राहत कटौती हुने भए पछि शरणार्थीमा चिन्ता

तत्काल राहत कटौती नगर्न मानव अधिकारकर्मी तथा शरणार्थीको माग

0
1158

तत्काल राहत कटौती नगर्न मानव अधिकारकर्मी तथा शरणार्थीको माग
५ मंसिर २०७५/डिकेश लामा
झापा/ विगत २६ बर्ष देखि पाउँदै आएको राशन भूटानी शरणार्थीका लागि बन्द गरिने भए पछि शरणार्थी समूदायमा चिन्ताले सताउँन थालेको छ । आगामी डिसेम्बर महिना देखि समापन प्याकेज अन्तिम चरणमा वितरण गरी सहयोग बन्द गरिने घोषणा गरेसँगै शरणार्थीहरुमा के  खाने भन्ने चिन्ताले सताएको शरणार्थी अगुवाले बताएका छन् । आगमी डिसेम्बरदेखि अत्यन्त जोखिममा रहेका शरणार्थीलाई ६ महिना र अन्यलाई ३ महिना राहत स्वरुप दिँदै आएको रकम दिएर बन्द गरिने विश्व खाद्य कार्यक्रमले जनाएको छ ।

हाल आएर शरणार्थी शिविरमा रहेका करिव ८ हजार हाराहारीका दर्ता र दर्ता विहीन शरणार्थीहरुको समस्या सम्बन्धी बुधबार दमकमा मानव अधिकारकर्मी सहित सरोकारवाला पदाधिकारीबीच भएको गोष्ठीमा शरणार्थीहरुलाई दिँदै आएको राहत कटौती नगर्न आग्रह गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालका सदस्य सुदिप पाठकले बाँकी रहेका शरणार्थीको समस्या समाधानमा स्वदेश फर्कनेका लागि तत्काल नेपाल भूटानको वार्ता थाल्नु पर्ने, तेस्रो देश जानेलाई सो वाताबरण बनाउनु पर्ने र नेपालमा बसोबास गर्न इच्छुकलाई सरकारले ऐन बनाएर व्यवस्थापन गर्नु पर्ने जस्ता विकल्पहरु रहेको बताउनु भयो ।

कार्यक्रममा विश्वमा शरणार्थी संख्या हरेक २ सेकेण्डमा १ जना आफ्नो देशबाट विस्थापित भईरहेको वेला नेपालमा भूटानी शरणार्थीहरुको तेस्रो मुलुक पुनर्वास धेरै प्रभावकारी र नमूना भएको बताइएको छ । कार्यक्रममा सर्वोच्च अदालतका पूर्व रजिष्टार डा. रामकृष्ण तिमस्सिनाले नेपालमा शरणार्थी सम्बन्धी कानुनको अभावले शरणार्थी समस्या समाधानमा समस्या रहेको बताउनु भयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले दर्ता छुटको शरणार्थीका लागि सिफारिसको आधारमा शरणार्थीलाई परिचय पत्र दिने काम समेत भइरहेको बताउनु भयो ।
शरणार्थी बसोवास क्षेत्र पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिप राईले शरणार्थीको मुद्धा टुङ्गो नलागि कुनै पनि हालतमा राहत कटौती गर्न नहुने बताउनु भयो । राईले मृत्यु दण्ड दिने मानिसको समेत कतिखेर कहाँ र कसरी मारिने वा मर्ने भन्ने निश्चित हुने हुँदा राशन बन्द गरेर शरणार्थीको अनिश्चित ददर्नाक मृत्यु ननिम्त्याउन समेत आग्रह गर्नु भयो । कार्यक्रममा मानव अधिकारकर्मी डा. केपी सुवेदी, डा. नविन चापागाईं, राष्ट्रिय मानव अधिकार आयोजका सदस्य सहित स्थानीय स्तरका नेतृत्व, सामाजिक अगुवा, शरणार्थी समूदायका अगुवा, संचारकर्मी समेत सहभागिता र जिज्ञासा राखिएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगको सहयोगमा शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकायको आयोजनामा भएको कार्यक्रममा दमक शाखाका निमित्त प्रमुख क्याथरिन ह्यारिसले शरणार्थीको मुद्धामा सवैले सहयोग गरेर टुङ्गो लाउनु पर्नेमा जोड दिनु भयो ।
दमक नगर पालिका वडा नं. ३ का अध्यक्ष नविन बरालले शरणार्थीको समस्या समाधानमा यूएनएचसीआरले आफूसँग समन्वय गरेर अगाडि बढे आफूहरुले समेत सहयोग गर्ने बताउनु भयो । बरालले शरणार्थीहरुको समस्यामा स्थानीय स्तरबाट मात्रै नभई जिम्मेवार निकायले समेत चासो र समन्वय गर्नु पर्ने बताउनु भयो । पूर्व सचीव राजमान गुरुङ्गले शरणार्थी दातृ निकायले शुरुमा आफूहरुलाई राशन दिँदा एक जना शरणार्थी शिविरमा रहेसम्म सहयोग गर्ने प्रतिवद्धता जनाएकोले सो प्रतिवद्धता नतोड्न र शरणार्थीलाई दिने राहत नकाट्न अनुरोध गर्नु भयो । कार्यक्रमा पूर्व सचीव युवराज राई, सचीव चम्पासिंह राई, टिकाराम रसाईलीले शरणार्थीका मुद्धालाई अन्तिम रुप नदिएसम्म शरणार्थीहरुलाई विचल्नी नबनाउन आग्रह गर्नु भयो । कार्यक्रममा भूटानी शरणार्थी अपाङ्ग संघकी अध्यक्ष देवीमाया गुरुङ्गले अपाङ्ग शरणार्थीहरुको अवस्था अति कम्जोर भएकोले उनीहरुलाई राहत कटौती गरे ठूलो समस्या आउने बताउनु भयो ।
कार्यक्रममा भूटानी शरणार्थीहरुको स्वदेश फिर्ती अधिकारलाई समेत सम्मान गर्नु पर्ने पूर्व सचीव तथा स्वतन्त्र जन मञ्चका अगुवा धनविर सुव्बाले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here