कान्छाको जीवन कहानी

0
50

दक्षिण भूटानको चिराङ जिल्ला अन्तर्गत दागाना सुन्तलेब्लक डिभीजन पासेबुङमा जन्मिएर त्यही ठाउँमा बाल्यकाल अत्यन्त कष्टपूर्वक बितेको थियो। बुबा टेकनाथ र आमा दमन्ता रिजालका आठ सन्तानहरूमा छ जना छोरीहरू अनि दुईभाई छोरा मध्येको म कान्छो परेँछु। बुबा र छ जना दिदीबहिनीहरू आफू १ बर्षको नपुग्दै परधाम हुनुभएको हो भन्नेकुराले मलाई आजीवन टुहुरो मात्र बनाएन यसकुराले गहिरो शोकमा समेत डुबाएकोछ।एकपछि अर्को सन्तानको घटनाक्रम कहिले मातृशोक र कहिले पितृशोकका घटनाले शिशिर ऋतुमा उजाड देखिने सिङ्गरिङ्ग बोटहरूझैँ कान्छाको जीन्दगी यसरीनै रहस्यमयझैँ बन्दै आएको जीवन कहानीले सायद कसैको पत्थरकै मुटु भएपनि नपग्लिएला भन्न सकिन्न।दागानाको सल्लेरी गाउँमा भएको सानो झुपडीसरह ढुङ्गेघर अनि पाखाबारी र अलिकति धानखेतले परिवारलाई दुईछाक टार्नपनि निकै धौ धौ हुन्थ्यो! मंङ्सीरमा पाकेको धान खलाबाटै बिऊका लागी छुट्याउनु पर्थ्यो नत्र अर्को मङ्सीरमा रित्तो ढिकुटीहुने त्रासले बचेको धानका चामललाई मकै र कोदाको पिठोले सहयोग दिएर मात्र बिहान र बेलेलुकी चुलामा आगो बल्थ्यो।कहिलेकाहीँ त्योपनि अभावले भुटेकामकै वा सातु आमाले मोहीसँग छाकटार्न दिनुहुन्थ्यो,आखिर जसरीभएपनि जीवन धान्नु रहेछ,हातका मैला सुनकाथैला केगर्नु……………आनन्दीमनले भन्ने कुराको उदाहरण सम्झिँदा टुहुरो जीवनमा त्योपनि चित्तबुझाउन सकिएन।

त्यसपछि अर्को पाटो हेर्दाः-अथक परिश्रमबाटनै जीवन निर्बाह हुनसक्छ अनि जीवनले कोल्टे फेर्छ भन्नेकुरा आज आएर साबितपनि भएको छ।प्राथमिक शिक्षा भने आफ्नै गाऊँमा रहेको हरिहर संस्कृत पाठशालामा मिलेको थियो।संस्कृतका श्लोक पढ्ने र लेख्ने सामान्य ज्ञानको अनुभव लिएर ८ कक्षासम्मको उत्तीर्ण गरेपश्चात् देशान्तरको जीवन यापन गर्ने मनस्थिति बदलियो, त्यतिबेला म लगभग १५ बर्षको थिएँहोला सरकारको नितीनियम अनुसार अब त्यहाँको नागरिक परिचय पत्रपनि मैले प्राप्त गरेको थिएँ, त्यसपछि लगभग ८० को ताकातिर चिराङ जिल्लाबाट दागाना जिल्ला हुनपुग्यो भौगौलिकरूपमा त्यहीँ बसेपनि चिराङबाट दागाना परिणत भएको हो।प्राकृतिक सौन्दर्यमा बसेको आफ्नो सानो गाउँ ठाउँको रसिलोपनको अनुभूति भने साँच्चै अलौकिकनै थियो। भौतिक बिकासको दृष्टिले यातातका साधन नगुड्दा आफ्नो गाउँ दुर्गमनै पर्दथ्यो मंङ्सिर,पुषमा ढाकर र तोक्माले ढुवानी गरेको नुन-तेल सामल मसालाले बर्षदिनसम्म परिवार धान्नुपर्ने त्यो दुर्गम गाउँ-बस्तीमा सामान्य कुरा थिएन।जे होस् आफूभने सानैदेखि संस्कृत र नेपाली विषयमै छाप पर्दै गएकाले आफ्नो परिवारको न्यानो काख छोडेर भारतको बनारसतिर लागियो।यात्राको क्रममा पश्चिम बंगालको न्यू जल्पाईगुडी ( NJP) बाट रेलको टिकट गर्नलाई आफूले सापटी मागेको पैसाबाट मात्र पचास रूपियाँ बचेछ, अब उताको जीवन यापन कसरी बित्यो होला……???दुर्गम गाउँमा जन्मेर हुर्केको कान्छालाई गाउँमा बोलिने भाषा बाहेक अरूकुनै ज्ञान थिएन जसले गर्दा हिन्दीमा बोलेर ब्यवहार मिलाउन केहि महिना भने निकै चुनौतिपूर्ण बन्यो।विद्यार्थी जीवनको अभाव र अपूर्ण जीन्दगीबाट पूर्णता पाउने झीनो आशा बोकेर भारत( बनारसको) यात्रा पूरा नहुँदै यता भूटानको राजनितीमा आँधी तूफानझैँ बनेर आयो जस्ले गर्दा आफ्ना परिवारपनि त्यही भुँवरीमापरेर पूर्वी नेपालको माईधारका किनारा लागेको पीडादायी खबर भारतीय डाक सेवाबाट पठाईएको पत्र पढ्दा आफ्नोगाऊँ सपना झैँ लाग्न थाल्यो । जसो तसो बनारसको जीवनलाई त्यतीमै बीट मारेर नेपालमा भएका आफ्ना परिवार भेट्ने मनसायले शिविरमा आएपश्चात् आफ्नो विद्यार्थी जीवनको अध्ययन कार्यभने त्यतिमै पूर्णविराम लाग्यो।अभावै अभावको जीन्दगीमा कुनैपनि कुरालाई पूर्णतादिन भने सकिएन।अभावै अभावको शरणार्थी जीवनमा सङ्घर्षको पाठभने धेरै सिकियो।करीब डेढ दशक माथीको शरणार्थी जीवनको भोगाईमा धेरै उतार चढावका खुड्किलाहरू पारगर्दैकेहि दुःख र सुख भनेझैँ भारतको बसाईमा सिकेका केहि सीप र कला भने झुपडीकै जिन्दगीमा भएपनि बाँडेरै बसियो,जसलेगर्दा आज हाम्रा सन्ततीले केहि अघिबढ्ने अवसर भने पक्कैपनि पाएकै छन्|

यसैक्रममा अन्ततः-नेपालबाट पुनरावासहुने क्रममा सन्-२०१० मा अमेरिका आएपछिका दिनचर्याहरू परिवर्तन भएर अहिले पुरै नयाँ जीवनशैली चलिरहेकोछ । बोल्नलाई अंग्रेजीपनि उत्तिकै चल्छ, हातले छुँदा मात्रैपनि घरै झिलीमिलीहुने बत्ती बल्छ। मीठा परिकारहरूमा चौरासी ब्यञ्जन खाएनी पुग्दैछ,शरणार्थीको नामले के हुन्छ भन्नेको शीर झुक्दैछ।एकपल्ट ईतिहासलाई फर्केर हेर्दा सपनामापनि नसोचेका कुराहरू अनुभव हुँदैछन्। काहाँ दागापेलाबाट कालीखोला आउँदा खहरेको बाँदरेभिरमा ढाकरलाई तोक्माले थाम्दै हिँडेको कहाँ आज आएर New model का चिल्लाकार फराकिला बाटामा सररर ! हातका औँलाले छोएका भरमा चल्ने साधन ( कारहरू)मा हिँड्दा गाउँमा खाली खुट्टाले हिँडेको र दुईछाक टार्न र एक आङ लुगा इज्जत ढाकेर हिँड्न बाहेक अरूकुनै रोजाईनै थिएन।यहाँ अहिले खाना लाउनको केहि पर्वाहछैन पकाएको गार्बेजमा जान्छ, जतिबेला कोदाका पीठाको डल्ला बोडीकोदालमा मिसाएर च्वाप्प चोबेर खाँनु सिवाय अर्को रोजाईनै थिएन।यहाँ अहिले हिँड्दा लाउने काममा जाँदा, माईत ससुराल जाँदा, चाडपर्व एवं विवाह पार्टी आदि विभिन्न अवस्थामा लगाईने कपडा र फेसनदार जुत्ता चप्पलले घरका कोठा टनाटन छन् कुन् ? कहिले र कस्तो लाउने भन्ने होडबाजीपो छ त!हैन उसबेला भूटानको सिमाना कुलकुले,कालीखोला बजारबाट ट्यार्लिङको मुजापर्ने एउटा कमेज बल्ल तल्ल किनेपछि तीनओटा दशैं तिहारसम्म खरानीपानीमा पखालेर लाउने यिनै हात हुन्, त्यसैले ईतिहासका पानालाई पल्टाएर हेर्न भने मलाई कत्तिपनि अप्ठ्यारो लाग्याछैन,किनकी यथार्थबाटै जीवनका आरोह अवरोहमा भोगेका अनुभवले अथाह ज्ञानको भण्डार बनिन्छ भन्ने मैले बुझेकोछु ।खै के भनौं कान्छाको जीन्दगी कहाँबाट कहाँपुगेछ।“ढुङ्गाको गारो सिरूको छाना,जतिसदस्य भएनि पाक्थ्यो छाक्मा आधी माना” भनेझैँ अहिले आएर“तीनतले घर र चिल्लाकार,सम्झेरल्याउँदा हुनेहार” भनेजस्तै जीवन कहाँबाट कहाँपुगेछ म आफैँ अन्योलमा छु ! मेरो जीवनरूपी चक्र कहाँबाट कहाँ पुगेछ !किनकी घरैमा बसेर सामान किनिन्छ,घरैमा बसेर विश्वका मान्छे चिनिन्छ,घरैमा बसेर काम खोजिन्छ,घरैमा बसेर कम्पनि रोजिन्छ अनि औंला चलाएकै भरमा सामान मगाएर कोठा सजाईन्छ, बिश्व बजारका खाद्यान्न र उपकरणहरू केहि घण्टामै मगाइन्छ।सुन र चाँदीका गहनाहरू लाउन कुनै आपत्ती भएन जिन्दगीमा मैले नभोगेको कुरा अब केहीरहेन ! साँच्चै यो अभिशाप र वरदानले पछ्याएको जिन्दगीमा केके भएन भएन !!जदौ! 🙏

गंगा रिजाल, अमेरिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here