छ, त्यसैगरी त्यस्तो कुनै शब्दको प्रयोग गर्न सक्दैनौं जसले छुट्टै भूटानीहरुको निर्वासन, पुनर्वास र संघर्षको इतिहास बोकेकोहोस् ?
यहूदीहरुको निर्वासनबाट सृजित डायस्पोरा शब्द प्रति हाम्रो सम्मान छ र छ हामीलाई प्रिय तर हामीले पनि भिर्नु पर्छ भन्ने छैन । अब संसारको इतिहासमा हाम्रो छुट्टै पहिचान हुनुपर्छ । डायस्पोराले विश्व शब्दकोशमा स्थान पाए जस्तो हाम्रो पहिचान र इतिहास खुल्ने शब्द पनि त विश्वले स्वीकार्ला ।

निष्कर्ष : पहिचान संबेदनशील राजनैतिक मुद्दा हो | यसको सहि सम्बोधन हुन नसके विभेद देखापर्छ र जहाँ विभेद हुन्छ त्यहाँ भाषा, जाति, संस्कृति हुदै संग्रह देशको विकासमा बाधा उत्पन्न हुन्छ | मानिसको राष्ट्रियता, भाषा. कला साहित्य, संस्कार संस्कृति, इतिहास आदि दर्साउने एक किसिमको संयन्त्र हो पहिचान | त्यसैले यो सहि र तथ्यपरक नभएको खण्डमा अस्तित्व लोप हुने खतरा हुन्छ | यस मानेमा हरेक अस्तित्वको पहिचान हुनु पर्छ तथापी पहिचान भएर मात्र पनि पुग्दैन, उचित मान्यताको व्यवस्था हुनु जरूरी हुन्छ | जस्तै, नारीलाई देवी, आमा आदि भनेर हामी सबैले चिनेकै छौं तर उचित सम्मान नहुदा महिला हिंसाको घटना कुनै नौलो होइन | आफ्नो पहिचानको विस्तार गर्ने तर अरूको पहिचान हनन् अनि भेदभाव गर्ने, यस प्रकारको एकात्मक केन्द्रिकृत निरंकुश सत्ताको प्रवृति आजको युगमा कहिँ अभ्यास हुन्छ भने त्यो विडम्बन, दुर्भाग्य र अत्यन्तै दुखद पक्ष ठहर छ | यस मानेमा निष्कर्ष के हो भने हरेकले पहिचानको सर्वाङ्गिन पाटोलाई बुझेर तर्कसम्मत हिसाबले यसको निर्माण, संरक्षण र न्यायिक सम्बोधन गर्न सके मात्र शान्ति, विकास र सम्बृद्धिको कल्पना गर्न सकिन्छ | मलाई के लाग्छ भने पहिचानलाई मानिसको प्राथमिक आवश्यकताको रूपमा स्वीकार्नु आजको समयको माग हो |

अस्तु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here