३० कात्तिक, काठमाण्डौ । नेपालमा बाँकी भुटानी शरणार्थीलाई स्वदेश फर्काउन नेपाल सरकारले गृहकार्य सुरु गरेको खुलेको छ । भुटानमा बनेको नवगठित सरकारसँग पहल गर्नेबारेको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा लगिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको यो प्रस्ताव मन्त्रीपरिषदले स्वीकार गरे बार्ताका लागि टोली समेत गठन हुनेछ । तेस्रो देश पुनर्स्थापनामा जान नमानेका भुटानी शरणार्थी स्वदेश फिर्तीको माग गर्दै नेपालमै आश्रय लिएर बसिरहेका छन । सरकारले गत भदौ दोस्रो साता भुटानका तत्कालिन चुनावी सरकार प्रमुखसँग शरणार्थी समस्याबारे वार्ताको प्रस्ताव राखेको थियो। बिम्स्टेक सम्मेलनमा सहभागी हुन काठमाण्डू आएका भुटानको चुनावी सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङ्चुकसँग यस्तो प्रस्ताव गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका थिए । त्यसबेला भुटानी सरकार प्रमुखले चुनावपछि बन्ने सरकारले वार्ताबारे निर्णय गर्ने जानकारी दिएको बताइएको थियो। नेपालमा रहेका भुटानी शरणार्थीहरूले करिब तीन दशकदेखि स्वेदश फर्कनु पर्ने माग राख्दै आएका छन । विश्व खाद्य कार्यक्रमले भुटानी शरणार्थीहरूलाई दिँदै आएको सहयोग आगामी जनवरीदेखि रोक्ने निर्णय गरिसकेको अवस्थामा सरकारले बाँकी रहेका भुटानी शरणार्थी भुटान नै फिर्ती गराउने पहिलो विकल्पबारे गृहकार्य गर्न लागेको हो । हाल नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चायुक्तको कार्यालय (युएनएचसीआर)का एसिया प्रशान्त क्षेत्रीय निर्देशक इन्द्रिका रत्वातेसँग शुक्रबार गृहमन्त्री रामबहादुर थापाले छलफल समेत गरेका छन् ।
सन् १९८० को दशकमा भुटानबाट लखेटिएपछि एक लाखभन्दा बढी शरणार्थी नेपाल आएका थिए। स्वदेश फिर्ता पठाउने पहल सफल नभएपछि अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोगमा एक लाख भन्दा बढी शरणार्थीलाई युरोप, अस्ट्रेलिया, अमेरिका लगायतमा पुनर्वास गराइएको छ। तर, स्वदेश फर्कन चाहने झण्डै १० हजार हाराहारीको शरणार्थीको समस्या भने जटिल बन्दै गएको देखिन्छ। उनिहरु हाल झापाको दमक र मोरङको पथरी शनिश्चरे शिविरमा बस्दै आएका छन ।