नारायण प्रसाद लुइटेलका कृतिबारे साहित्यिक परिचर्चा सम्पन्न

0
192

@अर्जुन प्रधान

भुटानी साहित्य, भाषा र सांस्कृतिक चिन्तनका अग्रज व्यक्तित्व नारायण प्रसाद लुइटेलको ११८औँ जन्मजयन्तीको अवसरमा विशेष साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। साहित्य परिषद् भुटान तथा नेपाली भाषा अध्ययन केन्द्र ओहायोको संयुक्त आयोजनामा उक्त कार्यक्रम फेब्रुअरी ८, २०२६ (आइतबार) बिहान ९ बजे भर्चुअल माध्यम मार्फत आयोजना गरिएको थियो ।

भूटानी साहित्यकार नारायण प्रसाद लुइटेलका साहित्यिक कृतिहरू, जीवनदृष्टि र सृजनात्मक योगदानमाथि केन्द्रित विशेष साहित्यिक परिचर्चा कार्यक्रममा साहित्य, भाषा र चेतनाको संरक्षणमार्फत नयाँ पुस्तालाई प्रेरित गर्ने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा लुइटेलको साहित्यिक यात्रामाथि गम्भीर र अर्थपूर्ण विमर्श गरिएको थियो।

उक्त जानकारी दिदै साहित्यकार विष्णु लुइटेलले नारायण प्रसाद लुइटेलको जीवन, व्यक्तित्व र लेखनसम्बन्धी विस्तृत परिचर्चा प्रस्तुत गर्दै उहाँका कृतिहरू नेपाली साहित्यका महत्वपूर्ण दस्तावेज भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अध्यक्ष सारधा धितालले प्रमुख अतिथि भने साहित्य परिषद् भूटानका अध्यक्ष गंगाराम लामिटारेले सभापतित्व गर्नु भएको थियो।

परिचर्चाका क्रममा साहित्यकार शिवलाल दाहालले नारायण प्रसाद लुइटेललाई धार्मिक, नैतिक र आध्यात्मिक चेतनाका अग्रज कविका रूपमा स्मरण गर्दै उहाँका कृतिहरूको ऐतिहासिक तथा सामाजिक महत्त्व औँल्याउनुभयो। दाहालका अनुसार लुइटेलका रचनाहरू केवल साहित्यिक अभिव्यक्ति मात्र नभई समाजलाई नैतिक मार्गदर्शन दिने चेतनात्मक दस्तावेज हुन्।

“लुइटेलका कृतिहरू परिवारजन तथा साहित्यिक संस्थाहरूले खोजी गरी संरक्षण र पुनःप्रकाशन गर्न आवश्यक छ,” दाहालले जोड दिनुभयो।

कार्यक्रममा सहभागी वक्ताहरूले नारायण प्रसाद लुइटेलका कृतिहरू भावी पुस्तासम्म पुर्‍याउन सामूहिक पहल अपरिहार्य रहेको धारणा व्यक्त गरे। उनीहरूका अनुसार साहित्यिक धरोहरको संरक्षणले मात्र भाषा, संस्कृति र पहिचानलाई जीवित राख्न सकिन्छ।

कार्यक्रममा महिला स्रष्टा र बालबालिकाको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी स्रष्टाहरूले कविता, गजल तथा अन्य साहित्यिक रचनाहरू वाचन गरेर सुनाएका थिए।

सृर्जन वाचन गर्दै स्रष्टाहरू

करिब तीन घण्टासम्म चलेको कार्यक्रममा स्थापित तथा नवोदित स्रष्टाहरूले आ–आफ्ना सिर्जनाहरू प्रस्तुत गर्दै साहित्यिक वातावरणलाई जीवन्त बनाएका थिए।

सभापति लामिटारेले मन्तव्यका क्रममा भन्नुभयो,

“महिला दिदीबहिनी तथा बालबालिकालाई साहित्यिक यात्रामा अघि बढाउने प्रेरणासहित हामी निरन्तर भाषिक अभ्यास र सिर्जनात्मक गतिविधिमा सक्रिय रहनेछौँ।”

परिवारजन आफ्नो सृर्जना सहित

आयोजकका अनुसार यो कार्यक्रमले नेपाली साहित्यमा योगदान पुर्‍याएका स्रष्टाहरूको कृतिमूल्याङ्कन, संरक्षण र पुनर्जीवनका विषयमा गम्भीर बहसको ढोका खोलेको छ।कार्यक्रम शान्ति अधिकारी, खेम रिजाल र गोमा अधिकारीले संयुक्त रूपमा सञ्चालन गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here